अफगानिस्तानसंग नेपालको हार्ने बानी

अफगानिस्तानसंग नेपालको हार्ने बानी अर्जुन कुमाल अर्धशतक बनाएपछि। तस्विर:एसीसी
0Shares

काठमाडौं, मंसिर २४ गते

नेपाल र अफगानिस्तान विचको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपाल थोरै अगाडि थियो। तर सफलताको दृष्टिकोणले टेस्ट राष्ट्रको मान्यता पाइसकेको अफगानिस्तान धेरै अगाडि पुगिसकेको छ।

तर यी दुई विचको भेट भने संधै रोचक हुने गरेको छ। चाहे त्यो राष्ट्रिय टोलीबाट खेल्दा होस् वा उमेर समुहमा। यद्यपी पछिल्लो एक दशकमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन।

युनाइटेड अरब इमिरेट्स (युएई) मा सञ्चालन भइरहेको एसीसी यु- १९ एसिया कपको दोस्रो खेलमा आइतवार नेपाल र अफगानिस्तान बिच लिग चरणमा भएको भेटको परिणाम पनि उस्तै रह्यो।

अफगानिस्तानले दिएको २ रनको चुनौती पछ्याउन नेपाली युवा टोली सफल हुन सकेन।

लगातार दुई खेल हारेपछि नेपालको यात्रा लिग चरणमै लगभग समाप्त भएको छ।

मात्र की अंक गणितिय हिसावमा नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छैन।

नेपालको शून्य अंक छ। त्यस्तै एक एक जितेको भारत र अफगानिस्तानको २ अंक छ भने दुइवटै खेल जितेको पाकिस्तान ४ अंकका साथ शीर्ष स्थानमा छ।

अब लिगको अन्तिम खेलमा नेपालले भारतलाई फराकिलो अन्तरले हराउने र पाकिस्तानले पनि त्यसरी नै ठूलो अन्तरमा अफगानिस्तानलाई हराउने हो भने रन रेटमा माथी रहँदै नेपाल सेमिफाइनल पुग्न सक्छ।  

खराब ब्याटिङ

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले सबै विकेट गुमाउँदै २६१ रन बनायो। जवाफमा नेपालले ४०.१ओभरमा सबै विकेट गुमाउँदै १८८ रन मात्र जोड्न सक्यो।

युवा टोलीको धरमराउँदो ब्याटिङ नै हारको कारण बन्यो।

२६२ रनको लक्ष्य पूरा गर्न आएका खेलाडीहरु कसैले पनि भरपर्दो इनिङ खेल्न सकेनन्।

प्रारम्भिक ब्याटर विपिन रावल पहिलो ओभरमा खाता खोल्न नसकि आउट भएपछि नै नेपालको विकेट लगातार झर्न थालेको थियो। त्यसपछि सातौं ओभरमा दीपक बोहरा (१५ रन)  आउट भए।

कप्तान देब खनाल र सिनियर राष्ट्रिय टोलीका सदस्य गुलशन झा ले पनि जिम्मेवारी इनिङ खेल्न सकेनन्।

कप्तान देवले २४ रन बनाउन सके। त्यसपछि उत्तम थापामगर ४ रन तथा आकाश त्रिपाठी (० रन) आउट भए। त्यतिबेला नेपालको ५ विकेट झरिसकेको थियो र जम्मा ७९ रन मात्र बनाउन सकेको थियो।

सिनियर राष्ट्रिय टोलीका सदस्य गुलशन झा ले पनि २० बलको सामना गरे। २ छक्का हाने र १७ रन बनाएर बाहिरिए। दिपेश कँडेल पनि ११ रनमा आउट भए।

कुमालको तारिफयोग्य संघर्ष

नेपाल कुनै पनि समयमा खेलमा फर्किन सकेन। नेपालको लागि तारिफ गर्ने एकमात्र विषय भनेको युवा खेलाडी अर्जुन कुमालले गरेको संघर्ष थियो।

प्रारम्भिक ब्याटर अर्जुनले आफ्नो साथीहरु एकपछि अर्को गर्दै आउट भइरहेपनि एउटा इन्डमा मज्जाले जमेर बसे। र निरन्तर रन बटुल्दै गरे।

१०८ बल खेल्दै उनले १३ चौका प्रहार गरेर ९१ रन जोडे। ३६ औं ओभरमा अहमद खलेललाई ३ चौका ठोकेका थिए।

४०.१ ओभरमा फारिडोन डावद्जाईको बलमा अर्जुन अन्तिम खेलाडीका रुपमा विकेट किपरबाट समातिएसंगै नेपालको इनिङ समाप्त भयो।

मध्यम बलिङ

जम्सिद जर्दानको १०६ रनको शतकिय पारीको मदत तथा नुमान शाहको ६० रनको मदतले अफगानिस्तानले नेपाल विरुद्ध चुनौतीपूर्ण स्कोर खडा गरेको हो।

टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो ।

नेपाली बलरहरुले शूरुआती समयमा राम्रो बलिङ गर्दै विपक्षी अफगानिस्तानलाई दबाबमा राखेको थियो।

नेपालबाट सिनियर राष्ट्रिय टोलीमा राम्रो छाप छोड्दै आएका अलराउन्डर गुलशन झाले दोस्रो ओभरमा पहिलो विकेट लिँदै नेपालको लागि शुरुआत राम्रो दिलाएका थिए।  

उनले १.५ ओभरमा अफगानी ओपनर वाफिउल्लाह ताराखिल लाई कप्तान देव खनालबाट क्याच आउट गराए।

त्यसपछि सातौं ओभरमा तीब्र गतिका बलर हेमन्त धामीले दुई बलमा दुई विकेट लिएर विपक्षीलाई दवावमा राखे।

सातौं ओभरको दोस्रो बलमा हेमन्तले १० रन बनाएर खेलिरहेका खालिद तानिवाललाई आउट गरे। गुलशन झाले उनको क्याच समातेका थिए।

त्यसपछिको अर्को बलमा हेमन्तले अक्रम मोहम्मदजाईलाई बोल्ड गरिदिए। ह्याट्रिक नजिक पुगेका उनले तेस्रो बलमा भने सफल हुन सकेन।

त्यतिबेला अफगानिस्तानले ३३ रन मात्र जोड्दा ३ विकेट गुमाइसकेको थियो।

तर अफगानिस्तानका जम्सिद जर्दान र रहिमुल्लाह जुर्मातीले ४ विकेटमा राम्रो साझेदारी गर्दै टोलीको स्कोर २८ ओभर सम्ममा ११४ पुर्याए।

यी दुईले चौथो विकेटका लागि गरेको ८१ रनको मजबुत साझेदारीलाई २८ औं ओभरको अन्तिम बलमा स्पिनर दिपेश कँडेलले तोडेका थिए।

३५ रन बनाएर खेलिरहेका जुर्मातीको क्याच सुभाष भण्डारीले लिए।

यद्यपी जम्सिद जर्दानले एउटा जिम्मेवारी पारी खेलेर स्कोरबोर्डमा रन रेट वढाउन भूमिका खेलिरहे भने नुमान साहले उनलाई राम्रो साथ दिए।

नुमानले ४१ बलमा ६० रन जोडेर छरितो रुपमा रन सँख्या वढाएका थिए। ५ चौका र ३ छक्का प्रहार गरेका उनलाई सुभाषले ४१.४ ओभरमा आउट गर्न सफल भए।

यतिबेलासम्म अफगानिस्तानले २०० रनको आँकडा पार गरिसकेको थियो।

सुभाष भण्डारीले नुमानसंगै ४४ औं ओभरमा मोहम्मद युनिस (२ रन) को विकेट लिएर विपक्षी आक्रमणको गति घटाउने काम गरे।

तर जम्सिद जर्दान भने रोकिएन। उनी अन्तिम ओभरमा १०६ रन बनाएर रिटायर्ड आउट भएका थिए। १५२ बल खेलेका उनले ८ चौका हाने।

दुई परिवर्तन

नेपालले आजको खेलका लागि दुई खेलाडी परिवर्तन गरेको छ।

पाकिस्तानसंगको खेल खेलेका ब्याटर विशाल विक्रम केसी र स्पिनर तिलक राज भण्डारी वेञ्चमा छन्। उनीहरुको स्थानमा तीव्र गतिका बलर हेमन्त धामी र ब्याटिङ अलराउन्डर दीपक बोहरालाई टिममा राखिएको थियो।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग र अफगानिस्तान भारतसँग पराजित भएको थियो। दुबै टोली ७ विकेटले पराजित भएको थियो।

८ एसियाली राष्ट्र विच भइरहेको प्रतिस्पर्धारमा समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान तथा समूह ‘बी’ मा आयोजक युएई,  बाँग्लादेश, श्रीलंका र जापान छन् ।

नेपाली टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दीपेश कंडेल, दीपक बोहरा, सुभाष भण्डारी, उत्तम थापा मगर, विपिन रावल (विकेटकिपर), हेमन्त धामी, आकाश चन्द

 

प्रकाशित मिति: December 10, 2023

कमेन्ट गर्नुहोस्

advertisment