पोखरा,फाल्गुन ९ गते
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन्।
पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा पुर्व नम्बर एक प्रो भुवन ३-अण्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन। एमेच्योर खेलाडी सदभाव आचार्य २-अण्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे। रवि खड्का र निरज तामाङले इभन-पार ६९ को स्कोरमा तश्रो स्थान बाँडे।
१-ओभर ७० सहित धन बहादुर थापा पाँचौ स्थानमा रहँदा दीपक आचार्य र टंक बहादुर कार्की २-ओभर ७१ सहित संयुक्त रूपमा छैटौं स्थानमा रहे। बलभद्र राई, भुवन कुमार रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३-ओभर ७२ को स्कोरमा संयुक्त रूपमा आठौं स्थानमा रहेका छन।
लिडर भुवनले दोश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाईनमा १-अण्डर ३३ मा पुरा गरे। यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाईन २-अण्डर ३५ मा सकाए। भुवनले ११औं, १५औं र १८औं होलमा एक-एक सट बचाउँदा १२औं होलमा बोगीको सामना गरे।
सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सदभावले फ्रन्ट नाइन १-अण्डर ३३ र ब्याक नाइन १-अण्डर ३४ मा सकाए।
पूर्व नम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन-पार ३४ मा सकाए र ब्याक नाईनमा इभन-पार ३५ खेले। चौंथो र आठौं होलमा बर्डी प्रहार गरेका रविले छैटौं होलमा डबल बोगी खेपे। यस पछि १०औं होलमा बर्डी प्रहार गरे भने रविले १८औं होलमा एक सट खेर फाले।
निरजले फ्रन्ट नाईनमा बोगी रहित १-अण्डर ३३ खेल्दा ब्याक नाईनमा १-ओभर ३६ खेले। उनले तेश्रो होलमा बर्डी प्रहार गरे। यसपछि निरजले १३औं र १५औं होलमा बोगी खेपे भने १४औं होलमा एक सट जोगाए।
तीन दिन सम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ। काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये एक, सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता रहेको छ।
डिफेन्डिङ च्याम्पियन तथा नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई र सुबाश तामाङ भारतीय गल्फ टुरमा व्यस्त रहेको हुनाले यस प्रतियोगितामा सहभागीता जनाएका छैनन।
प्रकाशित मिति: February 22, 2024
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        