स्ट्याग ग्लोबल च्याम्पियन्स लिग टेबल टेनिस हुने

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग टेबल टेनिस हुने
0Shares

काठमाडौं, मंसिर १७ गते

अखिल नेपाल टेबल टेनिस संघको तत्वावधान, स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा मंगलवारबाट स्ट्याग ग्लोबल च्याम्पियन्स लिग टेबल टेनिस प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मंसिर २३ गतेसम्म हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक भारतको स्ट्याग ग्लोबल प्रा.लि रहेको छ। मुख्य प्रायोजकले टेबल टेनिस बोर्ड, बल, स्कोर बोर्ड, ट्वाबेल बक्स, अफिसियल किट लगायतका सामग्रीहरु प्रदान गर्नेछ।

यसैगरी सह प्रायोजकमा मेटल सेपरले प्रतियोगिताको रनिङ ट्रफी र कुल अनुमानित बजेटको १५ प्रतिशत रकम प्रदान गर्नेछ। यसैगरी समाजसेवी सुमन खड्गी १ लाख रुपैयाँ तथा अनर मोबाइल कम्पनीले दुई वटा मोबाइल उपलब्ध गराउने भएका छन् ।

पाँच दिनसम्म हुने प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलसहित एभिएम टेबल टेनिस क्लब, कीर्तिपुर भ्याली पिङ पोङ क्लब,नागाउँ स्पोर्टस क्लब, गुड स्पिन टेबल टेनिस एकेडेमी, ज्ञानवैरभ डिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीको सहभागिता रहनेछ ।

सहभागी नौ मध्ये पाँच टिमले प्रतियोगिताको नियम अनुसार एक पुरुष र एक महिला विदेशी खेलाडी समावेश गरेका छन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैया रहेको छ । प्रतियोगितामा पहिलो हुने टोलीले २ लाख रुपैयाँसहित रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

 

प्रकाशित मिति: December 3, 2023

कमेन्ट गर्नुहोस्

advertisment