क्रिकेटर दीपेन्द्र र कुशलको कहानी

क्रिकेटर दीपेन्द्र र कुशलको कहानी
0Shares

हान्झाउ, चीन, असोज ११

चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुद प्रतियोगितामा चर्चामा रहे दुई नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल।

राष्ट्रिय क्रिकेट टोलीमा जमिसकेका अनुभवी ऐरी र आक्रामक युवा ब्याटरको छविमा उदाएका मल्ल दुबैले अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो ऐतिहासिक कीर्तिमान कायम गरे, जसले एसियाली खेलकुद मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट नै आकर्षित भएको छ।

यी खेलाडीहरूका बारे अझ नजिकबाट जानौँ।

दीपेन्द्र सिंह ऐरी

रमाइलो कुरा के छ भने सुदुर पश्चिमका ऐरीको क्रिकेट करिअर फास्ट बलरको रूपमा सुरु भएको हो।

ढाडको समस्याका कारण बलिङमा चुनौती देखिएपछि उनले भूमिका परिवर्तन गरेका हुन्।

पछिल्लो क्रमको ब्याटरको रूपमा देखापरेका उनी अहिले राष्ट्रिय क्रिकेट टोलीका एक मजबुत खम्बा बनिसकेका छन्।

प्रशंसकहरू भन्छन् दीपेन्द्रमा अलराउन्डर क्रिकेटमा हुनुपर्ने सबै गुण भरिएका छन्।

हाल उनी अन्तिम समयमा खेल जित्न सघाउने ‘फिनिशर’को भूमिकामा छन्।

प्रशिक्षकले उनलाई आवश्यकता अनुसार चाहेको स्थानमा खेलाउन सक्छन्। आवश्यक परेको बेलामा उनी मज्जाले टिकेर खेल्न सक्छन् भने आक्रामक रूपमा खेल्न उनलाई समस्या छैन। त्यसैले उनी ‘भरपर्दा खेलाडी’ को रूपमा परिचित छन्।

उनले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८८९ र टी २० मा १,१५५ रन बनाइसकेका छन्।

बलिङको कुरा गर्नुपर्दा उनको ‘अफ स्पिन’ अप्ठेरो खालको छ। जसले गर्दा प्रमुख बलरहरूले विकेट निकाल्न सङ्घर्ष गरिरहेका बेला विकेट झार्न उनलाई नै प्रयोग गरेको देखिन्छ।

उनले खेलेको ५२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लिएको ३६ विकेट र ४५ टी-२० मा लिएको २२ विकेटको आँकडाले त्यहि नै पुष्टि गर्छ।

दीपेन्द्रको अर्को विशेषता हो उत्कृष्ट फिल्डिङ कला। पावर प्लेको बेला ३० यार्ड भित्र होस् वा अन्तिम ओभरहरूमा बाउन्ड्री लाइनमा, उनको फुर्तिलो फिल्डिङ कला अनुभव गर्न सकिन्छ।

‘डाइरेक्ट हिट’ गर्ने मामिलामा उनी नेपाली टोलीका नम्बर एक खेलाडी हुन् भन्दा फरक पर्दैन। तेज गतिमा रन लिन पनि उनी निकै सिपालु छन्।

मैदानमा आफ्ना सहकर्मी साथीलाई निकै गतिशिल बनाइराख्ने उनको बानी नै हो।

सन् २०१७ मा उनले राष्ट्रिय टोलीमा प्रवेश गर्नु अघि १९ वर्ष उमेर समूहको प्रतियोगितामा उनले आफ्नो क्षमता प्रस्तुत गरिसकेका थिए।

अझ सजिलै उनलाई सम्झिने हो भने, नेपालले हालसम्मको इतिहासमा भारतलाई कुनै पनि प्रकारको खेलमा जम्मा एकपटक पराजित गरेको छ।

यु -१९ एसिया कप २०१७ को त्यो खेलमा नेपालका कप्तान थिए उनै ऐरी।

सो खेलमा उनले भारत विरुद्ध ८८ रन बनाएका थिए।

उनले आइसीसी विश्वकप लीग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका हुन्।

भयो के भने उक्त शृङ्खलामा तत्कालीन कप्तान पारस खड्का घाइते भए। उनको विकल्प खोज्दा ऐरी चुनिएका हुन्।

पारसको विकल्पमा ऐरी हुन सक्ने अनुमान त्यति बेला नै गरिएको थियो।

ब्याटिङको उनको उत्कृष्ट कलालाई विभिन्न समयमा आएका प्रशिक्षकहरूले भने फरक फरक नम्बरमा प्रयोग गर्दै आएका छन्।

शुरुमा ४ नम्बरमा खेलेका उनी अहिले भने फिनिशरको भूमिकामा पुगेका छन्।

आइसीसी विश्व क्रिकेट लिग २ को गत वर्षको अमेरिका, स्कटल्याण्ड, नामिबिया भ्रमणपछि उनलाई पुछारमा पठाइएको थियो।

शायद उनको ब्याटिङ फर्म मा नरहेकोले उनलाई त्यो भूमिका दिइएको हुनसक्छ।

अहिले एशियाली खेलकुदमा भने कम बल खेल्न बाँकी भएकोले होला, प्रशिक्षकले उनलाई पाँचौं नम्बरमा पठाएका थिए। जहाँ उनले १० बल खेल्ने मौका पाउँदा दीपेन्द्र सिंह ऐरी को क्षमता के हो भन्ने देखाइदिए।

९ बलमा ‘अर्धशतक’ को उनको कीर्तिमान अब कसैले तोड्न सक्ने देखिँदैन । गणितीय हिसाबमा ९ भन्दा कम बलको सामना गरेर ५० रन बनाउन सकिन्न। भविष्यमा कसैले उनको कीर्तिमान बराबरी सम्म गर्न मात्रै सक्छ।

कुशल मल्ल

कुशल मल्लले आफूलाई आक्रामक ब्याटरको रूपमा अघि सार्दै आएका छन्

भर्खर १९ वर्ष लागेका कुशल मल्ल नेपाली क्रिकेटको ‘चम्किला हीरा’ हुन्।

बाँया हाते आक्रामक ब्याटर कुशलको विशेषता के हो भने उनी ‘क्लिन हिटर’ हुन्। उनको ब्याटको सम्पर्कमा पुगेपछि छक्का वा चौका हुने सम्भावना प्रशस्त बन्ने गर्छ।

जसले गर्दा थोरै बलमा छिट्टै धेरै रनको वर्षा हुने वा कहिलेकाँही छिटै आउट भएर पभिलिअन फर्किने उनको स्वभावमा पर्छ।

बलिङतर्फ उनी पनि काम चलाउ अफ-स्पिनरको भूमिकामा देखिने गर्छन्। तर उनको मूल ध्यान भने ब्याटिङ नै हो।

२०१९ मा युवा उमेरमा उनले टी – २० अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर पाए। तर राष्ट्रिय टोलीमा उनको उपस्थिति नियमित हुन सकेको थिएन।

तर घरेलु फ्रेञ्चाइज खेलमा उनी प्रभावकारी देखिइ नै रहे। र, आफ्नो क्षमताले राष्ट्रिय टोलीमा परे।

सोही वर्ष अमेरिका विरुद्ध शतकीय इनिङ्गस् खेलेपछि उनी चर्चामा आएका थिए।

किनकि त्यो बेला उनको उमेर मात्र १५ वर्ष ३ सय ४० दिनको थियो र सानो उमेरमा शतक ठोक्ने उनी विश्वको सातौँ क्रिकेट खेलाडी बनेका थिए।

कीर्तिपुरमा उपस्थित दर्शकहरूले त्यसपछि कुशललाई राम्ररी चिने।

सन् २०२१ र २०२२ को समय भने उनको लागि प्रभावकारी हुन सकेन।

टिममा भित्रबाहिर पर्दै आएका उनको पुनरागमन भने मोन्टी देसाइले नेपाली टोलीको व्यवस्थापनको नेतृत्व लिएपछि भएको हो।

त्यसयताको नेपालको नाटकीय जितको शृङ्खलामा उनी कतै न कतै नायक बन्दै आएका छन्।

जारी एशियाली खेलकुदमा पनि मोन्टीले ३ नम्बरमै पठाएर उनको आक्रामक स्वभावको फाइदा उठाउन खोजेका थिए, जुन शत प्रतिशत सफल हुन पुगेको देखियो।

जानकारहरूले १३७ अविजित शतकको उनको यसपटको कीर्तिमान तोडिन पनि समय लाग्नेछ भनेर चर्चा गरिरहेका छन्।

 

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment