काठमाडौं, पुष ३ गते
डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र उप विजेता धनगढी एफसी विचको नेपाल सुपर लिग भीडन्त अनुमान गरे जस्तै ‘सुपर’ नै रह्यो।
१-१ को बराबरीमा टुंगिएको उक्त खेलमा दुबै टोलीले आफ्नो उच्चतम प्रस्तुती दियो। बेलुकी ६ बजेको चिसो मौसममा पनि दर्शकको उपस्थिति यसकारण पनि बाक्लो देखिएको थियो की उनीहरुले यो खेलमा उत्कृष्ट फुटबल हेर्न पाइने विश्वास थियो। त्यहि नै भयो।
खेलमा अग्रता धनगढीले लियो। धनगढीका लागि एहमद हिजाजीले १५ औं मिनेटमा सुन्दर भलि प्रहार गर्दै गोल गरे। उनको यो गोलका लागि विपक्षी रक्षक आन्द्रेश नियाको भूमिका निर्णायक थियो।
नियाले गोलकिपरलाई दिएको ब्याक पास निकै फितलो थियो। जसलाई हिजाजीले बल नियन्त्रणमा लिन सक्यो र गोल भयो।
काठमाडौंका लागि ओलिभर किङ्गले ६६ औं मिनेटमा बराबरी गोल फर्काएका हुन्। टोजिडिनोभ कोमिवोनको क्रसमा ओलभर किङ्गेले हेडर मार्फत गोल सहज गोल गरे।
यो बराबरीले अंक तालिकामा केही फरक परेन। अपराजित यात्रालाई कायम राखेको धनगढी ६ खेलमा १२ अंक जोड्दै पहिलो स्थानमा छ । काठमाडौं समान खेलबाट ९ अंकका साथ चौथो स्थानमा यथावत छ ।
प्रकाशित मिति: December 19, 2023
 
                                            
                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        