‘कहिल्यै नबिर्सिइने’ ग्लेन म्याक्सवेलको दोहोरो शतक

‘कहिल्यै नबिर्सिइने’ ग्लेन म्याक्सवेलको दोहोरो शतक
0Shares

एजेन्सी, मंसिर ७ गते

“ओडीआईमा यो अहिलेसम्मकै सबैभन्दा महान् प्रदर्शन हो, यसमा कुनै शङ्कै छैन,” माइकल भन भन्छन्।

त्यस्तो टिप्पणीभन्दा केही अघि मात्र ग्लेन म्याक्सवेलले दशौँ छक्का प्रहार गरेर दोहोरो शतक (डबल सेन्चुरी) पूरा गरेका थिए।

अफगानिस्तानविरुद्धको यस्तो विस्मयकारी प्रदर्शन गरेर जित हासिल गरेपछि अस्ट्रेलिया विश्वकप प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

बीबीसीको कार्यक्रममा बोल्दै इङ्ल्याण्डको टोलीका भूतपूर्व कप्तान माइकल भन भन्छन्, “मानिसहरूले यो खेलको यो इनिङ्सलाई नै हालसम्मकै सबैभन्दा उत्कृष्ट भन्नेछन्।”

“मैले यस्तो खेल यसअघि कहिल्यै देखेको थिइनँ। अस्ट्रेलियाले यो खेल जित्ने कुनै सम्भावना नै देखिएको थिएन।”

भूतपूर्व भारतीय क्रिकेटर मोहम्मद कैफले पनि अस्ट्रेलिया र अफगानिस्तानबीचको उक्त रोमाञ्चक खेल सकिनेबित्तिकै (पहिले ट्विटर भनिने) सामाजिक सञ्जाल एक्समा ग्लेन म्याक्सवेलको तारिफ गर्दै भने, “म ४० वर्षको भएँ तर कसैले छैठौँ नम्बरमा आएर २०० रनको अविजित स्कोर बनाएको कहिल्यै देखेको थिइनँ। वानखेडे रङ्गशाला र यहाँ उपस्थित दर्शकले यो खेललाई कहिल्यै बिर्सने छैनन्।”

मङ्गलवार भारतको वानखेडे रङ्गशालामा भएको खेलमा जितको लागि २९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले चार विकेटको क्षतिमा जम्मा ४९ रन बनाउन सकेको अवस्थामा म्याक्सवेल मैदान प्रवेश गरेका थिए। र अफगानिस्तानका अजमतुल्लाह ओमरजाइको ह्याट्रिक बलको सामना गरेर उनी बल्लतल्ल जोगिन सकेका थिए।

उत्तम कौशल

खेल अघि बढ्दै जाँदा अस्ट्रेलिया सात विकेट गुमाएर ९१ रनको अवस्थामा खुम्चियो। २४ र ३३ रनको अवस्थामा म्याक्सवेल दुई पटक ड्रप भएर जोगिए। २७ रनमा उनी मैदान छाडेर बाहिरिनै लागेका थिए तर उनीविरुद्धको एलबीडब्ल्यू अपील रिभ्यू गर्दा त्यो मान्य नठहरिएपछि उनी फेरि जोगिएका थिए।

मुजिबुर रहमानले दोस्रो क्याच छाडेको समयपछि न त अफगानिस्तानका बलरहरूले न त ढाड र जिउ दुखेको समस्याले नै म्याक्सवेललाई रोक्न सके।

जितको लागि १०० रन आवश्यक परेको बेला नै उनी दौडनका लागि सङ्घर्ष गर्नुपर्ने भइसकेका थिए। त्यो लक्ष्य ७५ मा झर्दा उनी शट खेल्नलाई मुस्किलले खुट्टा चलाउन सक्ने अवस्थामा थिए।

तर त्यसले उनको खेललाई फरक पारेको देखिएन। उनले १२८ बलमा २०१ नटआउटको स्कोर बनाउँदा जसरी हात र आँखाको संयोजन मिलाएर सटिक बल-स्ट्राइक गरे, त्यो गत महिना उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा ४० बलमा सबैभन्दा छिटो सेन्चुरी बनाएको खेल कौशलभन्दा निकै उत्तम देखिएको थियो।

पाकिस्तानको खेल च्यानल ए स्पोर्ट्सको एक कार्यक्रममा खेलको समीक्षा गरेका पूर्वक्रिकेटर वासिम अकरमले खुट्टा बाउँडिएर गाह्रो हुँदा समेत त्यस्तो सानदार प्रदर्शन गर्नु चमत्कार नै हो भनेर तारिफ गरेका थिए।

चमत्कार

आफूलाई दिएको जितको लक्ष्य पछ्याउने क्रममा आफ्नो इनिङ्समा दोहोरो शतक प्रहार गर्ने प्रदर्शन यसअघि एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कसैले देखाएका थिएनन्। र त्यो नन-ओपनिङ ब्याटरले राखेको कीर्तिमानमा पनि पहिलो नै हो।

टिएमएस कार्यक्रमका कमेन्टेटर जेफ लेमनले पनि भने,” ग्लेन म्याक्सवेलले आज जे गरे, त्यो चमत्कार नै हो।”

उनले भने, “यो वान-म्यान शो रह्यो। एक्लो खेलाडीले मात्र खेल जित्न सक्दैन भन्ने गरिन्छ। आज हामीले देख्यौँ कसरी एकै खेलाडीले जित हासिल गराउन सक्छ, त्यसको लागि उसमा जुझारुपन हुनुपर्छ।”

म्याक्सवेलसँग जोडी बनाएर २०२ रनको अविजित स्कोरमा आफ्नै १२ रनको योगदान दिएका अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले त्यो खेललाई “अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट ओडीआई इनिङ्स” भनेर प्रशंसा गरे।

 

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment