एसीसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल सेमिफाइनलमा
0Shares

काठमाडौं, बैशाख ३ गते

नेपाली फिल्डरहरुले देखाएको चुस्त फिल्डिङ र बलिङ तथा आक्रामक ब्याटिङको मदतमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज सोमवार एउटा रोमाञ्चक खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको छ।

आजै भएको समुह ए को अर्को खेलमा कतारले मलेसियालाई पराजित गरेपछि नेपाल लिगको एक खेल खेल्नु अगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसिया र कतारपछि नेपालको यो लगातार तेस्रो जित हो। हारसंगै हङकङको सेमिफाइनल यात्रा भने कठिन बनेको छ।

वर्षाको कारण खेल शुरु हुन ढिला हुंदा खेल १८ ओभरमा झारिएको थियो।

अल अमेरत क्रिकेटको ग्राउन्ड नम्वर एकमा टस जितेर फिल्डिङ रोजेको नेपालले हङकङलाई एक बल खेल्नु अगाडि अलआउट गर्दै ११४ रनमा रोकेको थियो।

जवाफमा नेपालले १२.२ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

दुई उत्कृष्ट रन आउट

नेपालको फिल्डिङ शुरुआतदेखि नै उत्कृष्ट देखिएको थियो।

विशेषगरी शुरुआतमा दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई उत्कृष्ट रन आउट गर्यो, जसले हङकङका ब्याटरहरुलाई दवावमा राख्ने काम गर्यो।

खेलको तेस्रो ओभरमा करण केसीले मार्टिन कोइट्जको विकेट लिंदै नेपाली बलरहरुले विकेट लिन थालेका थिए।

पाँचौ ओभरमा हङकङका भरपर्दा खेलाडी निजाकत खान (१२ रन ) लाई दीपेन्द्रले निकै गाह्रो एंगलमा उत्कृष्ट ‘डाइरेक्ट हिट’ गरेका थिए।

त्यस्तै नवौं ओभरमा अंशु रथलाई गुलशन झाले गरेको ‘डाइरेक्ट हिट’ अर्को दर्शनीय रनआउट थियो। अंशुले त्यतिबेला २६ बलमा ३४ रन बनाएर खेलिरहेका थिए।

यी दुई खेलाडी आउट भएपछि हङकङको इनिङ धरमराउन पुग्यो। बाँकी खेलाडीहरुले नियन्त्रित भएर खेल्न सकेनन्। फलत: एक समय ६१-२ को बलियो स्थितिमा रहेको हङकङ १३.१ ओभरमा ७६-६ को खराब स्थितिमा पुगिसकेको थियो।

ललित नारायण राजवंशी र अविनाश बोहोराले विपक्षीको मध्यक्रमलाई ध्वस्त बनाइदिए। अविनाशले ३ तथा ललित नारायणले २ विकेट लिए।

आक्रामक ब्याटिङ

कुशल भुर्तेल र आशिफ शेखको प्रारम्भिक जोडिले आक्रामक शूरुआत गरेपछि नेपालले पाएको सामान्य लक्ष्य छिट्टै पूरा गर्यो।

पहिलो विकेटका लागी यी जोडीले छैटौं ओभर भित्र ७० रनको साझेदारी गरेका थिए।

कुशलले १९ बलमा २ छक्का र ३ चौकाको मदतमा ३२ रन बनाए भने आशिफले १८ बलमा ४० रन जोड्दा ३ चौका र ३ छक्का ठोकेका थिए।

सातौं ओभर भित्र यी दुई खेलाडी आउट भएपछि आएका कप्तान रोहित पौडेलले ‍अविजित २५  तथा सन्दीप जोराले १९ रन बनाएर खेल जिताए।

नेपाल र हङकङले विगतमा खेलेको ९ टी-२० आई खेलमा भेट भएको छ। जसमा दुवैले समान ४/४ खेलमा विजयी भएका थिए भने एक खेल वर्षाको कारण रद्द हुन पुगेको थियो।

एसीसी प्रिमियर कपमा १० टोली सहभागी छन्। ५/५ टोलीलाई दुई समुहमा बाँडिएको छ, जसमा प्रत्येक समुहको शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेता एसिया कपमा छनोट हुनेछन्।

 

प्रकाशित मिति: April 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment