एसियाली खेलकुद: पुरुष भलिबलको हार

एसियाली खेलकुद: पुरुष भलिबलको हार
0Shares

काठमाडौं । १९औं एसियाली खेलकुदको नेपालको पहिलो खेलमा पुरुष भलिवल टोली पहिलो खेलमा हारेको छ।

२९ खेलमा २५३ खेलाडी सहभागी गराएको नेपालले पुरुष भलिबलमा मंगलबार बहराइनसँग खेल्दै चीनको हानझाउमा जारी एसियाली खेलकुदको सुरुआत गरेको थियो ।

बहराइनविरुद्धको पुरुष भलिबलमा ३–१ ले नतिजा सुम्पियो । पहिलो सेटमा जित हासिल गरे पनि त्यसपछि लगातार तीन सेट गुमाएपछि नेपाल सुखद सुरुआतबाट बञ्चित भयो ।

हानझाउको सिएक्ससी जिम्न्याजियममा भएको पुरुष भलिबलअन्तर्गत समूह ‘बी’ को खेलको पहिलो सेटमा सनसनीपूर्ण जितका साथ सुरुआत गरे पनि नेपालले त्यसलाई निरन्तरता दिन सकेन । २३ मिनेट चलेको पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेर नेपालले प्रतियोगितामा अगाडि बढ्ने संकेत गरेको थियो ।

तर, दोस्रो सेटमा नेपाल त्यही नतिजामा पराजित भयो । ठ्याक्कै २३ मिनेट चलेको दोस्रो सेटमा नेपाल २०–२५ कै नतिजामा निराश भयो ।

तेस्रो सेटमा नेपालको प्रदर्शन झनै कमजोर रहयो । २५ मिनेट चलेको सेटमा बहराइनले २५–१८ को नतिजामा बाजी मार्यो ।

चौथो सेटमा पनि नेपालको भाग्य फेरिएन । उत्कृष्ट पुनरागमन जनाउने क्रममा लगातार तेस्रो सेट जित्दा बहराइनले चौथो सेटमा २१ मिनेट मेहनत गर्दै २५–१५ को नतिजा निकाल्यो ।

समूहको दोस्रो तथा अन्तिम खेलमा नेपालले बुधबार एसियाली महारथी इरानको सामना गर्नेछ ।

पुरुष भलिबलका खेलहरु सेप्टेम्बर १९ देखि २६ सम्म हुनेछ । समूहको शीर्ष दुईमा रहने सके नेपालले नकआउट चरणको यात्रा तय गर्नेछ । यदी समूह चरणबाट बाहिरिए नेपालले अन्य खेल खेल्न पाउने छैन ।

यस पटक पुरुष भलिबलमा समूह चरणबाट बाहिरिने टोलीले वरियताका लागि थप खेल खेल्न पाउने छैनन् ।

 

प्रकाशित मिति: September 20, 2023

कमेन्ट गर्नुहोस्

advertisment