पलेसा र कविराज तेक्वान्दोका उत्कृष्ट

पलेसा र कविराज तेक्वान्दोका उत्कृष्ट
0Shares

काठमाडौं, बैशाख ८ गते
छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लागेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघले आठौं वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको  हो । शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका थिए ।
चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन् ।
यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री बेस्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित  भए । उनलाई नगद १५ हजार रुपैयाँबाट सम्मानित गरिएको थियो । यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट क्रमशः चितवन र बागमती प्रदेशलाई नगद २५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।
यसैगरी एनटीए सोसल अवार्ड बन्दी सहायता नेपालकी अध्यक्ष प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो ।

प्रकाशित मिति: April 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment