अमेरिकामा मेसीको जादू निरन्तर

अमेरिकामा मेसीको जादू निरन्तर
0Shares

मियामी, श्रावण १८ गते

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको जादु अमेरिकामा जारी रहेपछि उनको टोली इन्टर मियामी मेजर सकर लिग क्लब लिग कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार बिहान भएको खेलमा मेसीको २ गोल सहित मियामीले ओर्लान्डो एससीलाई ३–१ ले पराजित गर्यो। अन्तिम १६ मा मियामीले एफसी डलास र माजाट्लान एफसी मध्ये एकसँग खेल्नेछ।

मियामी गए यता मेसीले ३ खेलमा ५ गोल गरिसकेका छन्। मेसीले डेब्यु खेलमा क्रुज अजुलविरुद्ध अन्तिम समयमा विजयी फ्रि किक गोल गरेका थिए। त्यस्तै दोस्रो खेलमा एट्लान्टा युनाइटेडविरुद्ध दुई गोल गरेका थिए।

ओर्लान्डोविरुद्ध खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै रक्षक जोर्डी अल्वाले पनि डेब्यु गरे । यो सँगै स्पेनिस महारथी बार्सिलोनाका तीन खेलाडी मियामीमा पुनर्मिलन भएका छन् । अल्बा र बुस्क्वेट अघिल्लो सिजन बार्सिलाना छाडेका थिए ।

घरेलु मैदान डिभिआर पिएनमा मियामीलाई जित दिलाउन मेसीले दुई गोल गर्दा जोसेफ मार्टिनेजले एक गोल थपे । सेजार अरौजोले ओर्लान्डोको लागि एक गोल फर्काएका हुन् ।

पहिलो हाफमा दुबैले एक एक गोलको बराबरी खेल्दा मियामीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । सातौं मिनेटमै मेसीले मियामीलाई अग्रता दिलाएका हुन् । रोबर्ट टेलरले मिलाएको बललाई सिक्स यार्ड बक्समा नियन्त्रण लिँदै अनमार्क मेसीले सहज गोल गर्न सफल भएका थिए ।

अरौजोले १७औं मिनेटमा बराबरी गोल गरे । तर, पाएको पेनाल्टी सदुयोग गर्दै मार्टिनेजले ५१औं मिनेटमा २–१ को अग्रता दिलाएका हुन् । मेसीले ७२औं मिनेटमा टेलरकै पास सदुपयोग गर्दै पेनाल्टी क्षेत्रबाट सहज गोल गरेका थिए ।

 

प्रकाशित मिति: August 3, 2023

कमेन्ट गर्नुहोस्

advertisment