वीरगंजको प्रवेश हारको स्वादबाट

वीरगंजको प्रवेश हारको स्वादबाट वीरगंजका रक्षकको चुनौती पार गर्ने प्रयासमा धनगढी सिटी एफसीका खेलाडी(पहेंलो जर्सी) तस्विर: उज्वल डंगोल।
1Shares

काठमाडौं, मंसिर १० गते

नेपाल सुपर लिग (एनएसएल) को नयाँ टोली वीरगंज युनाइटेडको शुरुआत हारको स्वादबाट भएको छ।

आइतवार राती गत सिजनको उपविजेता धनगढी सिटी एफसीबाट टोलीले २-१ को हार ब्यहोर्यो।

यद्यपी विरगंजको लागि खुशीको कुरा के रह्यो भने धनगढी एफसीसंग उसले सजिलै हार मानेन। झन्डै झन्डै बराबरी तिर गइसकेको खेलमा धनगढीले तीन अंक पाउन निकै मेहनत गर्नुपर्यो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जिताउन फोडे फोफाना र अहमद हिजाजीले गोल गरेका थिए।

वीरगंजले पेनाल्टीमा गोल गरेको हो। हान्स कोफीले सो पेनाल्टी प्रहार गरेका थिए। एनएसएलको दोस्रो सिजनको यो पहिलो पेनाल्टी पनि हो।

खेल शुरु भएको दोस्रो मिनेटमै धनगढीले गोल गरेपछि खेलले एकतर्फी रुप लिने थानिएको थियो। अफिज ओलावालेको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका फोफानाले वान टचमा गोल गरेका थिए।

तर खेलमा वीरगंजका खेलाडीहरुले राम्रो टक्कर दिए।

नवौं  मिनेटमा विरगंजले खेललाई बराबरीमा ल्याउने अवसर गुमायो। विलियम ओपकु अ‍ैसेडुको प्रहार रक्षक रिचार्ड ओसेइ अक्ष्वेमाङलाई लाग्दै बाहिरिएपछि धनगढीको खतरा टरेको थियो ।

चार मिनेटपछि वीरगंज पुनः गोल गर्नबाट चुक्यो। बक्सभित्र अभिषेक गुरुङलाई बिट गर्दै विशोन गुरुङले गरेको प्रहार बाहिरिन पुग्यो।

पहिलो हाफको मध्यतिर विरगंजले तेस्रो अवसर गुमायो । तेज तामाङको कर्नरमा अ‍ैसेडुको फ्रि हेडरले पोस्टको दिशा लिन सकेन ।

पहिलो हाफको इन्जुरी समयमा विरगंजले बराबरी गोल फर्कायो । कर्नर क्रसलाई जाजे गुस्ताभोले हेडमार्फत पोस्टको दिशा दिन खोज्दा फलु डियाग्ने बल हातले छुन पुगेका थिए । प्राप्त पेनाल्टी अवसरमा हान्स चुकेनन् ।

५८ औं मिनेटमा मार्की खेलाडी आशिष चौधरी वान भर्सेस वानमा चुक्दा धनगढीले अग्रता लिने सुनौलो अवसर गुमायो । आशिषले अफिजको सुन्दर थ्रू बललाई सदुपयोग गर्नसकेनन् ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा धनगढीले दोस्रो गोल गर्यो । कृतिशरत्न छुन्जुको वान टच पासलाई हिजाजीले पोस्टको दिशा दिएका थिए ।

 

प्रकाशित मिति: November 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment