नेपाल सुपर लिगः पोखरा र ललितपुरले अंक बाँडे

नेपाल सुपर लिगः पोखरा र ललितपुरले अंक बाँडे दुबै टोलीले गोलका थुप्रै अवसरहरु खेल फालेका थिए। तस्विर: उज्वल डंगोल
0Shares

काठमाडौं, मंसिर १३ गते

पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले एउटा महत्वपूर्ण खेलमा गोल रहित खेलेर अंक बाँडे पछि दुबै टोलीले स्पष्ट अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ।

अघिल्लो दिन डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले जित पाउन नसकेको अवस्थाको फाइदा आज वुधवार खेल्ने दुवै टोलीलाई थियो। त्यसै मनस्थिति लिएर आज दुबै टोली मैदानमा उक्लिएको थियो। तर दुबै तर्फ कुनै गोल नभई खेल टुंगियो।

हुन त प्राप्त एक अंकले ललितपुरलाई शीर्ष स्थानमा पुर्याएको छ। यद्पी अंक तालिकामा ललितपुर, काठमाडौं र पोखरा तीनै वटा टोलीको समान ४ अंक बनेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ सम्पन्न खेलमा पोखरा र ललितपुरका खेलाडीहरु गोलका थुप्रै अवसरहरु पाए पनि त्यसलाई गोलमा भने परिणत गर्न सकेनन्।

छैटौं मिनेटमा भाग्यले साथ नदिँदा पोखरा अग्रता लिनबाट बन्चित भएको थियो । रक्षक फ्र्यान्क्लिन कोयेटे टालाको थ्रु बलको सदुपयोग गर्दै फरवार्ड मोसेस ट्वामले गरेको प्रहार दोस्रो बारको लोअर कर्नरमा लागेर फर्किएको थियो ।

पहिलो हाफको मध्यतिर मिडफिल्डर निखिल कदमको क्रसमा पेनाल्टी बक्सभित्र कुनैपनि निगरानीमा नरहेका फरवार्ड पापा इबो केबेले हेडर नभेट्टाउँदा ललितपुरले पहिलो अवसर खेरा फालेको थियो ।

३३ औं मिनेटमा गोलकिपर प्रिसो एन्जाङ्गा बाधक बन्दा ललितपुरले अग्रता लिने अर्को मौका गुमाएको थियो । मिडफिल्डर अनिल महर्जनको कर्नरमा मार्की खेलाडी तथा कप्तान अनन्त तामाङको हेडरलाई प्रिसोले बचाएका थिए । त्यसको चार मिनेटपछि ललितपुरले अर्को सेटपीस अवसर पाएको थियो । तर, ओमोलाजा करिमको फ्रिकिक प्रहारले प्रिसोलाई बिट गरेपनि गोल पोस्टको दिशा लिन सकेन ।

५९ औं मिनेटमा सन्जित राईको क्रस फरवार्ड इमोन इजेकेलले भेट्टाउन नसक्दा पोखराको खतरा टरेको थियो ।

दोस्रो हाफको मध्यतिर पोखराले २० यार्ड  नजिकैबाट फ्रिकिक अवसर पाएको थियो । तर, कप्तान दीनेश राजवंशीको प्रहार आकाशिन पुग्यो ।

७९ औं मिनेटमा मार्की खेलाडी आयुस घलानले दुई रक्षकलाई ड्रिबल गर्दै पहिलो बारमा गरेको प्रहार ललितपुरका गोलकिपर जेफेरी विली मार्सेलले सहजै बचाए । यसअघि आयुषलाई रक्षक पदम भट्टराईले सुन्दर क्रस निकालिदिएका थिए । त्यसको केही सेकेन्ड्सपछि नै मिडफिल्डर जो आइडोले २२ यार्ड परबाट गरेको शक्तिशाली प्रहार बाहिँरिँदा ललितपुरले राहतको साँस महसुुस गर्यो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा जोको फितलो प्रहार जेफरीले बचाए ।

ललितपुरले आफ्नो तेस्रो खेलमा शनिबार साँझ ५ः३० बजे साबिक उपविजेता धनगढी एफसीसँग खेल्नेछ । सोही दिन दिउँसो १ बजे पोखराले झापा एफसीसँग खेल्नेछ ।

 

प्रकाशित मिति: November 30, 2023

कमेन्ट गर्नुहोस्

advertisment