इलामले पायो महत्वपूर्ण ३ अंक

इलामले पायो महत्वपूर्ण ३ अंक
0Shares

काठमाडौं, मंसिर ११ गते
नेपाल सुपर लिगको एउटा रोमाञ्चक खेलमा झापा एफसीलाई १-० को रोमाञ्चक नतिजामा पराजित गर्दै स्पोर्टिङ इलाम डी एफसीले महत्वपूर्ण ३ अंक बटुलेको छ।
सोमबार दशरथ रंगशालामा भिडेका पुर्वका दुई टोली विचको भीडन्त निकै रोमाञ्चक देखिएको थियो। प्रतियोगिताको दोस्रो चरणको खेल शुरु हुंदा सम्ममा सम्भवत यो अहिलेसम्मकै राम्रो खेल थियो।
विशेषगरी खेलको अन्त्यतिर रोमाञ्च उत्कर्षमा पुगेको थियो। जब ८७ औं मिनेटमा इलामका फरवार्ड अमाथ डअले पेनाल्टीमा गोल गर्न सकेन, माहोल बेग्लै बन्यो।
उनको प्रहार पोष्टभन्दा माथी उठेर बाहिरिएपछि झापाका खेलाडिहरुले गजबले खुशी मनाए।
त्यो गोलले इलामलाई ३ अंक दिलाउन सक्थ्यो। र पेनाल्टी प्रहार गर्ने बेलामा डअले गोलकिपरलाई जिस्काउँदै ढिलो ढिलो पाइला चाल्दै पेनाल्टी स्टाइल निकालेका थिए।
तर उनै डअले इन्ज्युरी टाइममा गोल गरि आफ्नो गल्ती मात्र सुधारेनन् , टिमलाई जित दिलाएरै छाडे।
दोस्रो खेलमा इलामको यो पहिलो जित हो। यसअघि उद्घाटन खेलमा टोली काठमाडौं रेजर्ससंग पराजित हुन पुगेको थियो।
पहिलो हाफमा केही उत्कृष्ट गोलका अवसरहरु दुबै टोलीले बुने। जसमा दुइवटा प्रहार झापाको लागि स्मरणिय थियो। तर गोल भने निस्किएन।
११ औं मिनेटमा झापाका जोर्ज सान्चेजले निकै नै सजिलो अवसर गोल गर्न सकेनन्। पेनाल्टी बक्सभित्र इलामका गोलकिपर विकेश कुथु बिट् भइसकेको अवस्थामा उले गरेको प्रहार पोस्टको निकै नजिकबाट बाहिरिन पुगेको थियो।
४४ औं मिनेटमा मार्की खेलाडी अन्जन विष्टको डाइभिङ हेड गोल नहुनु भने झापाको दुर्भाग्य नै थियो।लक्ष्मण रुचालको क्रसमा विष्टले गरेको सुन्दर हेडर क्रसबारमा ठोक्किएर फर्केको थियो।

दोस्रो हाफको सुरुआती १० मिनेट बित्न नपाउँदै झापाले अग्रता लिने अर्को अवसर गुमायो । सुरज विष्टको सुन्दर क्रसमा बक्सभित्र निगरानीमा नरहेका जोर्जको फितलो हेडर विकेशले बचाए ।
निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा भरत खवास विपक्षी रक्षक योगेश गुरुङबाट फाउल भएपछि इलामले पेनाल्टी प्राप्त गरेको हो।
निर्णायक गोल गरेका अमाथ म्यान अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति: November 28, 2023

कमेन्ट गर्नुहोस्

advertisment