‍ एसीसी प्रिमिअर कप : नेपालमाथि युएईको बदला

नेपाल एसिया कपमा छनोट हुन असफल

‍  एसीसी प्रिमिअर कप : नेपालमाथि युएईको बदला
0Shares

काठमाडौं, बैशाख ७ गते

नेपाल-युएई विच क्रिकेट प्रतिद्धन्दिताको भिडन्तमा यसपाली बाजी मार्ने पालो युएईको रह्यो।

नेपाली ब्याटरहरुले अन्यन्त निराशाजनक ब्याटिङ गरेको दिन युएईले ओमानमा सञ्चालन भइरहेको एसीसी प्रिमियर कपको सेमिफाइनलमा ६ विकेटको सहज विजय प्राप्त गर्यो।

लिग चरणको चारवटै खेल जितेर प्रतियोगितामा रौब जमाइरहेको नेपालले त्यस्तो दिन खराब प्रदर्शन गर्यो, जसको सजाय स्वरुप टोली अर्को वर्ष हुने २० ओभरको एसिया कप क्रिकेटमा छनोट हुनुबाट वञ्चित भएको छ।

टस हारेर पहिले ब्याटिङ पाएको नेपालले पूरा २० ओभर खेलेर ११९ रनको सामान्य स्कोरमा समेटिएको थियो।

जवाफमा युएईले १७.२ ओभरमा ४ खेलाडी गुमाउँदै सहजै पूरा गर्यो।

युएई प्रतियोगिताको फाइनलमा पुगेको छ। अव उसले ओमानसंग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

फाइनल विजेता एसिया कपमा पुग्नेछ।

बदला

एसोसियट क्रिकेटमा नेपाल र युएई विचको द्धन्द गजबकै हुंदै आएको छ।

दुई वर्ष अगाडि ओमानको यहि अल अमेरत मैदानमा भएको टी २० विश्वकप छनोटको सेमिफाइनलमा युएईले नेपाललाई पराजित गर्दै विश्वकपमा छानिएको थियो।

त्यसको बदला स्वरुप पाँच महिना अगाडी काठमान्डूको मूलपानी क्रिकेट मैदानमा नेपालले सेमिफाइनल भीडन्तमै युएईलाई हराएर टी २० विश्वकपमा छानिएको थियो।

एसीसी प्रिमिअर कपको गत वर्षको संस्करण घरेलु मैदानमा खेल्दै नेपालले युएईलाई फाइनलमा स्तव्ध पारेको थियो।

त्यसको बदला आजको सेमिफाइनलमा युएईले लिन सफल भयो।

नेपाली क्रिकेट टोलीलाई घरेलु मैदान फाप्दा युएईको लागि भने ओमानको मैदान राम्रो देखिएको छ।

भुर्तेलको विकेटसंगै दवाव

कुशल भुर्तेल पहिलो बलमा ‘गोल्डेन डक आउट’ भएसंगै नेपाली टोलीको दवाव शुरु भएको थियो।

निकै महत्वपूर्ण खेलमा पहिलो बलमा नै आउट भएसंगै उनको नाममा नमिठो कीर्तिमान नै बन्यो। उनी १२ पटक पहिलो बलमा आउट भइसकेका छन्।

भुर्तेल पछि आशिफ शेख चौथो ओभरमा ८ रन बनाएर तथा कप्तान रोहित पौडेलले १८ बलमा ५ रन बनाएर आउट भएपछि नेपाल सातौं ओभरमा ३८/३ को खराव स्थितिमा पुगेको थियो।

सन्दीप जोराले एउटा इन्डबाट धैर्यपूर्ण ब्याटिङ गर्दै ४० बलमा ५० रनको अर्धशतक बनाए।

तर उनलाई कसैले पनि दरिलो साथ दिन सकेनन्।

आक्रामक कुशल मल्ल ३ रन तथा भरपर्दा भनिएका दीपेन्द्र सिंह ऐरी पनि ५ रन बनाएर खेलेपछि युएई खेलमा पूर्णत हावी भएको देखिएको थियो।

यस्तोमा तल्लो क्रमका गुलशन झाले २० रन र करण केसीले १७ रन बनाएपछि टोलीको स्कोर १०० नाघेको थियो।

जवाफमा आएको युएईले खेल जित्न कुनै दवावको सामना गर्न परेन।

प्रारम्भिक ब्याटर अलिशान सर्फुले अविजित रहेर ५१ रन बनाउँदै टोलीलाई जिताए।

नेपाली बलरहरुले कप्तान मोहम्मद वसिम (११ रन), विष्णु सुकुमारन( २८ रन), असिफ खान (१० रन), शैयद हैदर (१४ रन) लाई आउट गरेपनि त्यतिबेला सम्म ढिलो भइसकेको थियो।

गुलशन झाले २ तथा सोमपाल कामी र ललित नारायण राजवंशीले १/१ विकेट लिएका थिए।

नेपालले अब भोली शनिवार तेस्रो स्थानका लागि हङकङ संग खेल्नेछ।

एसिया कप गुमाइसकेको नेपालले यदि तेस्रो स्थानको खेल जित्न सके एसीसी इमर्जिङ कप क्रिकेटमा छनोट हुनेछ।

प्रकाशित मिति: April 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment