विश्वकप छनोट: नेपाली पोस्टमा यमनको दुई सुन्दर गोल

विश्वकप छनोट: नेपाली पोस्टमा यमनको दुई सुन्दर गोल यमन विरुद्ध बल अगाडि वढाउने क्रममा नेपाली खेलाडी( रातो जर्सी ) तस्विर: उज्जोल डंगोल
0Shares

काठमाडौं, मंसिर ५ गते

घरेलु मैदानमा दर्शकको अपेक्षा विपरित फिक्का खेल पस्केको राष्ट्रिय फुटबल टोलीले यमन संग २० को नमिठो पराजय भोगेको छ।

फिफा विश्वकप र एएफसी एसिया कपको प्रारम्भिक संयुक्त छनोट अन्तर्गत नेपालले दोस्रो चरणमा मंगलवार यमनसंग खेलेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १३ हजार भन्दा वढी दर्शक सामू यमनका दुई वैकल्पिक खेलाडीद्धय ओमार अब्दुल्ला अल दाही र मोहम्मद अब्दुल्ला अल दाहीले नेपाल विरुद्ध दुई उत्कृष्ट गोल गरेका थिए।

नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले  आफ्ना खेलाडीहरुले राम्रो खेल्न नसकेको स्विकारे।

उनले भने, ‘हाम्रो खेल सोचे जस्तो भएन। शुरुआत देखि नै केटाहरुले राम्रो गर्न सकेनन्। ’

यद्यपी उनले आफ्नो बचाउ गर्दै पोस्ट म्याच प्रेस कन्फ्रेन्समा भने, ” मैले पहिलो रोजाईका लागि जहिले फरक फरक खेलाडी रोज्नु परिरहेको छ। राष्ट्रिय टोलीमा त स्थायी खेलाडीहरु चाहिन्छ नी। त्यो मैले पाइरहेको छैन। ”

दुबै गोल दोस्रो हाफमा भएको थियो। विश्वकप छनोटमा नेपालको यो लगातार दोस्रो हार हो। गत बिहीबार युएईले नेपालमाथि ४–० को सहज जित हासिल गरेको थियो।

हारसँगै समूह ‘एच’ मा रहेको नेपाल अंक विहिन छ र टोलीको तेस्रो चरणमा पुग्ने सम्भावना खतरामा परेको छ।

यमनको भने यो पहिलो जित हो। पहिलो खेलमा यमन बहराइनसँग २–० ले पराजित भएको थियो। आजै बहराइनलाई १–० ले हराएसँगै युएईले स्पष्ट ६ अंक बनाएको छ।

नेपाली खेलाडीहरुले खेलको शुरुआतमा आक्रामक खेल्दै केही अवसरहरु बनाएका थिए।

खेलको चौथो मिनेटमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् । मिडफिल्डर दीनेश हेन्जनको क्रसमा पेनाल्टी बक्सभित्र निगरानीमा नरहेका रक्षक आशिष चौधरीले गरेको हेडर यमनका गोलकिपर अब्दुल्ला अल सादीले नियन्त्रण गर्न खोज्दा बल गोलमा परिणत भएको थियो।

तर नेपाली स्ट्राइकर जिलेस्पीजंग कार्कीले विपक्षी गोलकिपरलाई छोएपछि उक्त गोल  फाउलमा परिणत हुनपुग्यो।

घरेल दर्शकका माझ पहिलो हाफमा यमन अलिक दवावमा देखिएको थियो।

५६ औं मिनेटमा नेपाली प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले दीनेशको ठाउँमा अर्का फरवार्ड हिसुब थपलियालाई ल्याए।

मैदान प्रवेश गरेको पाँच मिनेटमै हिसुबले वान भर्सेस वानमा गोल गर्न सकेनन्। त्यसको बदलामा ७३ औं मिनेटमा ओमारले उत्कृष्ट गोल गर्दै यमनलाई अग्रता दिलाए।

चार नेपाली खेलाडीलाई छक्याउँदै उनले दोस्रो बार च्यापेर हानेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

दोस्रो गोल ९० औं मिनेटमा भएको थियो। मोहम्मदले मैदान प्रवेश गरेको पाँच मिनेटपछि गोलकिपर किरण अगाडि वढेको मौकामा फ्लिक गोल गरेका हुन्।

यसै खेलमार्फत फरवार्ड राजेश परियारले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरे । राजेशले खेलको ७९ औं मिनेटमा अञ्जन विष्टलाई प्रतिस्थापन गरेका थिए । विश्वकप छनोटको दोस्रो चरणमा अन्तर्राष्ट्रिय डेब्युको अवसर पाउने राजेश चौंथो खेलाडी हुन् ।

 

प्रकाशित मिति: November 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment