खाली हात फर्किने भयो नेपाल

खाली हात फर्किने भयो नेपाल
0Shares

काठमाडौं, वैशाख ८ गते

हङकङसंग ४ विकेटले पराजित भएसंगै नेपाली क्रिकेट टोली इमर्जिङ टिम्स एसिया कपमा छनोट हुन असफल भएको छ।

एसीसी प्रिमियर कप क्रिकेटको शनिवार तेस्रो स्थानको लागि भएको खेलमा टस जितेर नेपालले अल अमेरतको मैदान बी मा ब्याटिङ रोज्यो र २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रन बनायो।

जवाफमा ओपनर अंशुमन रथको ब्याटिङको मदतमा टोलीले ३ बल खेल्नु अगाडि ६ खेलाडी गुमाउँदै लक्ष्य पूरा गर्यो।

अंशुमनले ५० बल खेलेर अविजित ६५ रनको अर्धशतकिय पारी खेलेका थिए। ओपनिङमा आएका उनी खेल जिताउञ्जेल क्रिजमा टिकेका थिए।

प्रतियोगिता भरी विकेट लिन नसकिरहेका सोमपाल कामीले आज महत्वपूर्ण समयमा एकपछि अर्को विकेट लिएर विपक्षीलाई दवावमा राखेका थिए।

उनले ओपनर यासिम मोर्ताजा (९ रन), कप्तान निजाकत खान (३ रन) र हङकङका सबैभन्दा खतरनाक खेलाडी बाबर हायात (२६ रन) लाई पवेलियनको बाटो देखाएका थिए।

दीपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिँदै हङकङलाई रोक्ने प्रयास गरे।

तर अंशुमनले एउटा इन्डमा बलियोसंग जमेपछि नेपाली बलरहरुको प्रयास पर्याप्त हुन सकेन।

४ खेलमा जित र चौथो स्थान

लिग चरणमा सबै चार खेल जित्दासम्म नेपाल एसीसी प्रिमिअर कप को प्रमुख दावेदार मध्ये एक थियो।

खेलाडीहरुको स्तरिय प्रदर्शनको प्रशंसा भइरहेको थियो र यसैबेला दीपेन्द्र सिंह ऐरीले ६ बलमा ६ छक्का प्रहार गरेपछि नेपाली टोलीको चर्चा थप चुलिएको थियो।

तर हिजो सेमिफाइनलमा युएईले र आज शनिवार तेस्रो स्थानको लागि भएको खेलमा हङकङ संग पराजित भएसंगै नेपाली टोलीमा प्रश्न चिन्ह उठेको छ।

युएईसंगको पराजय संगै डिफेन्डिङ च्याम्पियन नेपालको एसिया कपमा छनोट हुने बाटो बन्द भएको थियो।

आज हङकङसंग हारेपछि टोलीको ‘एसीसी इमर्जिङ टिम्स एसिया कप’ खेल्ने यात्रा पनि रोकिएको छ।

प्रतियोगिताको प्रवल दावेदार टोली नेपाल खाली हात फर्किनु परेको छ।

प्रतियोगिताको विजेताले अर्को वर्ष हुने टेस्ट राष्ट्र संगको एसिया कपमा छनोट हुने तथा शीर्ष तीन टोलीले एसियाको टेस्ट राष्ट्रहरुको ए टोलीसंग खेल्ने तालिका छ।

खराव ब्याटिङ जारी

नेपालको शुरुआत उस्तै खराव रह्यो।

कुशल भुर्तेलले फेरी एकपटक समर्थकहरुलाई निराश बनाउने क्रममा खेलको दोस्रो बलमा ० रनमा आउट भए।

हिजो युएई संगको जस्तै ब्याटमा सामान्य एज लागेर उनी विकेटकिपरबाट समातिएका थिए।

नेपालको खराब ब्याटिङको क्रम रोकिएन। अस्वाभाविक रुपमा प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामीलाई तेस्रो नम्वरमा ब्याटिङ गर्न पठाएका थिए।

तर निकै अनियन्त्रित देखिएका कामीले जथाभावी ब्याट घुमाउन थालेपछि उनी तेस्रो ओभरमा १२ रन बनाएर आउट भए। त्यसपछि क्रमश: पाँचौ ओभरमा आशिफ शेख (५ रन) बाहिरिए।

आठौं ओभरमा रोहित पौडेल (२१ रन) र १२औं ओभरमा कुशल मल्ल (१३ रन) बाहिरिए। मध्यक्रम सम्हालिएको जस्तो देखिएपनि रन भने बनिरहेको थिएन।

१४औं ओभरमा लगातार २ बलमा सन्दीप जोरा(२२ रन) र गुलशन झा (६ रन)आउट भएपछि नेपाल थप संकटमा परेको थियो। यति बेला नेपाल ८७-७ को खराब स्थितिमा पुगेको थियो।

यस्तोमा दीपेन्द्र सिंह ऐरीले आक्रामक पारी गर्दै नेपाललाई चुनौतीपुर्ण स्थितिमा पुर्याए।

अन्तिम समयसम्म क्रिजमा रहंदै उनले २९ बलमा ४४ रन बनाएपछि नेपालको स्कोर १३९ पुगेको थियो। ऐरीले २९ बल खेलेर ४ चौका र ३ छक्का प्रहार गरे।

इमर्जिङ टिम्स कप एसियाका ८ टोली विच हुने ‘ए’ श्रेणीको प्रतियोगिता हो।

यसमा एसियाबाट टेस्ट खेल्ने ५ टोली भारत, पाकिस्तान, श्रीलंका, बाँग्लादेश र अफगानिस्तानको ‘ए’ टोली सहभागिता हुनेछन्।

त्यसमा एसीसी प्रिमियर कपको शीर्ष टोली ओमान, युएई र नेपाल थपिएका छन्।

प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्वरमा श्रीलंकामा हुनेछ।

यो इमर्जिङ टिम्स कपको छैटौं संस्करण हुनेछ।

 

 

प्रकाशित मिति: April 20, 2024

कमेन्ट गर्नुहोस्

advertisment