एउटा कप्तानको गुमनाम बिदाइ

रग्बी कप्तान कृष्ण थापाले एसियाड अगाडि लिए सन्न्यास

एउटा कप्तानको गुमनाम बिदाइ
0Shares

१९ औँ एसियाली खेलकुदका लागि रग्बी राष्ट्रिय टोलीको अन्तिम छनोट गत हप्ता दशरथ रङ्गशालामा हुँदै थियो। टोलीका कप्तान कृष्ण थापा क्षेत्री पनि मैदान पुगे, जर्सी लगाए र सहकर्मीहरूसँग भिडे।

यद्यपि उनको उद्देश्य न राम्रो प्रदर्शन गरेर प्रशिक्षकको मन जित्नु थिएन, न एसियाली खेलकुदमा छानिनु नै ।

क्षेत्री त त्यहाँ आफ्नो खेलाडी जीवनको अन्तिम खेल खेलिरहेका थिए। आफ्नै बिदाइलाई आफै स्मरणीय बनाउँदै थिए।

छनोट खेल सकिए लगत्तै उनले अप्रत्याशित घोषणा गरे – “यो मेरो खेलाडी जीवनको अन्तिम खेल हो।”

खेलाडी जीवन टुङ्ग्याउनु पर्दा भावुक थापाले भने – ” ९ वर्ष अगाडि यही रङ्गशालाबाट खेलाडी जीवन थालेको थिएँ, आज यहीँ खेलेर टुङ्ग्याए।”

उनको यो निर्णयले सहकर्मी साथीहरू छक्क परे। कतिपय खेलाडीहरूले निको मानेनन्। पदाधिकारी पनि गम्भीर बने।

एउटा यस्तो कप्तान, जसले नेपाली रग्बीको एउटा युग हाँके। आधुनिक रग्बीलाई हुर्काए। अभाव, सङ्घर्षबाट होस्टे गर्दै नेपाली रग्बीलाई बढाए। र एउटा उचाइमा पुगेपछि विश्राम लिने निर्णय लिए।

गुमनाम बिदाइ

विश्वमा थोरै खेलाडीहरू मात्र भाग्यमानी छन् जसको बिदाइ भव्य हुने गर्छ।

त्यसै पनि रग्बी नेपालको चर्चित खेल हुन सकेको छैन। त्यसमा कप्तान क्षेत्री न त फुटबल, क्रिकेटका जस्तै चर्चित खेलाडी थिए। न उनका हजारौँ समर्थक थिए, न व्यावसायिक रूपमा मोटो कमाई नै।

न त क्षेत्रीले कुनै ठुलो अन्तर्राष्ट्रिय पदक नै जितेका छन्।

यद्यपि उनले रग्बीको लागि धेरै गरेका छन्। नेपालमा रग्बीलाई सामान्य स्तरबाट अन्तर्राष्ट्रिय रग्बीको पूर्ण सदस्यता दिलाउने यात्रामा क्षेत्रीको योगदान महत्त्वपूर्ण छ।

उनले जे गरे त्यो रग्बी परिवार भित्र मात्रै इतिहास बन्यो। त्यसैले होला, एक कप्तानको खेल जीवनको बिदाइ गुमनाम तरिकाले हुन पुग्यो।

बस् यति हो – रङ्गशालामा उपस्थित खेलाडीहरूले उनलाई धेरै बेरसम्म काँधमा उचाली रहे।

रग्बी प्रवेश  

थापा राष्ट्रिय बक्सिङ खेलाडी चेत बहादुर क्षेत्रीका छोरा हुन्। उनका काका पनि बक्सिङ खेलाडी।

बीरगंजमा भएको दोस्रो राष्ट्रिय खेलकुदको फाइनलमा रजत पदक जितेपछि क्षेत्रीको खेल कौशल देखेपछि उनलाई सिधै भारतीय सेनामा जागिर दिइएको थियो । त्यहीँ कृष्ण जन्मिएका हुन्।

कृष्णले पनि पारिवारिक पदचाप पछ्याएका हुन्। सुरुमा फुटबल, क्रिकेट र बास्केटबल खेल्ने क्षेत्रीलाई मीन भवन क्याम्पसमा पढ्दै गर्दा कलेजका नेता पवन कार्कीले रग्बी खेल्न सुझाएछन्।

बुझ्न क्षेत्री दशरथ रङ्गशाला पुगे। चेप्टो बल, फनन्न घुमाएर बल फाल्नुपर्ने – नयाँ खेलले उनलाई आकर्षित गर्‍यो।

तर खेल सहज थिएन। मैदान, खेल सामग्री, प्रशिक्षक, खेलाडी, न अन्तर्राष्ट्रिय एक्सपोज, न त कमाई नै।

जो कोही झट्ट रग्बीमा भिज्ने वातावरण थिएन। तर क्षेत्रीले यही खेलमा जम्ने निर्णय गरे। किन ? भन्छन् – ” अरू स्थापित खेल त छंदैछ नी। नयाँ खेलमा चुनौती थियो। बाटो खन्दै हिँड्नमा पो त मज्जा छ नी। ”

रफ्तार  

क्षेत्री रग्बीमा तुरुन्तै भिजे। ‘प्ले मेकर’ को पोजिशनमा अब्बल खेलाडी बने।

उनको स्वभाव यस्तै थियो की मात्र खेलाडी भएर अड्न चाहेनन्। अनि रग्बीका हरेक विषयसंग गाँसिँदै उनी रग्बी विकासमा लाग्न थाले।

नेपाल रग्बी संघले खेलाडी उत्पादन गर्ने ग्रास रुट कार्यक्रमलाई देशभर फैलाइ रहँदा क्षेत्री त्यहाँ  प्रशिक्षक बने। उनले आर्मी स्कुल सम्हाले। सो स्कुल युवाहरूको च्याम्पियन नै बन्यो।

सिनियर खेलाडीहरूको अभाव थियो। भएकाहरू रग्बी छोड्दै जान्थे। खेलाडी जोगाउन क्षेत्रीले साथीहरूसँग मिलेर सन् २०१६ मा गोर्खाली रग्बी क्लब स्थापना गरे। अहिले यो रग्बीको नम्बर एक क्लब बनेको छ।

समय अनुसार उनले हरेक खाले भूमिका निभाए। युवा खेलाडीका प्रशिक्षक, आफ्नो क्लबका पनि खेलाडी/ प्रशिक्षक, रेफ्री र मेन्टर पनि।

उनी सम्झिन्छन् – ”  दिनभरि रेफ्री गर्दा छाला उप्किएर जान्थ्यो। ”

नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे भन्छन् – ” खेल्ने मात्र होइन, क्षेत्री रग्बीका अन्तर्राष्ट्रिय नियमहरू, गतिविधि बुझिरहन्थे, रग्बीमा के भइरहेको छ चासो दिन्थे, नयाँ आइडियाहरू बाँडिरहन्थे, खेलाडीहरूको हौसला वढाइरहन्थे। रग्बी प्रतिको उनको लगाव अरू भन्दा भिन्न थियो।”

राष्ट्रिय टोलीबाट उनले अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित खेले। भारतमा आयोजित प्रि-ओलिम्पिक छनोट, सिंगापुर र कतारमा एसियाली रग्बी सेभेन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गरे। यु-१५ टोलीको प्रशिक्षक बन्दै जापान पुगे।

 

सङ्घर्ष

रग्बीको दशक यात्राको क्रममा गरेका सङ्घर्षका उनीसँग थुप्रै कथाहरू छन्। चेन्नई जाँदा रेलमा ट्वाइलेट अगाडी सुत्न परेको क्षण वा फाइभ स्टार होटेलमा रात बिताउँदाको आनन्द। रग्बीमा बिताएका क्षणहरूलाई उनी ‘आजीवनको सँगालो’ भन्न रुचाउँछन्।

सबैभन्दा गाहो चाहिँ आर्थिक आम्दानी गर्न नसक्दाको पीडा नै रहेछ। रग्बीले थाहै नपाई अभ्यस्त त बनाइरहन्थ्यो। तर पैसा नहुँदा साथीहरू एकपछि अर्को गर्दै खेल छोड्दा उनी दुखी हुन्थे। उनी पनि दुई पटक विदेश हान्ने सोचमा पुगिसकेका थिए। एक पटक त मकाउ पुगिनै सकेको। अर्को पटक लन्डन।

“तर हरेक पटक रग्बी मोह बिचमा आइदिन्थ्यो” –  क्षेत्री भन्छन्।

फड्को

उनको कप्तानीमा गत वर्ष बाँग्लादेशमा खेलेको रग्बी-१५ ले त ठुलो फड्को मार्यो।

७ खेलाडी सम्मिलित रग्बी सेभेन्स मात्र खेलिरहेको नेपालले ढाकामा ‘वङ्गबन्धु बाँग्लादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी शृङ्खला’ खेल्यो,  जुन १५ जना खेलाडीहरूले खेल्ने ‘रग्बी १५’ मा नेपालको पहिलो सहभागिता थियो।

उक्त प्रतियोगिता खेलेसँगै नेपालले विश्व रग्बी महासङ्घबाट पूर्ण सदस्यता प्राप्त गर्‍यो। र, नेपालले अन्तर्राष्ट्रिय रग्बीमा डिभिजन ३ खेल्ने राष्ट्रको रूपमा प्रवेश पायो।

आफ्नै आँखा अगाडि रग्बीले रफ्तार लिएको र आफू त्यसको एक जना पात्र बन्न पाउँदा थापा गर्व महसुस गर्छन्।

उनी भन्छन्  – ” सिंगापुरमा खेल्नु अगाडी नेपाल ठुलो स्कोरले हार्दै आएको थियो। १ स्कोर गर्न सकेको थिएन। सिंगापुरबाट हामीले पहिलो पटक स्कोर गर्न सिक्यौँ। ढाकामा पुग्दा हामीले कम स्कोर खाने मात्र होइन, विपक्षी माथि हाबी हुन पनि जान्यौँ र नेपालमा आएर जित्न सिक्यौँ।”

पूर्ण सदस्यता पाएपछि नेपाल रग्बीले पाउने अन्तर्राष्ट्रिय सहयोग बढ्यो। डिभिजन ३ को रूपमा प्रतियोगिता थपियो। अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना पनि पायो।

नेपालमा पाएको त्यो जित

गत वर्ष नेपालमा एसिया रग्बी यु-१८ को आयोजना भयो। नेपालले अन्तर्राष्ट्रिय रग्बी आयोजना गरेको त्यो पहिलो प्रतियोगिता थियो र त्यसमा नेपालका प्रशिक्षक थिए उनै क्षेत्री।

प्रतियोगितामा नेपालले भारत र बाँग्लादेशलाई पराजित गर्‍यो। यो नै नेपालले कुनै पनि स्तरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पाएको पहिलो जित थियो।

प्रतियोगितामा नेपाल दक्षिण एसियाली राष्ट्र माझ उत्कृष्ट बन्यो।

“नेपालको पहिलो अन्तर्राष्ट्रिय जित त्यो पनि भारत विरुद्ध” मेरो एउटा लक्ष्य यहाँ पूरा भयो – थापा भन्छन्।

सन्न्यास लिनु अघि

राष्ट्रिय टोलीमा झन्डै एक दशक बिताएका क्षेत्री सन्न्यास लिने मनस्थिति थिए। तर उचित समयको पर्खाइमा थिए।

सन्न्यास लिनु अगाडि उनले थप तीन वटा उपलब्धि हात पारे। दोस्रो बाग्मती प्रदेश खेलकुदमा भक्तपुरको प्रशिक्षक बन्दै टोलीलाई च्याम्पियन बनाए। आफ्नो गोर्खाली रग्बी क्लब र कर्णाली रग्बी संघ बिच सहकार्य गरेर कर्णालीलाई यु-२० रग्बी सेभेन्सको च्याम्पियन बनाए।

अनि भक्तपुरमा आयोजित राष्ट्रिय रग्बी सेभेन्समा कर्णाली प्रदेशलाई स्वर्ण दिलाए।

एसियाली खेलकुद खेलेर बिदाइ लिने मौका उनीसँग थियो। तर उनले त्यो लोभ गरेनन्।

३१ वर्षीय गुल्मीका क्षेत्रीले रग्बीमा केही नयाँ गर्ने योजना बुनिसकेका थिए।

 

अबको लक्ष्य

सन्न्यास लिए लगत्तै क्षेत्री न्युजिल्यान्ड पुगेका छन्। तर अन्य थुप्रै खेलका खेलाडी जसरी पलायन हुन भने होइन।

न्युजिल्यान्ड रग्बी एकेडेमीमा ‘एडभान्स कोचिङ कोर्स’ गर्ने अवसर पाएपछि एउटा राम्रो प्रशिक्षक बन्ने उद्देश्यले क्षेत्री त्यहाँ पुगेका हुन्।

न्युजिल्यान्ड जानुको कारण बारे उनी भन्छन् – ”  न्युजिल्यान्ड रग्बीको चर्चित राष्ट्र हो। विश्वास छ त्यहाँ उच्च स्तरका प्रशिक्षकहरुसंग बस्दा रग्बी बारे धेरै कुरा सिक्नेछु।”

क्षेत्रीले रग्बीको एउटा अध्याय सफलता पूर्वक पार गरे। अब उनको अर्को अध्याय कसरी सुरु हुन्छ त्यो भने न्युजिल्यान्डको बसाई पछि थाहा हुनेछ।

तर एउटा कुरा भने तय छ- क्षेत्री नेपाली रग्बीको कुनै महत्वपूर्ण भूमिकामा एकदिन देखिनेछ नै।

(राजवंशी बीबीसीका खेल पत्रकार हुन् )

प्रकाशित मिति: July 23, 2023

कमेन्ट गर्नुहोस्

advertisment