नयाँ वर्षको नेपाली क्रिकेटको स्वादिलो विजय

 नयाँ वर्षको नेपाली क्रिकेटको स्वादिलो विजय
0Shares

काठमाडौं, बैशाख १ गते

शुक्रवार एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय टोलीले वर्ष २०८० को विदाई गरेको थियो।

आज शनिवार कतारलाई ३२ रनले पराजित गर्दै टोलीले २०८१ साल नयाँ वर्षको सुखद शुरुआत गरेको छ।

दीपेन्द्र सिंह ऐरीले एकै ओभरमा बनाएको ६ छक्काको कीर्तिमान प्रेरित नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २१० रन जोड्यो।

जवाफमा कतार ब्याटरहरुले ९ विकेटको क्षतिमा १७८ रनमा सीमित हुनपुग्यो।

जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको नेपाल एसीसी प्रिमियर कपको ‘डिफेन्डिङ च्याम्पियन’ टोली हो।

यसवर्ष पनि उपाधी जोगाउँदै नेपाल एसिया कपमा छनोट हुने योजनामा छ।

एसीसी प्रिमियर कपको विजेता टोली एसिया कपमा छनोट हुनेछ।

ऐरीको कीर्तिमानी ६ छक्का

शनिवारको खेल दीपेन्द्र सिंह ऐरीको नाममा रह्यो। उनले फेरी अर्को नयाँ कीर्तिमान रचे।

कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्न सक्नुलाई दूर्लभ मानिन्छ। एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीले त्यस्तै दूर्लभ कारनामा गरे।

र उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाए। यो संगै दीपेन्द्र टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

यसअघि भारतका युवराज सिंहले २००७ को टी–२० विश्वकपमा इंग्ल्यान्ड विरुद्ध एकै ओभर ६ बलमा छक्का ठोकेका थिए भने वेस्ट इन्डिजका किरन पोलार्डले सन् २०२१ मा श्रीलंका विरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एकदिवसिय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले २००७ को विश्वकपमा नेदरल्यान्ड्स विरुद्धको खेलमा उक्त कीर्तिमान बनाएका थिए।

त्यस्तै अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एकदिवसीयमा उक्त कीर्तिमान बनाएको छ। खेलको अन्तिम ओभरमा उनले कतारका बलर कमरान खानको बलमा यस्तो कमालको ब्याटिङ गरेका हुन्।

लक्की आसिफ

आजको खेलमा दीपेन्द्र सिंह ऐरीको धमाकेदार ब्याटिङ बाहेक सम्झना लायक विषय भनेको  कतारको कमजोर फिल्डिङ र त्यसमा भाग्यमानी बनेका नेपाली ओपनर आशिफ शेख रहे।

खेल ४ ओभर पुग्दा उनले तीन पटक जीवनदान पाएका थिए। दोस्रो ओभरमा ३ रनमा खेलिरहंदा उनी सामान्य क्याच समातिनबाट जोगिएका थिए।

चौथो ओभरको पहिलो बलमा उनी क्याच आउट भए। तर भाग्यवश त्यो नो बल बन्दा उनी जोगिन पुगे। त्यसको दुई बल पछि उनी फेरी कभरमा उनको क्याच छुट्यो र त्यो बल चौका हुन पुग्यो।

त्यसको सजायँ स्वरुप आशिफले कतारी बलर विरुद्ध ४१ बलमा ५२ रनको अर्धशतकिय पारी खेले। नेपालबाट आक्रामक खेल भने शनिवार कुशल मल्लले खेले।

१८ बल मात्र खेलेका कुशलले आफ्नो परम्परागत छक्का हान्ने शैलीलाई निरन्तरता दिंदै ३ छक्का र २ चौका प्रहार गरेका थिए।

जवाफमा आएको कतारले कुनै पनि बेला लक्ष्य पछ्याउन सक्ने प्रदर्शन गर्न सकेन। विशाल लक्ष्य पछ्याउन आएको कतारका खेलाडीहरु शुरुआत देखि नै धरासायी हुन पुगेका थिए। कतारी कप्तान तनविर मोहम्मदले ३३ बलमा ६३ रन बनाउनु नै कतारको हेर्नलायक प्रदर्शन थियो।

नेपालका गुशलन झा, दीपेन्द्र ऐरी र ललितनारायण राजवंशीले २/२ तथा कुशल मल्ल र अविनाश बोहोराले १/१ लिएपछि कतारको इनिङ सस्तैमा समेटिन पुग्यो।

 

 

 

 

प्रकाशित मिति: April 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment