सकसपूर्ण खेलमा ब्राजिललाई हरायो अर्जेन्टिनाले

सकसपूर्ण खेलमा ब्राजिललाई हरायो अर्जेन्टिनाले
0Shares

रियो डे जेनेरियो, एजेन्सी, मंसिर ६ गते

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटको एउटा तनावपूर्ण खेलमा अर्जेन्टिनाले घरेलु टोली ब्राजिललाई १–० ले हराएको छ।

विश्वकप छनोटमा अर्जेन्टिनाको यो पाँचौं जित हो र टोली तालिकाको शीर्ष स्थानमा छ।

खेलको ६३औं मिनेटमा रक्षक निकोलास ओटामेन्डीको गोलमा अर्जेन्टिनाले अग्रता बनाएको थियो । उनले जिओभानी लो सेल्सोको कर्नर बलमा हेड गोल गरेका हुन् ।

यसअघि दुबै टोलीका समर्थकबीच हानाहान हुँदा खेल आधा घण्टा ढिला सुरू भएको थियो । भ्रमणकारी टोलीका समर्थकलाई प्रहरीले कुटेको भन्दै अर्जेन्टिना खेलाडीले मैदान छाडेका थिए । दुई पक्षको झडप साम्यपार्न पुलिसले लाठी चार्ज गर्नुपरेको थियो ।

दोस्रो हाफमा घरेलु टोली ब्राजिलले गोलका धेरै अवसर बनाएपनि सदुपयोग गर्न सकेन । केही राम्रो प्रहार अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले बचाएका थिए ।

एन्जल डि मारियालाई स्थान दिँदै मेसी ७८औं मिनेटमा मैदान छाडेका थिए । मैदान भित्रसमेत खेल तनापूर्ण स्थितिमा रह्यो । खेलको ८१औं मिनेटमा ब्राजिल १० खेलाडीमा सिमित भयो । ब्राजिलका जोइलिन्टनले सिधै रातो कार्ड पाए ।

खेलभर घरेलु टोली ब्राजिलले २५ र अर्जेन्टिनाले १३ फाउल गरेका थिए । ब्राजिलले एक रातो सहित तीन पहेँलो कार्ड पायो । अर्जेन्टिनाले २३ फ्रिकिक पाएको थियो ।

जितपछि अर्जेन्टिना ६ खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौं स्थानमा रह्यो । १३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ।

प्रकाशित मिति: November 22, 2023

कमेन्ट गर्नुहोस्

advertisment