महिला आत्मरक्षाका लागि मार्सल आर्टस्

महिला आत्मरक्षाका लागि मार्सल आर्टस्
0Shares

कुनै पनि हतियारको प्रयोगबिना आफ्नो रक्षाका लागि गरिने प्रतिवाद–कला र ज्ञान नै व्यक्तिगत प्रतिरक्षा हो भनेर बुझिन्छ। चाहे मानिस होस् या अन्य कुनै प्राणी, सबैले आफ्नाविरुद्ध प्रहार हुँदा वा प्रहारको प्रयास हुँदा आफूमा भएको सम्पूर्ण शक्ति, कला र विवेकको प्रयोग गरी आफूलाई शारीरिक रूपमा क्षति हुनबाट जोगाउन हरसम्भव प्रयास गर्छ।

मानव जातिमा हामी महिला तथा पुरुष जैविक रूपमा दुई फरक शारीरिक बनावट लिई जन्म लिन्छौं। चाहे शारीरिक बनावटका कारण होस् वा परापूर्वकालबाट नै महिलालाई हेर्ने दृष्टिकोण शारीरिक रूपमा दुर्बल र कमजोर आत्मबलयुक्त चित्रण गरिँदै आइयो र त्यो सोचाइले अझै पनि मन मस्तिष्कमा जरा गाडेको छ भन्दा फरक नपर्ला।

त्यही कमजोर मानसिकता र शारीरिक रूपमा दुर्बल छन् भन्ने प्रवृत्तिका कारण वर्तमान अवस्थामा समेत महिलाहरूमाथि विभिन्न प्रकारका हिंसाका घटना दिन प्रतिदिन घट्ने गरेका छन्। त्यसप्रकारका शारीरिक हिंसाविरुद्ध लड्ने र प्रतिरक्षा गर्न नसक्ने कारण नै महिलाहरू हिंसाको सिकार हुन्छन्।

जन्मदै कोही पूर्ण सक्षम र सर्वगुण सम्पन्न भई जन्मदैन। हरेक कुरा उमेर र जीवनका भोगाइबाट सिक्दै जाने हो। कतिपय ज्ञान आफ्नो मेहनत र त्यसप्रतिको लगाबबाट आर्जन गर्न सकिन्छ।

सदैव दबिएर रहने वा हेपाइ सहेर बस्नुपर्ने बाध्यताका महिलामा व्यक्तिगत आत्मबलसमेत कमजोर नै रहन्छ र उनीहरू कुनै गलत कुराको प्रतिवाद गर्नसमेत डराउँछन्। मार्सल आर्टस् एउटा यस्तो कला हो, जसबाट हामी आफ्नो आत्मरक्षा–सिप आर्जन गर्न सक्छौं। यसबाट निडर भावसमेत पैदा हुन्छ। निडरपन, साहस एवम् आँटको विकाससँगै आत्मबलसमेत दरिलो हुँदै जान्छ।

मार्सल आर्टस् भित्र पनि धेरै क्षेत्र छन्, जुन हामीले आफ्नो लगाव र गतिका आधारमा सिक्न र छान्न सक्छौं। नेपालमा सिकाइने मार्सल आर्टस् विधाहरूमा कराते, तेक्वान्दो, बक्सिङ, उसु, जुडोलगायत मुख्य खेल छन्। यसको सिकाइ भने त्यति सहज छैन।

निरन्तरको कडा मेहनत र उच्च चाख अपरिहार्य हुन्। महत्त्वपूर्ण कुरा व्यक्तिगत प्रतिरक्षा र शारीरिक तन्दुरुस्तीका लागि सिकेको कला पछि गएर स्वयम् व्यक्तिको परिचय र राष्ट्रलाई खेलबाट अन्तर्राष्ट्रिय जगत्मा चिनाउने आधारसमेत बन्न सक्छ र सारा राष्ट्रले गर्व गर्ने आधारसमेत बन्छ।

हो, कतिपय अवस्थामा अपराधीको निर्ममतासामु जति नै प्रतिरोध गर्दा पनि कमजोर साबित हुन पुगिन्छ र पीडित बन्न सक्ने अवस्था रहला। तथापि मार्सल आर्टस्मा पोख्त महिला हिंसाको सिकार सहजै हुन नपर्ने वा स्वयम् प्रतिवाद गर्न सक्ने क्षमतावान् हुन्छन्भन्दा धेरै हदसम्म फरक नपर्ला।

देखिने रूपमा भौतिक चोट मात्र नभएर सार्वजनिक स्थानहरूमा हुने दुर्व्यवहार, महिलाहरूप्रतिको हेपाहा प्रवृत्ति लगायत अपराध र कुरीतिविरुद्ध अब महिला स्वयम् नै सक्षम र सबल भई त्यसको प्रतिवाद गर्नु नै आजको अपरिहार्यता हो।

नेपालको वर्तमान संविधानले समेत महिला सशक्तीकरण र सम्मानजनक सहभागिताका लागि पर्याप्त व्यवस्था गरिसकेको छ। लैंगिक आधारमा हुने भेदभाव र कुनै पनि महिला विरुद्धका हिंसाहरू कानुनद्वारा वर्जित र दण्डनीय समेत छ। तथापि पटक पटक महिलामाथि हुने शारीरिक घटनाको सिकार हुन नदिन महिलाहरूमा मार्सल आटर्स सिकाइको आवश्यकता अपरिहार्य भएको छ।

वर्षमा एकपटक महिला हिंसा विरुद्धको कार्यक्रम र दिवस मनाएर मात्र अपेक्षित नतिजा हासिल नहोला। यसका लागि दीर्घकालीन योजना बनाएर अघि बढ्नु जरुरी छ।

महिलालाई शारीरिक रूपमा सशक्त र प्रतिरक्षात्मक एवम् क्षमतावान् बनाउने हो भने मार्सल आर्टस्को सिकाइलाई राज्यबाट नै सहज रूपमा उपलब्ध गराउनुपर्छ। जस्तो कि नेपालमा घटनाहरूको प्रकृति हेर्दा किशोरीहरू हिंसाको सिकार भएका घटना बढी छन्। त्यसकारण हामीले विद्यालय र क्याम्पसस्तरका किशोरीहरू लक्षित मार्सल आर्टस् सिकाइको व्यवस्था गर्न सक्यौं भने उपलब्धी परिणाममुखी हुन सक्छ। यसका लागि धेरै ठुलो बजेट र समयको व्यवस्थापनसमेत आवश्यक नपर्ला।

काठमाडौं महानगरले जसरी हप्तामा एक दिन विद्यालयमा पुस्तकरहित कार्यक्रम लागु गर्दै विद्यार्थीका अतिरिक्त सिकाइलाई महत्त्व दिएको छ। त्यसैगरी सोही दिनमा एक घण्टा मात्र समय मार्सल आर्टस्लाई छुट्याउनाले लक्षित वर्गमा आत्मरक्षात्मक क्षमता हासिल हुन सक्छ। यसलाई देशैभर अनिवार्य शैक्षिक पाठ्यक्रममा राखी लागु गर्न सकिन्छ।

मुख्य कुरो सिकाइको उपलब्धता सबै सामुदायिक विद्यालयमा र देशैभर शैक्षिक कार्यक्रमका रूपमा लागु गर्न सके ठुलो समूह यसबाट लाभान्वित हुन्छ। जसबाट मार्सल आर्टस्–कला निपुण आत्मरक्षा गर्न सक्षम छात्राहरू उत्पादन भई कालान्तरमा महिला हिंसाका घटनामा केही मात्रामा भए पनि कमी आउन सक्ने अपेक्षा गर्न सकिन्छ।

यदि कोही किशोरी मार्सल आर्टस्को कुनै विधामा निपुण छिन् भने उनलाई सितिमिति कसैले दुर्व्यवहार गरिहाल्न आँट गर्दैन। जो कमजोर रूपमा आफूलाई प्रस्तुत गर्छ, जो निर्धाे देखिन्छ, ऊ नै समाज, विद्यालय, क्याम्पस, कार्यक्षेत्रमा दुव्र्यवहार एवम् हिंसात्मक क्रियाकलापको सिकार हुन पुग्छ। हाम्रो वरिपरिको परिदृश्य र घटनाक्रम हेर्दा यस्तै देखिन्छ।

यस सम्बन्धमा मेरा आफ्नै भोगाइ पनि छन्। म आफू सानैबाट कराते खेलाडी, मेरो विद्यालयमा मलाई विपरीत लिंगीय साथीहरूले गर्ने व्यवहार अरूसँगभन्दा फरक नै हुन्थ्यो। सितिमिति उनीहरू मसँग जिस्किहाल्न, होच्याउन आँट गर्दैनथे।

बरु ‘ऊ त कराते खेलाडी पो हो’ भन्दै अनुशासित एवं सभ्य रूपमा प्रस्तुत हुन्थे। मभित्रसमेत एउटा दरिलो आत्मविश्वास थियो कि म आफूविरुद्ध हुने जुनसुकै आक्रमण विरुद्ध प्रतिरक्षामा उत्रन सक्छु। जे जति सक्छु, लड्ने छु तर सहजै हार मान्ने छैन।

त्यसकारण यसलाई सुरुमा आत्मरक्षाको माध्ययमका रूपमा सिकाइलाई अघि बढाए तापनि यसबाट प्राप्त हुने शारीरिक तथा मानसिक स्वास्थ्य, दरिलो आत्मबल, व्यावसायिक खेलाडीका रूपमा आफूलाई उभ्याउन सक्ने अवसरलगायत अनेक लाभ उठाउन सकिन्छ।

विभिन्न समयमा राजनीतिज्ञहरूले सबै नागरिकलाई अनिवार्य सैनिक तालिम भनी भाषण दिएको सुन्न पाइन्छ तर दिनहुँ कयौं नागरिकको अस्मिता लुटिने, महिला हिंसाको सिकार हुने देशमा महिला प्रतिरक्षा तालिम दिने कुरामा किन आवाज उठ्दैन? आगामी दिन खालि महिला सशक्तीकरण, महिला आत्मरक्षा भन्दै कोठे बहस, छलफल र दिवस मनाउनेलगायतमा मात्र सीमित नभई वास्तविक नतिजामुखी योजनासाथ कार्यान्वयनमा जानु जरुरी छ।

यसको एउटा मोडालिटी सबै विद्यालयहरूमा मार्सल आर्टस् प्रशिक्षणलाई अनिवार्य गर्ने पनि हुन सक्छ। यसबाट दुई पक्षीय लाभ हुन सक्छ। एउटा त नियमित शैक्षिक कार्यक्रममै यसलाई समाविष्ट गर्नाले सरल रूपमा लक्षित वर्गको पहुँच पुग्छ, अर्कातर्फ देशमा रोजगारी नभएर बिदेसिन बाध्य लामो समय खेलकुदमा समय दिएका अनुभवी सफल खेलाडीहरूलाई प्रशिक्षकका रूपमा नियुक्त गरी राज्यले रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिन्छ र यहींबाटै भविष्यका क्षमतावान् खेलाडीसमेत उत्पादन गर्न सकिन्छ।

सबै जिल्लामा राष्ट्रिय खेलकुद परिषद्बाट खटिएका विभिन्न विधाका दक्ष प्रशिक्षक र कर्मचारीहरू हुनुहुन्छ। स्थानीय निकायहरूले समन्वयात्मक ढंगले काम गरी कम्तीमा पनि सुरुवाती चरणमा मार्सल आर्टस् सिकाई नमुना नगर वा नमुना जिल्लाका रूपमा स्थापित गर्न अब ढिला गर्न हुन्न।

अतः अबको आवश्यकता कसैको सहारा लिएर सुरक्षित नारी होइन, स्वयम् क्षमतावान्, आत्मबल एवम् आत्मरक्षामा सबल दरिलो नारी हो।

१३औं दक्षिण एसियाली खेलकुदमा कराते विधामा स्वर्ण पदक विजेता खेलाडी अनु अधिकारीको यो लेख नागरिक न्यूजमा प्रकाशित छ।  

 

प्रकाशित मिति: January 31, 2024

कमेन्ट गर्नुहोस्

advertisment