ज्ञानेन्द्रको सन्न्यास: अप्रत्यासित तर होइन अस्वाभाविक

ज्ञानेन्द्रको सन्न्यास: अप्रत्यासित तर होइन अस्वाभाविक
0Shares

राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान तथा हालको टोलीका सबैभन्दा अनुभवी खेलाडी ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन्।

सन् २००५ यु १५ टोलीबाट राष्ट्रिय युवा टोलीमा ‘डेब्यू’ गरेका ज्ञानेन्द्रले सोही वर्ष यु १७ र यु १९ प्रतियोगिता खेलेका थिए।

अर्को वर्ष सन् २००६ मा इन्टर कन्टीनेन्टल कपबाट सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका मल्लले १७ वर्ष नियमित राष्ट्रिय टोलीका प्रमुख पात्रको रुपमा अहम् भूमिका निर्वाह गरे।

नेपाली राष्ट्रिय टोलीले इतिहासमा पहिलो पटक भारत र पाकिस्तानको सामना गर्ने तयारी गरिरहेको बेला ज्ञानेन्द्रले एउटा खेलाडीको रुपमा अब कहिल्यै मैदानमा नदेखिने घोषणा गरेका हुन्।

नेपाली क्रिकेट टोलीले आइसीसीको प्रतियोगिता डिभिजन-५ बाट खेल्दै ज्ञानेन्द्रले सन् २०१४ को विश्वकपमा खेले, सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) प्राप्त गर्ने टोलीको सदस्य रहे।

त्यसैगरी यसैबर्ष नेपालले ओडिआई मान्यता जोगाउने यात्राका क्रममा खेलिएको विश्वकप लिग २ मा पनि ज्ञानेन्द्रको भूमिका अहम् थियो।

सोही प्रतियोगिताको क्रममा ज्ञानेन्द्रले नामिविया विरुद्धको खेलमा दोस्रो विकेटका लागि आसिफ शेखसंग मिलेर १३९ रनको कीर्तिमानी साझेदारी गरेका थिए।

कीर्तिमानी ज्ञानेन्द्र

आफ्नो करिअरमा ज्ञानेन्द्रले ३७ एकदिवसीय खेलेर ८७६ रन बनाएका छन्। सो क्रममा उनले ७ वटा अर्धशतक प्रहार गरेका छन्। त्यस्तै उनले ४५ टी २० खेल्दै ८८३ रन जोडेका छन्।

सन् २०१४ को विश्वकपमा नेपालले पहिलो टी २० खेल्दाका सदस्य हुन् ज्ञानेन्द्र नेपालले सन् २०१८ मा पहिलो एकदिवसीय खेल्दामा पनि प्रमुख खेलाडी थिए।

ज्ञानेन्द्रले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भुटान विरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए।

एकदिवसीयमा उनको अन्तिम खेल गत महिना भएको विश्वकप ग्लोबल छनोटमा आयरल्याण्ड विरुद्धको रह्यो।

पारस खड्का सन् २००९ मा कप्तान हुंदा ज्ञानेन्द्र उपकप्तान चुनिएका थिए। पारसले २ वर्ष अगाडि सन्न्यासको घोषणा गरेपछि ज्ञानेन्द्रले कप्तानीको जिम्मा पाए।

संयोग के भने आजै कै दिन पारसले सन्न्यासको घोषणा गरेका थिए। ज्ञानेन्द्रले पनि सन्न्यासका लागि त्यहि दिन रोजेका हुन्।

 

 

 

प्रकाशित मिति: August 5, 2023

कमेन्ट गर्नुहोस्

advertisment