एक दशकपछि नेपाल टी-२० विश्वकपमा

एक दशकपछि नेपाल टी-२० विश्वकपमा
0Shares

टी-२० विश्वकप एशिया छनोटको सेमिफाइनल खेलमा नेपालले चिरप्रतिद्वन्द्वी यूएईलाई आठ विकेटले हराएको छ। यससँगै नेपाल विश्वकपमा छनोट भएको छ।

दश वर्षको पर्खाइपछि राष्ट्रिय क्रिकेट टोली विश्वकपमा पुगेको हो। अब नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा सहभागी हुनेछ।

यसअघि सन् २०१४ मा पारस खड्का नेतृत्वको नेपाली टोलीले पहिलो पटक बाङ्ग्लादेशमा विश्वकप खेलेको थियो।

शुक्रवारै भएको अर्को सेमिफाइनल खेलमा ओमानले बहराइनलाई १० विकेटले हराएर फाइनल पुगेको छ। अब फाइनलमा नेपाल र ओमानको पुनः भेट हुनेछ।

टस हारेको नेपालले पहिले फिल्डिङ गर्दै स्तरीय बलिङ प्रस्तुत गर्‍यो र विपक्षीलाई १३४ रनमा रोक्न सफल भयो।

मुलपानी मैदानमा ब्याटिङमा अभ्यस्त बन्न बाँकी यूएईका खेलाडीहरूलाई सोमपाल कामी, कुशल मल्ल र सन्दीप लामिछानेले ठूलो स्कोर बनाउनबाट रोकेका थिए।

जबाफमा नेपालले रनको लागि हतारो गरेन र निकै धैर्यपूर्ण ब्याटिङ गर्दे टोलीलाई जिततिर डोहोर्‍यायो।

नेपालले १७.१ ओभरमा दुई खेलाडी गुमाउँदै १३५ रन बनायो। त्यसका लागि आशिफ शेखको अर्शधतकीय पारी महत्त्वपूर्ण रह्यो।

आशिफको ब्याटिङ

नेपालको जितका लागित आशिफ शेखको अर्शधतकीय पारी महत्त्वपूर्ण रह्यो।

पहिलो ओभरदेखि ब्याटिङ गर्न आएका ओपनर आशिफ शेखले नेपाललाई नजिताएसम्म मैदान छोडेनन्।

आफ्नो पार्टनर कुशल भुर्तेल तेस्रो ओभरमा ११ रन बनाएर आउट भएपछि आशिफ क्रिजमा निकै होसियार रहँदै खेलमा डटिरहे।

कुल ५० बल खेलेका उनी ६३ रनमा अविजित रहे, जसमा छ चौका र दुई छक्का छ।

विजयी दुई रन बटुलेपछि उनले मैदानमा घोप्टिएर प्रार्थना गरेका थिए।

गुलशन झा २२ रनमा आउट भएपछि कप्तान रोहित पौडेल आए।

रोहित र आशिफले अविजित रही खेल जिताए। रोहितले २१ बलमा ३५ रन बटुले।

नेपाली ब्याटरको विशेषता के रह्यो भने कुनै पनि खेलाडीहरूले खराब बल खेलेनन्, कुनै ठूलो शट खेल्ने जोखिम पनि उठाएनन्। अनि आरामसँग खेललाई जिततर्फ लगे।

आजको लागि टिममा समावेश गरिएका घाइते खेलाडी दीपेन्द्र सिंह ऐरीको पालो नै आएन।

यूएईसँग बदला

कुशल मल्लले नेपालको ब्याटिङ इनिङ्स सुरु गरे पनि उनले धेरै रन लिन सकेनन्

यो जित धेरै अर्थले नेपालको लागि महत्त्वपूर्ण थियो।

विश्वकपको गत संस्करणको छनोट प्रतियोगितामा नेपाल सेमिफाइनलमा यूएईसँगै पराजित भएर विश्वकप पुग्न विमुख भएको थियो।

यसै प्रतियोगिताअगाडि खेलिएको त्रिकोणात्मक शृङ्खलामा पनि नेपाल यूएईसँग पराजित हुन पुगेको थियो।

त्यसैले सेमिफाइनल भिडन्त निकै प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण हुने ठानिएको थियो।

तर नेपालले मुलपानीमा यूएईलाई पराजित गर्न निकै परिपक्व क्रिकेट खेल्यो।

दुई राम्रा निर्णय

मुलपानी क्रिकेट मैदान नेपाली फ्यानहरूले भरिएको थियो

प्रशिक्षक मोन्टी देशाईका दुई निर्णय शुक्रवार सफल बने।

तेस्रो खेलाडीका रूपमा कहिले कुशल मल्ल त कहिले सोमपाल कामीलाई खेलाइरहेका उनले शुक्रवारको महत्त्वपूर्ण खेलमा गुलशन झालाई पठाएका थिए।

गुलशनले त्यसमा न्याय गर्दे आशिफ शेखसँग मिलेर दोस्रो विकेटका लागि ४१ रनको महत्त्वपूर्ण साझेदारी गरे। यसले नेपालका लागि जितको आधार खडा गर्‍यो।

अर्को राम्रो निर्णय कुशल मल्ललाई अन्तिम ओभरमा बलिङ गर्न दिनु थियो।

यसअघि करण केसीले अन्तिम ओभरमा बढी रन खाइरहेको अवस्थामा आज ल्याइएका कुशल मल्लले चार रन दिएर दुई विकेट लिएका थिए। अर्को एक विकेट रन आउटमा आएको थियो।

नेपालको कसिलो बलिङ

चौथो ओभरमा सोमपाल कामीले विकेट लिएपछि यूएईको विकेट पतन सुरु भएको थियो

नेपालले चौथो ओभरबाट विकेट लिन सुरु गरेको थियो। उक्त ओभरमा सोमपाल कामीले दुई विकेट लिए।

ओभरको पहिलो बलमा सोमपाल आफैँले खालिद शाहलाई रन आउट गरे। चौथो बल भने ठूलो विकेट थियो।

जारी प्रतियोगितामा उच्च फर्ममा रहेका यूएईका कप्तान मोहम्मद वसिमलाई उनले करण केसीको लङ अनमा क्याच आउट गराए।

वसिमले १६ बलमा तीन चौका र दुई छक्का प्रहार गरी २६ रन बनाए।

दुई खेलाडी आउट भएपछि बृत्य अरविन्द र आशिफ खानको जोडीले यूएईको इनिङ्स सम्हाल्दै रन बटुल्न थाले।

तेस्रो विकेटका लागि उनीहरूले ३२ रनको साझेदारी गरिसकेका थिए। यो जोडीलाई सन्दीप लामिछानेले तोडे।

उनले आशिफलाई १० औँ ओभरको अन्तिम बलमा एलबीडब्ल्यूको धरापमा पारेका थिए।

अर्को विकेट १३.४ ओभरमा आयो। बाँयाहाते स्पिनर कुशल मल्लले अलिशान सराफु (१६ रन) लाई लङ अफमा क्याच गराए।

त्यसपछि १६ औँ ओभरमा कामचलाउ अफ-स्पिनर कप्तान रोहित आफैँ बलिङ गर्न आए। र पहिलो ओभरमा सफल पनि भए।

उनले अलि नासिर (४ रन)लाई कुशल भुर्तेलबाट क्याच गराए।

उक्त ओभरको खेल सकिँदा १०० रन मात्र जोडेको यूएई त्यसपछि आक्रामक बन्यो। त्यसपछिको ओभरमा वृत्य अरविन्दले दुई छक्का सहित १८ रन जोडे।

तर अर्को ओभरमा सन्दीप लामिछानेले बसिल हमादलाई आउट गरी रनको गति रोक्ने काम गरे।

कुशलको बलिङ

पहिलो इनिङ्समा कुशल मल्लले नेपालका लागि तीन विकेट लिए

पहिलो इनिङ्सको अन्तिम ओभरमा कुशल मल्लले नेपालका लागि उक्त इनिङ्सलाई खास बनाए।

जारी प्रतियोगितामा अन्तिम ओभरमा नियमित बलिङ गर्दै आएका करण केसीले रन धेरै खाएपछि शुक्रवार कुशललाई त्यो ओभर दिइएको थियो।

त्यसलाई सफल बनाउँदै कुशलले रन आउट सहित तीन विकेट लिए।

पहिलो बलमा उनले यूएईका जमेका खेलाडी बृत्य अरविन्दको विकेट लिए भने तेस्रो बलमा आयान खानलाई आउट गरे।

बृत्यले ५१ बलमा ६४ रन बनाए।

अन्तिम बलमा भने जुनैद सिद्धिकी रन आउट भए।

कुशलले अलिशान सराफुको विकेटसहित कुल तीन विकेट लिए।

सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र रोहित पौडेलले एक-एक विकेट लिएका थिए।

 

प्रकाशित मिति: November 21, 2023

कमेन्ट गर्नुहोस्

advertisment