सुपर ओभरको हार संगै नेपाल उपाधि विमुख

सुपर ओभरको हार संगै नेपाल उपाधि विमुख
0Shares

कार्तिक १९ गते, काठमाडौं

टी-२० विश्वकप एशिया छनोटको फाइनल खेल अन्तर्गत नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको छ।

यो प्रतियोगिताको उपविजेता बनेको नेपाल टी-२० विश्वकपमा छनोट भइसकेको छ।

प्रतिष्ठाको प्रतिस्पर्धाको रूपमा हेरिएको नेपाल र ओमानबीचको टी-२० विश्वकप एशिया छनोटको फाइनलले रोमाञ्चक मोड लिएको थियो।

निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १८४ रन जोडेपछि खेलको छिनोफानो सुपर ओभरमार्फत् भएको थियो।

सुपर ओभरमा ओमानले नेपाललाई २२ रनको लक्ष्य दिएको थियो। त्यस क्रममा नेपाली बलर अविनाश बोहोराले ३ छक्का खाएका थिए।

त्यसअघि १८५ रनको विशाल लक्ष्य नेपालले ओमानका सामु दिएको भए पनि आक्रामक ब्याटिङ गर्दै ओमानले उक्त लक्ष्य २० ओभरभित्रै भेटाउने सङ्केत देखाएको थियो।

अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएकोमा नेपाली बलर सन्दीप लामिछानेले २ विकेट लिए।

अन्तिम बलमा ओभर थ्रोका क्रममा ओमानका खेलाडीहरूले दुई रन जोड्ने प्रयास गरेपछि अर्का खेलाडी रन आउट भएका थिए। त्यसपछि खेल बराबरीमा परिणत भयो।

टी-२० मा नेपाल १५ औँ तथा ओमान १८औँ वरीयतामा छन्।

नेपालले २० ओभरको क्षतिमा ६ विकेट गुमाउँदै १८४ रन जोड्यो।

 

नेपालको ब्याटिङ

नेपालले पारिलो घाममा बढी रन जोडेर विपक्षीलाई दबावमा राख्ने रणनीतिका साथ टस जितेर ब्याटिङ रोजेको थियो।

किनकि लिग म्याचमा दोस्रो ब्याटिङ गर्दा ओमानका स्तरीय स्पिनरहरूसँग नेपाली ब्याटरहरूले खुलेर खेल्न सकेका थिएनन्।

यद्यपि नेपालले शुरूमा सोचेजति रन बटुल्न सकेन।

तेस्रो ओभरमा ओपनर आशिफ शेख ६ रन बनाएर आउट भए। बिलाल खानको बलमा उनी कश्यप प्रजापतिबाट शर्ट कभरमा समातिएका थिए।

कुशलको जीवनदान

त्यसपछि कुशल भुर्तेलले आक्रामक इनिङ खेले।

उनले २ छक्का र ३ चौका प्रहार गरी २२ बलमा ३१ रन जोडे।

७.१ ओभरमा अकिब इलियासको बलमा कुशलको क्याच मेहरनले लिएका थिए।

त्यसअघि पाँचौ ओभरमा कुशलले जीवनदान पाएका थिए। १८ रन बनाएर खेलिरहेका बेला फयाज खानको बलमा उनी प्वाइन्टमा रहेका आयान खानले फुत्काउन पुगेका थिए।

४.३ ओभरमा १४ रन बनाएर खेलिरहेको बेला कुशल भुर्तेलले जीवनदान पाए। उनलाई प्वाइन्टमा सजिलो क्याच छोड्न पुगेका थिए।

तेस्रो नम्बरमा पठाइएका सन्दीप जोराले अवसरको सदुपयोग गर्न सकेनन्।

त्यसअघि नै सन्दीप जोरा १० रन बनाएर आउट भइसकेका थिए भने १०औँ ओभरमा कुशल मल्ल पनि सस्तैमा आउट भए।

नौ बल खेलका उनले ३ रन मात्र जोड्न सके।

यो बेला नेपालले ४ विकेट गुमाइसकेको थियो भने ६० रनमात्र जोड्न सकेको थियो।

गुलशनको आक्रमण

त्यसपछि गुलशन झाले खेललाई नयाँ मोड दिए।

निकै आक्रामक देखिएका गुलशनले ५४ रनको शानदार अर्धशतकीय पारी खेले।

सो क्रममा उनले ५ चौका र ४ छक्का प्रहार गरे। यो उनको करिअरको पहिलो टी-२० अर्धशतक हो।

उनले कप्तान रोहित पौडेलसँग मिलेर पाँचौ विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए।

१७औँ ओभरमा उनी आउट हुँदा ६० रनबाट नेपालको स्कोर १३८ पुगिसकेको थियो।

रोहितको अर्धशतक

 

गुलशनलाई साथ दिइरहेका कप्तान रोहित पौडेलले गुलशन आउट भएपछि भने आक्रमण रूप लिएका थिए।

गुलशन पछि आएका विवेक यादव सफल भएनन्। उनी ३ बल खेलेर १ रन बनएर आउट भएका थिए।

खेलको अन्त्यसम्म टिकेका रोहितले भने ५२ रनको अविजित पारी खेले। यो उनको पाँचौ टी-२० आई अर्धशतक हो। रोहितले ५ चौका र २ छक्का हानेका थिए।

रोहितलाई साथ दिएका करण केसी पनि आफ्नै भूमिकामा न्याय गरे। अन्तिम ओभरमा उनले फयाद बटलाई २ छक्का र एक चौका प्रहार गरेका थिए।

करणले ६ बलमा २० रन बनाए। अन्तिम ओभरमा बयातले २३ रन खान पुगेका थिए।

ओमानको आक्रामक शुरूआत

विशाल रनको लक्ष्य पाएको ओमान शुरूदेखि नै आक्रामक देखियो।

सोमपाल कामीले ओपनर प्रतीक अथाभालेलाई तेस्रो ओभरमा एलबीडब्लुको शिकार बनाएका थिए।

तर त्यसपछि कश्यप प्रजापतिले आक्रामक इनिङ खेल्दै स्कोरबोर्डमा रन बढाए।

उनले पाँचौ ओभरमा सोमपाल कामीलाई ३ छक्का तथा अर्को ओभरमा कुशल मल्ललाई २ छक्का प्रहार गरेका थिए।

उनले अकिब इलियाससँग मिलेर दोस्रो विकेटका लागि ६७ रनको शानदार साझेदारी गरेका थिए।

अकिबलाई गुलशन झाले १०औँ ओभरमा आउट गरेर यो जोडी तोडेका थिए। अकिबले १९ बलमा ३३ रन बनाएर आउट भए।

सन्दीप जोराले उनको प्वाइन्टमा क्याच लिएका थिए।

खेलमा ओमानको पकड बलियो बनिरहेको थियो।

त्यसपछि कप्तान जिशन मकशुदले पनि रन गति बढाए। १५.२ ओभरमा विवेक यादवले जिशन(२६ रन) को विकेट लिन सफल भए।

यो बेला टोलीको १३६ रन बनिसकेको थियो।

अविनाश र करणको महत्त्वपूर्ण विकेट

नेपाललाई खेलमा फर्काउने काम अविनाश बोहोराले गरे।

६३ रन बनाएर खेलमा जमिरहेका कश्यप प्रजापतिलाई उनले १६.५ ओभरमा आउट गरे। कप्तान रोहितले दिप स्व्वायर लेगमा रनिङ क्याच लिएका थिए।

यतिबेला ओमानलाई १८ बलमा ३८ रन रन चाहिएको थियो।

१८औँ ओभरमा करणले २ महत्त्वपूर्ण विकेट लिएर नेपाललाई जित तिर दोहोर्‍याउने काम गरेका हुन्।

उनले ओभरको पहिलो बलमा नसिम खुशी र चौथो बलमा मेहरुम खानलाई आउट गराए। तर उनले सोही ओभरमा १८ रन खर्चिएका थिए।

रोमाञ्चक अन्तिम ओभर

अन्तिम ओभरमा जितका लागि ओमानलाई ८ रन चाहिएको थियो।

त्यसलाई रोक्न सन्दीप लामिछाने बलिङमा आए। उनले पहिलो बलमा १ रन दिए।

तर दोस्रो बलमा आयान खान र तेस्रो बलमा सकिल अहमदलाई आउट गराएपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो।

चौथो बलमा उनले १ रन दिए। तर पाँचौ बल चौका भयो। रोहितले छक्का भइसकेको बललाई मुश्किलले जोगाएका थिए।

अन्तिम बलमा एक रन दिएपछि खेल टाई हुन पुग्यो।

विजयी दोस्रो रनका लागि दौडिँदा नदिम रन आउट हुन पुगेका थिए।

सुपर ओभर

सुपर ओभरमा बलिङको जिम्मा ‘डेथ ओभर स्पेशलिस्ट’ अविनाश बोहोरालाई दिइयो।

तर उनले तीन छक्का खाएपछि ओमानले २१ रन जोड्यो।

बोहोराले हरेक एक बलपछि छक्का खान पुगेका थिए।

पहिलो बल १ रन, दोस्रो बल डट, तेस्रो बलमा छक्का, चौथो बल डट, पाँचौ बल वाइड र डट तथा छैटौँ बलमा छक्का खाए।

२२ रनको लक्ष्य पाएको नेपालले भने लक्ष्य पूरा गर्न सकेन।

नेपालले मात्र ६ रन बनाउन सक्यो। ओमानका बिलाल खानले उत्कृष्ट बलिङ गरे।

ब्याटिङमा गएका कुशल भुर्तेल पहिलो बलमा आउट भए।

त्यसपछि आएका कुशल मल्लले दोस्रो बल डट खेले भने तेस्रो बलमा १ रन मात्र जोडेपछि नेपाल उपाधिबाट टाढा भयो।

चौथो बलमा गुलशन झाले १ रन बनाए।

अनि पाँचौ र छैटौँ बलमा कुशलले २ चौका प्रहार गरेपछि ओमानका खेलाडीहरू मैदानमा खुशी मनाउन दौडिएका थिए।

 

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment