शान्त बस्दै धमाका मच्चाउने एनएसएलको लक्ष्य

शान्त बस्दै धमाका मच्चाउने एनएसएलको लक्ष्य एनएसएलका अध्यक्ष आश्रयता कार्की (बाँया ) र निर्देशक श्रेयान्स कार्की पत्रकार सम्मेलनमा। तस्विर: उज्वल डंगोल।
0Shares

एनके सम्वाददाता

काठमाडौं, मंसिर ६  गते

कोविड २०१९ को बेला घरमा गुम्सेर बसेका नेपालीहरुलाई नेपाल सुपर लिग (एनएसएल) बेग्लै ताजगी दिएको थियो।

दशरथ रंगशालाका प्यारापिट खाली थियो, तर एनएसएल मनपराउने र त्यसलाई टेलिभिजनमा हेर्नेहरुको संख्या अत्याधिक थियो।

वास्तवमा एनएसएलले फुटबलमा एउटा बेग्लै ताजगीको स्वाद पस्केको थियो। त्यतिबेला एनएसएलको प्रशंसा किन पनि भएको थियो भने कोविडको अनेकौं चुनौतीलाई पन्छाउँदै उसले खाली रंगशालामा प्रतियोगिता आयोजना गर्ने दुस्साहस गरेको थियो।

अब पाँच वर्षपछि एनएसएलको दोस्रो संस्करण हुंदैछ। हरेक वर्ष प्रतियोगिताको आयोजना गर्ने अधिकार पाएपनि एनएसएललाई दोस्रो आयोजनाको लागि ५ वर्ष लाग्यो।

त्यसका अनेक पाटाहरु रहेको बताइन्छ। यसविचमा एनएसएल थुप्रै समस्याबाट गुज्रिएको पनि देखियो। शहिद स्मारक ए डिभिजन लिगका क्लबहरुले खेलाडी स्थानानन्तरणमा राखेका शर्तहरु, एन्फा नेतृत्वमा आएको बदलाव, एन्फा भित्रकै राजनीतिकका असर, दशरथ रंगशाला पाउनका लागि सकस र त्यस्तै अन्य थुप्रै भित्री समस्यासंग जुझ्दा जुझ्दै एनएसएलले चार वर्ष प्रतियोगिता आयोजना गर्न सकेन।

एक वर्ष त खेलाडीहरुको अक्सन गरि भ्याइसकेको अवस्थामा समेत आयोजक पछि हटेको देखियो।

अहिले पहिलो सस्करणबाट १० पुर्याइएको क्लब संख्या घटेर ९ पुगेको छ। तर पहिलो संस्करणको विराटनगर वारियर्सले हात झिकेको अवस्था छ।

तर ४ वर्षमा भोगेका यी सबै आरोह अवरोहलाई पन्छाउँदै एनएसएल आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट्स म्यानेजमेन्टले दोस्रो संस्करणको लागि तयार रहेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ।

एनएसएलका निर्देशक श्रेयान्स कार्कीले भने, ” ब्यवस्थापनका सबै खाले समस्याहरुलाई समाधान गर्दै हामी अहिले प्रतियोगिताका लागि तयार भएका छौं।”

प्रतियोगिता शुरु हुनु दुई दिन अगाडि मात्र गरिएको पत्रकार सम्मेलन गरिएपछि मात्र यसवर्ष प्रतियोगिता हुने निश्चित भएको हो।

यसअघि सहभागि टिमले पहिले देखि नै आफ्नो खेलाडीहरु सार्वजनिक गर्ने, जर्सी सार्वजनिक गर्ने देखि लिएर आफ्नो लक्ष्यका बारेमा बेग्लाबेग्लै कार्यक्रमको आयोजना गर्ने गर्दथ्यो।

तर यसपाली सहभागि टोलीहरु आयोजककले गरेको पत्रकार सम्मेलनमा मात्रै झुल्किए। त्यसमा पनि धनगढी एफसीका कोहीपनि प्रतिनिधि कार्यक्रममा उपस्थित भएनन्।

एनएसएलका निर्देशक कार्कीले थपे, ” एनएसएल अब ढुक्कले अगाडी वढ्छ। नेपाली फुटबलमा यसले बेग्लै स्वाद पस्किनेछ।”

उनले थपे, “एनएसएलको उदेश्य नेपाली फुटबललाई एउटा उचाईमा पुर्याउनु हो। अर्को उदेश्य भनेको नेपालमा भएका ब्यापारिक घरानालाई फुटबल तर्फ आकर्षित गर्नु हो। हामीलाई विश्वास छ, हामी आफ्नो उदेश्यमा पुग्नेछौं। ”

९ टोली विचको प्रतिस्पर्धा

काठमाडौं रेजर्सका मार्की खेलाडी हिसुब थपलिया (बाँया) र प्रशिक्षक बालगोपाल महर्जन आफ्नो टोलीबारे जानकारी गराउँदै। तस्विर: उज्वल डंगोल

प्रतियोगितामा ९ टोली सहभागि छन्। दशरथ रंगशालामा पौष १४ सम्म चल्ने प्रतियोगितामा कुल ४० खेल हुनेछन्।

बुधवार पत्रकार सम्मेलनमा धनगढी एफसी बाहेक बाँकी ८ टोलीका प्रशिक्षक र मार्की खेलाडीले आफ्नो क्लबको तयारी बारे जानकारी दिएका थिए।

प्रत्येक क्लबले ६ जना विदेशी अनुवन्धन गर्न पाउने र त्यसमा ५ खेलाडीलाई एकैपटक मैदानमा उतार्न पाउने नियम बनाएकोले यसले प्रतिस्पर्धाको स्तर माथि हुने आयोजकको विश्वास छ। दर्शकहरुले यसबाट बेग्लै मज्जा प्राप्त गर्ने हुनाले दर्शकहरुलाई रंगशालामा आएर फुटबल हेरिदिन निर्देशक कार्कीले बताए।

सामान्य प्यारापिटमा २०० र भीआपी प्यारापिटको टिकट मुल्य ५०० राखिएको छ।

प्रतियोगिताको इन्टरटेनमेन्ट पार्टनर लर्डस अफ ड्रिन्क्स(एलओडी) रहेको छ भने मेडिकल पार्टनर नर्भिक अस्पताल छ। त्यस्तै टेलिभिजन र ब्रोडकास्टिङ राईट्स हिमालयन टिभी एचडीलाई दिएको छ । नेपाली फुटबलमा पहिलो पटक चियर लिडरको पनि व्यवस्था गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार इङ्लिस क्लब चेल्सी तथा आइभोरी कोस्टाका पूर्व फरवार्ड डिडियर ड्रोग्बाले प्रतियोगिताका दौरान नेपाल आउनेछन्।

निर्देशक कार्कीले भने, ” उनले वाचा गरिसकेका छन्। सुहाँउदो मिति पाउना साथ हामी ड्रोग्वालाई नेपालमा स्वागत गर्नेछौं। “

प्रकाशित मिति: November 23, 2023

कमेन्ट गर्नुहोस्

advertisment