पोखरा,फागुन १० गते
पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्षस्थानमा कायमै रहेका छन।
पोखरास्थित पार-६९ को हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०-अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे। उनले सन २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन।
भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन। समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्तरुपमा दोस्रो स्थानमा छन। रबिले १-ओभर ७० र सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए।
समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे। उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे। प्रदीप कुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे। प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पुरा गरे।
यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दल बहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दल बहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे।
भुबहादुर गुरुङ, भुवन कुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापति, युवराज भुजेल, टंक बहादुर कार्की, सुर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीव बहादुर नेपाली, धन बहादुर थापा तथा एमेच्योर प्रज्वल गुरूङ सुरेश तामाङले कट बनाएका छन।
३६ होलको समाप्तीमा १४-ओभर १ सय ५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र ४ एमेच्योर खेलाडीले कट बनाएका छन। ५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ।
प्रकाशित मिति: February 22, 2024
 
                                             
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        