धनगढी र ललितपुरले एक अंकमै चित्त बुझाए

धनगढी र ललितपुरले एक अंकमै चित्त बुझाए
0Shares

काठमाडौं, मंसिर १७ गते

नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोल रहित बराबरी खेलेका छन्।

शनिवार सम्पन्न हाइ एलर्ट खेलमा ३ अंकका लागि दुबै टोलीले अत्यन्त गरेको थियो भने अंक नगुमाउने विषयमा पनि दुबै टोली सचेत देखिएको थियो।

शनिवार फ्लड लाइटमा खेलिएको उक्त प्रतिस्पर्धामा गत संस्करणमा फाइनलमा पुगेर चुकेको धनगढीले केही राम्रा अवसरहरु गुमाएको थियो। ललितपुरको अवस्था पनि उस्तै थियो।

बराबरीले धनगढीले अंक दुरी बढाउने मौका भने गुमाएको छ । तीन खेलमा ललितपुरको पाँच अंक छ भने समान खेलबाट धनगढीले सात अंक जोडेको छ ।

पहिलो खेलमा वीरगंज युनाइटेडलाई २-१ ले हराएको धनगढी दोस्रो खेलमा बुटवललुम्बिनी एफसी माथि १-० को जित हासिल गर्न सफल भएको थियो । पहिलो खेलमा बुटवल लुम्बिनीमाथि २-० को सहज जित हासिल गरेको ललितपुरले दोस्रो खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरी खेलेको थियो ।

खेलको तेस्रो मिनेटमा कमल श्रेष्ठको फ्रिकिकलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाए । १२ औं मिनेटमा ओमोलाजा करिमको फ्रिकिकलाई पन्च गर्दै गोलकिपर मोहम्मद ताहाले धनगढीको संकट टारे ।

३४ औं मिनेटमा कप्तान अनन्त तामाङको लामो क्रसमा निखिल कदमको हेडर क्रसबारमा लागेर फर्कियो । रिबाउन्ड बलले गोलकिपर ताहालाई लागेपनि उनले बललाई गोललाइन क्रस गर्न नपाउँदै नियन्त्रणमा लिए ।

दोस्रो हाफको सुरुआती पाँच मिनेटभित्र धनगढीका तीन अवसर गोलमा परिणत भएनन् । मैदान प्रवेश गरेको एक मिनेट पनि नबित्दै मिडफिल्डर रोहन कार्कीले अहमद हिजाजीलाई सुन्दर क्रस निकालिदिएका थिए । तर, हिजाजीको हेडर गोलकिपर बाल्टसले बचाए ।

४९ औं मिनेटमा हिजाजीकै राइट फुटेड प्रहार बाल्टसले पुनः बचाए । त्यसको अर्को मिनेटमा रक्षक रिचर्ड अग्यमाङको प्रहारले गोल पोस्टको दिशा लिन नसक्दा धनगढीले दोस्रो मौका गुमायो ।

५९ औं मिनेटमा मध्यभागबाट रक्षक कमलले प्रहार गरेको फ्रिकिक जेफेरीले बचाए । त्यसको केही सेकेन्ड्समै साइमोन लिम्बुको २८ यार्ड परबाट गरेको शक्तिशाली प्रहारलाई रक्षक ओमोलाजा करिमले क्लियर गरिदिए ।

६५ औं मिनेटमा फरवार्ड इमो इजिकिलको गोल गरेपनि अफसाइड रहँदा रेफ्रीले मान्यत दिएनन् । पेनाल्टी बक्स बाहिरबाट फरवार्ड दीनेश हेन्जनले गरेको प्रहार धनगढीका गोलकिपर मोहम्मद ताहाले बचाएका थिए । प्राप्त रिबाउन्डमा इमोनले वान टच गोल गरेका थिए ।

७५ औं मिनेटमा धनगढीले अर्को सुनौलो अवसर गुमायो । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड फोडे फोफानाको क्रसमा निगरानीमा नरहेका हिजाजीको हेडरले पोस्टको दिशा लिन सकेन । त्यसको १० मिनेटपछि फलो डियाग्न को प्रहार बाल्टसले  बचाउदै ललितपुरको संकट टारे ।

प्रकाशित मिति: December 3, 2023

कमेन्ट गर्नुहोस्

advertisment