काठमडौं, पुस १२ गते
पोखरा थन्डर्सलाई अतिरिक्त समयमा पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ।
बिहिवार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा १० खेलाडीमा सिमित ललितपुरले पोखरालाई २-१ गोलले पराजित गरेको हो। जितसँगै लतिपुरले उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ।
यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ। विजेताले ७० लाख पाउने आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टले जानकारी दिएको छ। अघिल्लो संस्करणको विजेताले ३५ लाख प्राप्त गरेको थियो। यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सार्वेकृष्ट खेलाडी (गोल्डेन बलले) २ लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ)ले समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
खेलको १९औँ मिनेटमा निखिल कदमले प्रहार गरेको कर्नर किकमा इमोन इख्जेलको हेडिंग बललाई पोखराका डिफेन्डरले विफल बनाइदिएका थिए। २९ औँ मिनेटमा पोखराले प्राप्त गरेको कर्नरमा सुरज ठकुरिको प्रहारमा मोसेस ग्याम्बाको हेडिंग पोष्टको नजिकबाट बाहिरिएको थियो।
३४औँ मिनेटमा ललितपुर १० खेलाडीमा सिमीत भयो। निखिल कदमले दुईवटा पहेलो कार्ड प्राप्त गरेपछि रेफ्रिले उनलाई रातो कार्ड देखाएका हुन्।
उनले पोखराका आयुष घलानलाई फउल गरेपछि दोस्रो पहेलो कार्ड पाएका हुन्। यसअघि खेलको २४औ मिनेटमा पोखराका खेलाडीसंग घम्साघम्सी हुँदा पहिलो कार्ड पाएका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा इमोन इज्खेलको गोलमा ललितपुरले खेलमा अग्रता लियो। पापा केबेको लंग पासलाई इमोनले पोखराको गोलपोष्टको जाली चुमाउन सफल भए।
५३औँ मिनेटमा पोखराका स्टार आयुष घलानले उत्कृष्ट मुभ बनाउदै डिबक्सबाहिरबाट प्रहार गरेको सट पोष्टनजिकबाट बाहिरिएको थियो।
दोस्रो हाफमा आक्रमक बनेको पोखरा ७१औ मिनेटमा स्टेफेन कोजोको गोलमा खेलमा फर्कियो। जोए आइडोले दिएको क्रसलाई उनले सदुपयोग गर्दै आफ्नो टोलीलाई १-१ गोलको बराबरीमा पुर्याए।
निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समय धकेलिएको थियो।
अतिरिक्त समयको पहिलो मिनेटमै पोखराका आयुष घलानलाई डिबक्स बाहिर लडाएपछि फ्रिकिक प्राप्त गरेको थियो। जसलाई सुरज ठकुरीले सदुपयोग गर्न सकेनन्। १० खेलाडीमा सीमित ललितपुरले अतिरिक्त समयमा कुशल देउबाको गोलमा अग्रता लियो।
पापा केबेले दिएको लंग बललाई अन्नत तामांगले डिबक्सभित्र हेडिंग गरेको बललाई देउबाले गोलमा परिणत गरेका हुन्। यसअघि पहिलो क्वालिफायरमा पोखरा धनगढीसँग पराजित भएको थियो। ललितपुर सिटीले इलिमिनेटरमा काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो।
प्रकाशित मिति: December 28, 2023
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        