क्रिकेट: श्रीलंकाको ब्लूमफिल्डसँग नेपाल पराजित

क्रिकेट: श्रीलंकाको ब्लूमफिल्डसँग नेपाल पराजित
0Shares

काठमाडौं, श्रावण १० गते

एसिया कपको तयारीको लागि श्रीलंकामा अभ्यास गरिरहेको नेपाली क्रिकेट टोलीले बुधवार खेलेको  पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग ६ विकेटले पराजित भएको छ ।

सोमपाल कामीको कप्तानीमा उत्रिएको नेपालले  ब्लूमफिल्डकै मैदानमा टस जितेर ब्याटिङ गर्दै ४३.४ ओभरमा १९७ रन मात्र बनाउन सक्यो।

जवाफमा ब्लूमफिल्डले २४.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।

नेपालका लागि ओपनर अर्जुन साउद बाहेक कुनैपनि ब्याटरको प्रदर्शन सन्तोषजनक रहेन । साउदले १ सय १३ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए ।

प्रशिक्षक मोन्टी देशाइले देव खनाल र विकेटकिपर अर्जुन साउदलाई ओपनिङमा खेलाएका थिए।

ओपनर देव खनाल ३४ बलमा २२ रन बनाए । पहिलो विकेटका लागि देव खनाल र अर्जुन साउदले ३८ रनको साझेदारी बनाएका थिए । तेस्रो क्रममा आएका बाँया हाते ब्याटर गुल्सन झाले अर्जुनसँग ३७ रनको साझेदारी बनाए । उनले २५ बलमा ९ रन मात्रै जोडे ।

सन्दीप जोरा २७ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भए  । त्यसपछिका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुशल मल्ल ३, पवन सरार्फ १०, सोमपाल कामी ११, प्रतिश जि.सी १६ र करण केसी ११ रनमा आउट भए ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए ।

अर्को तर्फ ब्लूमफिल्डका लागि हसिता बोयागोडाले ५३ बलमा ७ चौका र ७ छक्कासहित ९० रनको आक्रमक इनिङ खेले । उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भए ।

ओपनर सानदुन विराकोडी २२ बलमा ५ चौका र १ छक्कासहित ३१ र असिथा वानिनायाके १ रनमा आउट भए । अशान फेनान्डो ५४ बलमा ६ चौका र २ छक्कासहित ५६ रनमा अविजित रहे ।

नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए।

नेपालले दोस्रो अभ्यास खेल शुक्रबार तमिल युनियनसँग खेल्ने भएको छ । दोस्रो खेल पी सारा ओभरलमा नै हुनेछ ।

 

प्रकाशित मिति: July 27, 2023

कमेन्ट गर्नुहोस्

advertisment