ऐरीको टोलीको पहिलो हार

ऐरीको टोलीको पहिलो हार
0Shares

काठमाडौं । श्रावण १० गते

क्यानाडामा सञ्चालन भइरहेको फ्रेञ्चाइजी क्रिकेट ग्लोबल टी-२० मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टोली  मोन्ट्रियल टाइगर्सले पहिलो हार भोगेको छ।

पछिल्लो दुई खेल लगातार जितेको मोन्ट्रियल विहिवार ब्राम्पटन वुल्भ्ससँग १५ रनले पराजित हुन पुग्यो।

जितसँगै चार खेलमा सात अंक जोडेको वुल्भ्स शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्यहोरेको मोन्टरिएल समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा झरेको छ ।

ब्राम्पटनले पेश गरेको १ सय ४४ रनको लक्ष्य पछ्याएको मोन्ट्रियल १९.१ ओभरमा १ सय २८ रनमात्र जोड्न सक्यो। मोन्ट्रियलका लागि दीपेन्द्रले २४ बलमा दुई चौकाको मद्दतमा २८ रन बनाए।

यसैगरी  सकिब अल हसनले २८, दिलप्रीत सिंहले २४ र शेर्फेन रदरफोर्डले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । ​

वुल्भ्सका लागि लोगानभान बिकले तीन तथा कोलिन डि ग्रान्डहोम र शहीद अहमदजाइले समान दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वुल्भ्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रनको योगफल तयार पारेको थियो । वुल्भ्सका लागि कोलिन डि ग्रान्डहोमले ४० बलमा ७ चौका र १ छक्काको मद्दतमा ५६, उस्मान खानले ३३ र मार्क च्यापम्यानले २१ रन बनाए।

मोन्ट्रियलका लागि आयन अफ्जल खान, कार्लोस ब्रार्थवेटले समान चार तथा अब्बास अफ्रिदी र सकिब अल हसनले समान एक विकेट लिए । दीपेन्द्रले  दुई ओभरमा बिना विकेट २० रन खर्चिए।

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment