अन्जन विष्ट पेनाल्टीमा चुक्दा

अन्जन विष्ट पेनाल्टीमा चुक्दा
0Shares

काठमाडौं ।

राष्ट्रिय टोलीका प्रमुख खेलाडी अन्जन विष्टले पेनाल्टीमा गोल गर्ने अवसर चुकाउँदा नेपाल र  म्यानमारबीचको पहिलो फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।

शुक्रबार म्यानमारको घरेलु मैदान थुउन्ना रंगशालामा अन्जनले खेलको दोस्रो हाफमा पेनाल्टी अवसर गुमाएका थिए ।  उनको प्रहारलाई म्यानमारका गोलकपिर क्यान सजिन फियोले बचाएका थिए ।

५८औं मिनेटमा अन्जनकै प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

पेनाल्टीमा चुकेसँगै अन्जनले नेपालका लागि सर्वाधिक १३ गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गर्ने अवसर पनि गुमाए ।  नेपालबाट यो हरि खड्का र निराजन रायमाझीको नाममा छ । दुवैले १३ गोल गरेका छन् । अन्जनले १२ गोल गरेका छन्।


म्यानमारविरुद्ध दुई नेपाली खेलाडीले अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् । जिलेस्पी जंग कार्कीले पहिलो रोजाइमै मौका पाउँदा अर्का फरवार्ड हिसुब थपलिया दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । ८४ औं मिनेटमा हिसुबले अन्जन विष्टलाई प्रतिस्थापन गरेका थिए ।

जिलेस्पी विभागीय टोली त्रिभुवन आर्मीबाट व्यवासायिक फुटबल खेल्छन् भने हिसुबले जावलाखेलको प्रतिनिधित्व गर्छन् ।

अर्को महिना हुने लाओसविरुद्धको विश्वकप तथा एसिया कप छनोटको तयारीका लागि नेपाल दुईवटा मैत्रीपूर्ण खेल खेल्न म्यानमार पुगेको हो । दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

प्रकाशित मिति: September 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment