भारत-पाकिस्तानका स्टारहरूसँग घुलमिल्दा

भारत-पाकिस्तानका स्टारहरूसँग घुलमिल्दा
0Shares

“जब म ड्रेसिङ रुममा पुगेँ, मैले त विराट कोहली बाहेक अरू कोही देख्दै देखिन्” ठट्यौली पारामा नेपाली स्टार सोमपाल कामीले भने, ” किनकि म बच्चै देखि विराटको फ्यान थिएँ।”

एसिया कपमा भारत सँग प्रतिस्पर्धा गरे लगत्तै नेपाली खेलाडीहरू भारतीय खेलाडीहरूलाई भेट्न उनीहरूको ड्रेसिङ रुममा पुगेको थियो।

त्यहाँ सोमपालले विराटलाई भेटेका हुन्। उनले विराटसँग १० मिनेट जति कुरा गर्ने मौका पाए। आफ्नो जुत्तामा विराटको अटोग्राफ लिए।

सो बेलाको चर्चा गर्दै उनी भन्छन्, ” नर्भस भएँ। त्यतिखेर मलाई महसुस भयो की मलाई भेट्न आउने फ्यानहरूको हात किन काँप्दो रहेछ।”

जुत्तामा अटोग्राफ लिएको बारेमा उनले भने, ” त्यो जुत्ता मलाई एक जना फ्यानले अस्ट्रेलियाबाट उपहार दिएको थियो। त्यो जुत्ता मेरोलागि विशेष थियो, त्यसलाई मैले झन् विशेष बनाएँ।”

एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर र त्यहाँका स्टार खेलाडीहरूलाई भेटेर फर्किएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूमा सोमपालकै जस्तै एउटा मिश्रित भाव देखिन्थ्यो।

भारत र पाकिस्तानसँग खेल्दा मैदान भित्र र मैदान बाहिरका कयौँ दृश्यहरू खेलाडीहरूको लागि बिर्सन नसक्ने क्षण बनेको छ। जुन उनीहरूले मिडिया सामु बाँडिरहेका थिए।

नेपाली टोलीका अलराउन्डर करण केसीले भारतीय खेलाडीहरूलाई भेटेको क्षणलाई सम्झिँदै भन्छन्, – “आफूले तस्बिरमा साँचेका हिरोहरू एकसाथ एकै ठाउँमा देख्दा त सुरुमा अनौठो नै लाग्यो। सुरुमा के कुरा गर्ने भन्नेमा नै अलमल भयौँ नी।”

भारत पाकिस्तानका खेलाडीहरूको अटोग्राफ लिइरहेका, सँगै खिचेका फोटोहरू सामाजिक सञ्जालमा राखेका दृश्यहरूले पनि नेपाली खेलाडीहरू कति रमाए भन्ने अनुमान लगाउन सकिन्थ्यो।

आखिर नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चाले देखि नै ‘भारत पाकिस्तानसँग कहिले खेल्छ होला है ? ‘भन्ने जिज्ञासा २७ वर्ष पछि पूरा भएको थियो।

जसलाई खेलाडीहरूले खेलेर, भेटेर अनि समर्थकहरूले उनीहरूसँग एकै मैदानमा खेलेको हेरेर भरपुर स्वाद लिएका हुन्।

संस्कार

नेपाली राष्ट्रिय टोलीले यति धेरै फरक महसुस गर्नुको कारण नेपाली क्रिकेटको एसियाली क्रिकेट सँग जोडिँदै आएको पुरानो संस्कार पनि हो।

त्यसमा पनि सीमा जोडिएको छिमेकी देश भारतीय क्रिकेट सँगको अन्योन्याश्रित सम्बन्ध विशेष रह्यो।

टेस्ट राष्ट्र अस्ट्रेलियासँग खेल्दा त्यो भाव आउँदैन थियो होला न इङल्याण्डसंग खेल्दा नै।

नेपालले यसअघि पनि विश्व स्तरीय खेलाडीहरूसँग नखेलेको वा नभेटेको कहाँ हो र।

वेस्ट इन्डिजका खेलाडीहरू भेटिसके। लर्ड्समा पुगेर खेलिसके। फ्रेञ्चाइजी लिगमा पनि स्टार खेलाडीहरूसँगै लामो समय बिताइसके।

तर भारत र पाकिस्तानका खेलाडीहरू भेट्नुको महत्त्व नै अर्को। विषय ‘नजिकको सम्बन्ध’ को पनि हो।

हिजोका दिनमा नेपालका बा, बाजे पुस्ता रेडियोमा कमेन्ट्री हेरेर क्रिकेटका पारखी हुने गर्थे। उनीहरू रेडियोको आवाज सुनेर भावभङ्गी सहित छिमेकी देशको क्रिकेट खेलाडीहरूको चर्चा गर्न सक्थे।

अहिलेको युवा पुस्ताका खेलाडीहरूको पनि कतिपय भारतीय खेलाडीलाई आदर्श छन्।

ओपनर आशिफ शेखको मन पर्ने खेलाडी केएल राहुल हुन्। उनी यसपालि भारतीय टोलीमा थिएनन्। तर विराट कोहलीले राम्रोमा खेलेको भन्दै तक्मा लगाइदिएको झन उनलाई सम्झिन मन पर्छ।

उनी भन्छन् – “उनीहरू कति सहज रहेछन्। मलाई तक्मा लगाएर जिस्किँदै भने की क्याच मैले छोडेको हुँ, मलाई पनि तक्मा चाहिन्छ।”

भारतसँगको खेलको दोस्रो ओभरमा विराट कोहलीले आशिफको क्याच फुत्काउन पुगेका थिए। त्यसपछि उनले अर्ध शतक प्रहार गरेका हुन्।

गुलशन झालाई भारतीय खेलाडीहरूको सहजता खुब मनपर्यो। कति अनुशासित र व्यावसायिक। उनले मोहम्मद सामी सँग बलिङ टिप्स माग्न भ्याएछ।

सामीले भनेछन् -” स्टेज उही हो र क्षमता पनि उही नै हो। बढी भन्दा बढी खेल खेल्दै जाऊ। जति बलिङ गर्‍यो त्यति सबै सजिलो भएर आउनेछ। ”

नबिर्सिने क्षणहरू

ओपनर कुशल भुर्तेल पाकिस्तानी खेलाडीहरूसँग पहिले नै घुल मिल्न पाउँदा भारतसँग खेल्न सजिलो भएको अनुभव सुनाउँछन्।

उनी भन्छन् – ” पाकिस्तानसँग खेलेपछि धेरै सहज भयो। भारतसँग खेल्नु अगाडि कुनै डर भएन। क्यान्डीमा नेपाली समर्थकहरूले पनि राम्रो माहौल बनाइदियो।”

श्रीलङ्कामा भारतीय भन्दा बढी नेपाली समर्थकहरू खेल हेर्न पुगेका थिए।

नेपाली खेलाडीहरूले भारत र पाकिस्तानमा गरेको प्रदर्शनको बेग्लै कथा छ। दुवै राष्ट्रका खेलाडीहरूले गरेको माया को अनुभव अर्कै छ।

एसिया कप भ्रमणको सबैभन्दा स्मरणीय क्षणबारे कुशल भुर्तेल भन्छन्, ” पाकिस्तानका साहिन शाह अफ्रिदीलाई सुरुको दुई बलमा दुई चौका हान्नु मेरो लागि सबैभन्दा उत्कृष्ट क्षण हो।”

नेपाल र भारत दुवै टोलीका कप्तानको नाम ‘रोहित’ थियो।

यो समानतामा पनि कतिपय ठाउँमा चर्चा भयो।

“टस कसले जित्छ होला?” खेलको प्रत्यक्ष प्रसारणमा संलग्न एक कमेन्टेटरले भने – “पक्कै पनि रोहितले। तर थाहा छैन, कुन देशको रोहितले।”

रमाइलो कुरा के भयो भने खेलमा पनि रोहित पौडेलको क्याच रोहित शर्माले नै समातेका थिए।

नेपाली टोलीका कप्तान रोहित पौडेल भारत र पाकिस्तानको यात्रा हर दृष्टिकोणले अविस्मरणीय रहेको बताउँछन्।

उनको भनाई छ, – ” पाकिस्तानका बाबर आजम खेल अगाडि हामीलाई भेट्न आए। आगामी दिनमा कसरी राम्रो गर्न सकिन्छ भनेर धेरै सल्लाह दिए। भारतीय प्रशिक्षक राहुल द्रविड, कप्तान रोहितले धेरै हौसलाहरू दिए।”

समग्रमा भारत र पाकिस्तानका खेलाडी अनि विश्लेषकहरूले नेपालको प्रदर्शनको मुक्त कण्ठले प्रशंसा गरेका छन्।

करण केसी भन्छन्, ” एसिया कपले गर्दा विश्वले हामीलाई हेर्‍यो। नेपाली क्रिकेट राम्रो छ भन्ने कुरा हामीले विश्वलाई देखाउन सक्यौँ। अनि सबैको माया हौसला पाउन सक्यौँ। यो हाम्रो लागि अमूल्य छ।”

बीबीसी नेपाली सेवाबाट साभार

 

प्रकाशित मिति: September 11, 2023

कमेन्ट गर्नुहोस्

advertisment