स्वर्गिय पुष्परत्न शाक्यलाई ‘सम्मान स्वर्ण’

स्वर्गिय पुष्परत्न शाक्यलाई ‘सम्मान स्वर्ण’
0Shares

काठमाडौं, मंसिर २४ गते

ललितपुरमा सञ्चालन भइरहेको पाँचौं ललितपुर महानगरपालिका मेयर कप रात्रिकालिन टेबलटेनिस प्रतियोगितामा एउटा दुखद घटना घट्यो।

मूल आयोजक समितिका सचिव समेत रहेका पुष्परत्न शाक्यको ४० वर्ष माथि इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेकै बेला ह्दयघात भयो र कोर्टमै उनको निधन भयो।

यो दुखद घटनापछि खेल एकहप्ता स्थगित भएर पुन: शुरु भएको छ।

संयोग के रह्यो भने उनै स्वर्गिय पुष्परत्न शाक्यले पुरुष टिम इभेन्टसमा स्वर्ण जितेका छन्।

वडा ११ बाट खेलिरहेका स्वर्गिय पुष्परत्नको नाम निधन हुनु अगाडिनै टिम इभेन्ट्सको सूचीमा दर्ता  थियो। त्यसपछि उनका टोलीका साथीहरुले पुष्परत्नको सम्मान स्वरुप वडा ११ को टोलीमा उनको नामलाई निरन्तरता दिने निर्णय गर्यो।

टोलीका साथीहरु नदिमरत्न शाक्य, राजेन्द्र वज्राचार्य र राजिप वज्राचार्यको टोलीले फाइनलमा वडा १६ का मुकेश धाक्वा, रितम शाक्य, राजेन्द्र श्रेष्ठ, राजु शाक्य र किरणमुनि वज्राचार्यको संग प्रतिस्पर्धा गर्यो।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त फाइनलमा वडा ११ ले वडा १६ लाई ३–२ ले पराजित गर्न सफल भयो। जितपछिको भावुक माहोलमा टिमका सहयात्रीहरुले उक्त स्वर्ण स्वर्गिय पुष्परत्न प्रति समर्पित गरे।

टिमका एक साथी नदिम रत्न शाक्यले भने – ” स्वर्गिय पुष्परत्नले स्वास्थ्यका लागि खेल्न निकै जरुरी छ भन्ने सन्देश दिएर जानुभएको छ। हामी यो स्वर्ण उहाँमा समर्पित गर्न चाहन्छौं।”

उक्त इभेन्ट्समा वडा १२ र वडा ९ तेश्रो भए ।

प्रतियोगिताका अन्य इभेन्ट्सहरुमा यु–१६ ब्वाइज सिंगल्समा वडा २० का इरिश शाक्यले स्वर्ण, वडा १८ का विशाल थापाले रजत तथा वडा ७ का मिजेन शाक्य र वडा १२ का सक्षम शाक्यले कांस्य जिते ।

उक्त स्पर्धाको गर्ल्समा वडा ६ की अंकिता वज्राचार्य पहिलो, वडा ८ की सुरम्य शाक्य दोश्रो तथा वडा २० की युनिशा महर्जन र वडा १२ की इशान्भी महर्जनले कांस्य हात पारे ।
यु– १२ ब्वाइज सिंगल्समा वडा १६ का रिजन शाक्यले स्वर्ण, वडा १६ का स्वर्णिम शाक्यले रजत तथा वडा १२ का अयानराज शाक्य र वडा ९ का निर्भान वज्राचार्यले कांस्य जिते । सो स्पर्धाको गल्र्समा वडा १७ की अर्सना महर्जन पहिलो, वडा १६ की साइरा शाक्य दोश्रो तथा वडा १७ की अश्लेषा श्रेष्ठ र वडा १९ की निर्भी श्रेष्ठ तेश्रो बने ।

प्रकाशित मिति: December 10, 2023

कमेन्ट गर्नुहोस्

advertisment