काठमाडौं, मंसिर १२ गते
खेलको सकिएको अन्तिम सिठ्ठी फुक्ने तयारी भइरहेकै बेला एनकुंगे जुनियरले तीनजना रक्षकका विचबाट गोल गरेपछि डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नेपाल सुपर लिगको पहिलो हार खानबाट जोगियो।
नेपाल सुपर लिग (एनएसएल) मा दोस्रो खेल खेलिरहेको डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स हारको संघारमा पुगिसकेको थियो। एफसी चितवनसंग निर्धारित ९० मिनेटपछि सम्म टोली १ -० ले पछि परिसकेको थियो। तर थपिएको ५ मिनेटमा तेस्रो मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको हो।
उक्त गोलले काठमाडौंलाई जति खुशी दियो त्यो भन्दा वढी पीडा चितवनको भागमा पर्यो।

पहिलो जितको खुशी, त्यो पनि डिफेन्डिङ च्याम्पियनलाई पराजित गरेर, चितवनका खेलाडीहरु सेलिब्रेसनका लागि टच लाइनमा पुगिसकेका थिए। तर त्यो खुशी तिनिहरुले मनाउन पाएनन्।
यो खेल जितेको भए चितवनको एनएसएलमा पहिलो जित हुने थियो। पहिलो संस्करणमा चितवन एक खेल पनि नजिती प्रतियोगिताबाट बाहिरिन पुगेको थियो भने यसै सस्करणमा पनि पहिलो हारको स्वाद चाखिसकेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको ८६ औं मिनेटमा विमल घर्ती मगरले गोल गरेपछि चितवनले खेलमा अग्रता लिएको थियो।
अन्तिम समयमा निस्किएको गोलपछि चितवनका पदाधिकारीहरुमा जितको आशा जाग्नु स्वाभाविक भइ नै हाल्यो। तर त्यहि बेला जुनियरले उनीहरुको आशामा पानी खन्याइदिए।
खेल १-१ को बराबरीमा रोकियो।
प्रकाशित मिति: November 29, 2023
 
                                             
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        