एसिया कप तयारी: तीब्र गतिको बलको सामना गर्नु नेपालको चुनौती

एसिया कप तयारी: तीब्र गतिको बलको सामना गर्नु नेपालको चुनौती
0Shares

श्रावण ८ गते

टेस्ट खेल्ने राष्ट्र (आइसीसीको पूर्ण सदस्यता प्राप्त) र नखेल्ने राष्ट्रका खेलाडीहरूको बिचमा ‘स्तरको स्पष्ट भिन्नता’ हुने गर्छ। त्यही भिन्नताले नै क्रिकेट राष्ट्रहरूको वर्ग छुट्टिने हो।

दुई महिनापछि श्रीलंका र पाकिस्तानमा हुने ‘एसिया कप’ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको चुनौती यही दुरी मेटाउनु हुनेछ।

त्यहाँ नेपालले भारत र पाकिस्तानको सामना गर्दै छ।

क्रिकेट विश्लेषकहरू भन्छन् – ” नेपाली क्रिकेट टोलीले २७ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्राको क्रममा यो अहिलेसम्मकै कठिन चुनौतीको सामना हुनेछ।”

छनक

त्यो चुनौती कतिको गाहो हुन सक्छ भन्ने छनक नेपालले भर्खरै भारत र पाकिस्तानको दोस्रो दर्जाको टोलीहरू सँग खेल्दा नै महसुस गरिसकेको छ।

श्रीलंकामा भएको एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ सँग खेल्दा नेपालले १० ओभर भित्र ६ विकेट गुमाइसकेको थियो।

भारत ‘ए’ सँग पनि नेपालको हालत उस्तै उस्तै जस्तो देखिएको थियो।

अब त नेपालले सामना गर्ने भनेको विराट कोहली र बाबर आजम जस्ता खेलाडीको ब्याटिङ तथा जसप्रित बुमरा र साहिन अफ्रिदीको बलिङसँग हो।

यी चुनौतीहरुलाई कम्तीमा ‘साहसिक र अविस्मरणीय’ प्रदर्शनमा परिणत गर्न नेपालले के कस्ता पक्षमा सुधार गर्नुपर्ला ?

कमजोरी

नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक भन्छन् – ” एउटा शारीरिक र अर्को मानसिक तयारी हो। ”

नेपाली टोलीमा कमजोर शारीरिक क्षमता देखिएको छ।

अनि विपक्षीको तीव्र गतिको बलिङको सामना गर्न नसक्नु नेपालको मुख्य कमजोरी साबित भइसकेको छ।

नेपालले विगतमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यति तीव्र गतिका बलरहरूलाई कमै मात्र झेलेको देखिन्छ।

पाकिस्तानी साहिन अफ्रिदीको तीव्र गतिको उच्च नाप १५१ किलोमिटर प्रतिघण्टाको छ, जुन सन् २०२१ मा न्युजील्यान्ड विरुद्धको आइसीसी टी-२० विश्वकपका बेला नापिएको थियो।

जसप्रित बुमराको गति त झन् १५३.३६ किमी प्रति घण्टा छ।

प्रतियोगिताको दौरान विपक्षी टोलीले कमजोरी मै प्रहार गर्ने हो। कसैलाई माया गरेर खेल्दैनन्।

शारीरिक क्षमतामा पनि नेपाल कमजोर देखिएको छ। प्राय: युवा अनि होचा कदका खेलाडीहरूको बाहुल्यता रहेको नेपाली टोलीको यो कमजोरी इमर्जिङ टिम्स एसिया कपमा पनि प्रस्ट देखिएको थियो।

मानसिक कमजोरी अर्को कमजोर पाटोको रूपमा देखिएको छ।

इमर्जिङ टिम्स कपमा फिल्डिङका बेला सहज क्याचहरू छोड्दा नेपाली खेलाडीहरूले मानसिक कमजोरी झल्किएको देखिएको थियो।

त्रिभुवन विश्वविद्यालयका खेलकुद मनोविज्ञानका प्रोफेसर रामकृष्ण महर्जन भन्छन् -“हामी सबल र सक्षम छौं भन्ने आत्मबललाई बलियो बनाइ रहन सके खेलाडीहरूले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन्”।

 

तीव्र गतिको सामना

सुरुका तीव्र गतिका बलहरूको सामना गर्न सके मात्र खेलाडीहरूले स्पिनरको सामना गर्ने पाउनेछन्।

त्यति बेलासम्म खेलाडीहरू टिक्छ की टिक्दैनन् डर कतिपय क्रिकेट प्रेमीहरूलाई छ।

खेल पत्रकार देवेन्द्र सुवेदी भन्छन् – ” जिम्बाब्वे र वेष्ट इन्डिजसंग खेलेको प्रदर्शन दोहोर्‍याउने हो भने पनि टेस्ट राष्ट्र सँगको खाडल कम गर्न सकिन्छ। ”

यद्यपि अन्तर्राष्ट्रिय एक्सपोजरको हिसाबमा नेपाली खेलाडीहरू कमजोर भने होइन। सोमपाल कामीले इमर्जिङ टिम्स कपमा त्यो कुरा प्रमाणित गरिसकेका छन्।

सो प्रतियोगितामा नेपालले भारत र पाकिस्तान ए सँग किन सुरुमा ब्याटिङ लियो भन्ने थुप्रैलाई कौतुहलता देखिएको थियो।

आइसीसी अम्पायर समेत रहेका सुवेदी भन्छन् – ” अब पाकिस्तान र भारतसँग खेल्नुपर्ने हुनाले नयाँ पिचमा नयाँ बलमा खेलाडीहरू कसरी खेल्छन् भनेर नै ब्याटिङ रोजिएको हुनुपर्छ। किनकि दोस्रो इनिङमा बलिङ गर्दा पिचमा त्यो धार बाँकी रहन्न। ”

अब के ?

“बढी भन्दा बढी तयारी नै एक मात्र उपाय हो।”- क्यानका कार्यवाहक सचिव पाठक भन्छन्।

त्यसको पहिलो पाइलाको रूपमा खेलाडीहरूलाई श्रीलंकामा नै दुई हप्ता ‘हाई पर्फर्मेन्स क्याम्प’ तयारीको व्यवस्था गरिएको छ।

इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंका पुगेको टोलीलाई क्यानको अनुरोधमा श्रीलंकन क्रिकेट बोर्डले उक्त व्यवस्था मिलाएको र दुई हप्ताको बिचमा श्रीलंकाको राम्रो टोलीसँग ४ वटा तयारी प्रतिस्पर्धा हुने क्यानले जनाएको छ।

श्रीलंकाबाट फर्केपछि खेलाडीहरूको प्रशिक्षणको अभियान झन् तीव्र बनाउने क्यानको योजना रहेको छ।

कार्यवाहक सचिव पाठक भन्छन् -“हामीले टोलीलाई पाकिस्तानलाई नै लाने योजनामा काम गरिरहेका छौं। विशेष गरी तीव्र गतिको बलरहरुसंगको तयारीको लागि। ”

एसिया कप पाकिस्तान र श्रीलंकामा हुनेछ । नेपालले  पाकिस्तान सँग भदौ १३ गते पाकिस्तानको मुल्तानमा र भारत सँग श्रीलंकाको केन्डीमा भदौ १८ गते खेल्नेछ।

अर्को समूहमा बाँग्लादेश, श्रीलंका र अफगानिस्तान छ।

 

प्रकाशित मिति: July 24, 2023

कमेन्ट गर्नुहोस्

advertisment