काठमाडौं, मंसिर ८ गते
नेपाल सुपर लिग (एनएसएल) शुरु भएपछि दर्शक सामू खेलिएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टिङ इलाम एफसी डी मेचीलाई १-० ले पराजित गरेको छ।
दुई वर्ष अगाडि खेलिएको प्रतियोगिताको पहिलो संस्करण कोविड महामारीको विचमा भएको थियो, जसका कारण प्रतियोगिताका सबै खेलहरु दर्शक विना खेलाइएको थियो।
दुई वर्षपछि प्रतियोगिताको दोस्रो संस्करण शुरु हुँदा भने तामझामको प्रशस्त मौका मिल्यो। उद्घाटन अगाडि सास्कृतिक प्रदर्शन गरियो भने खेलका बेला दर्शकको भीड जम्मा भए।
यहि रमाइलोका विच खेलिएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पिन काठमाडौं रेजर्स एफसीले जितबाट खेल अगाडि वढायो।
दोस्रो संस्करणको पहिलो गोल राजिव लोप्चनले गरेका हुन्। ५१ औं मिनेटमा प्राप्त कर्नर किकमा प्राप्त बलमा लोप्चनले दोस्रो प्रयासमा गोल गर्ने मौका पाएको थियो।
प्रशिक्षकहरुले पत्रकार सम्मेलनमा भने जस्तै दुबै टोलीको तयारीमा कमी भएको खेलमा प्रष्ट देखिएको थियो।
मैदानमा खेलाडीहरु विच तालमेलको अभाव देखिएको थियो भने कतिपय अवसरहरुको सदूपयोग गर्नमा दुबै टोलीका खेलाडीहरु बारम्बार चुकिरहेका थिए।
एक महिना भन्दा लामो समय सम्म चल्ने प्रतियोगितामा अव शनिवार दुई खेल हुनेछन्।
पहिलो खेल दिउसो २:३० बजे पोखरा थन्डर्स र एफसी चितवन तथा दोस्रो खेल ५:३० बजे ललितपुर एफसी र एफसी बुटबल लुम्विनी विच हुनेछ।  
प्रकाशित मिति: November 24, 2023
 
                                             
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                         
                                        