नेपालको उपाधि जोगाउने यात्रा मलेसियाको जितबाट

नेपालको उपाधि जोगाउने यात्रा मलेसियाको जितबाट
0Shares

काठमाडौं, चैत्र ३० गते

नेपालले गत वर्ष घरेलु मैदान कीर्तिपुरमा युएईलाई फाइनलमा पराजित गरेर ‘एसिया कप’ मा छनोट भएको इतिहास नेपाली समर्थकले बिर्सेका छैनन्।

त्यही इतिहास दोहोर्‍याउने अभियानमा ओमान पुगेको राष्ट्रिय क्रिकेट टोलीले ‘एसीसी प्रिमियर कप’ क्रिकेटको सुरुआत मलेसिया विरुद्ध जित हात पार्दै गरेको छ।

टस जितेर ब्याटिङ रोजेको मलेसियालाई नेपालले ३ विकेटको क्षतिमा १४३ रनको स्कोरमा रोक्यो।

जवाफमा नेपाल ४ बल खेल्नु अगाडि ५ विकेट गुमाउँदै प्राप्त गर्यो।

प्रिमियर कपको विजेता टोली टेस्ट राष्ट्र सम्मिलित एसिया कपमा छनोट हुने प्रावधान भएकोले प्रत्येक खेलको उतिकै महत्त्व छ।

नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन टोली हो।

कठिन जित

मलेसिया विरुद्ध नेपाली टोली हाबी हुने विगतको इतिहास पछ्याउँदै शुक्रवार पनि नेपाली खेलाडीहरू विपक्षीमाथि हाबी हुने ठानिएको थियो। तर खेल सोचिएको जस्तो सहज भने हुन सकेन।

प्रारम्भिक जोडी कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४९ रनको दरिलो साझेदारी गर्दै नेपालको जितको आधार तय गरेका थिए।

भुर्तेल आठौँ ओभरमा २४ रन बनाएर पवनदिप सिंहबाट एलबीडब्लुको सिकार भए भने आशिफ शेख १२ औँ ओभरको पहिलो बलमा ३२ रन बनाएर आउट भए।

 

त्यसपछि रन रेट सन्तुलन बनाउने क्रममा ठूलो शट खेल्ने क्रममा कुशल मल्ल ७ रनमा आउट भए।

अझ १७ औं ओभरमा विरनदीप सिंहले कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीको विकेट लिएपछि नेपाली टोली दवावमा आएको देखियो।

रोहित २८ रन तथा दीपेन्द्र २० रनमा आउट हुन पुगेका थिए।

यस्तोमा गुलशन झाले नायकको भूमिका खेल्दै टोलीलाई विजय लक्ष्य तिर दोहोर्याउन सफल भए। उनले २ छक्का र १ चौका हान्दै टोलीलाई जिताए।

कसिलो बलिङ

अल अमेरत क्रिकेट मैदानमा मलेसियाले नेपाललाई चुनौती दिन सक्ने स्कोर बनाउन सकेको देखिएन।

ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाका ब्याटरहरु नेपाली स्पिनरहरू सामना गर्न असफल देखिएका थिए।

मलेसियाको तर्फबाट कप्तान विरनदिप सिंहले प्रभावकारी प्रदर्शन गर्न सकेका थिए। उनले ५५ बल खेल्दै सर्वाधिक ७२ रन बनाएका थिए।

अविजित इनिङ खेल्ने क्रममा विरनदीपले ३ चौका र ४ छक्का प्रहार गरेका थिए।

उनी पछि शर्भिन मुनियन्डीले ३३ बलमा ४१ रन जोडेका थिए। जसलाई अविनाश बोहोराले बोल्ड गरेका थिए।

स्पिनर दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १४ रन मात्र दिएर २ विकेट लिँदै कसिलो बलिङ गरेका थिए।

उनलाई सोमपाल कामी, ललित नारायण राजवंशी र अविनाश बोहोराले राम्रो साथ दिएका थिए।

विकेट बचेको भए पनि मलेसियाका खेलाडीहरूले त्यसको फाइदा उठाउन सकेनन्।

अनिल बेन्चमा

नेपालका प्रशिक्षक मोन्टी देशाईले एसीसी प्रिमियर कममा उत्कृष्ट ११ टोली उतार्ने बताए अनुसार अनिल शाहलाई बेन्चमा राख्दै टिम बनाएको छ।

शाह सँगै प्रतिश जिसी र विवेक यादव पनि टोलीमा छैनन्।

ओमान जानु अगाडि नेपालले भारतमा एउटा मैत्रीपूर्ण प्रतियोगिता खेलेको थियो।

उक्त प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी नभएको भन्दै केही आलोचना भए पनि ओमानको गर्मीको मौसमसँग मिल्दोजुल्दो वातावरण भएकोले भारत भ्रमण उचित मानिएको थियो।

१० एसोसियट राष्ट्र सम्मिलित जारी प्रतिस्पर्धामा टोलीलाई २ समूहमा विभाजन गरिएको छ, जहाँ दुई समूहबाट आएका शीर्ष दुई टोली सेमिफाइनलमा भिड्नेछन्।

नेपाल रहेको समूह ‘ए’ मा हङकङ, कतार र साउदी अरेबिया छन्।

त्यस्तै समूह ‘बी’ मा युएई, कुवेत, ओमान, बहराइन र क्याम्बोडिया रहेका छन्।

 

 

प्रकाशित मिति: April 16, 2024

कमेन्ट गर्नुहोस्

advertisment