नतिशा र संगिता सेमिफाइनलमा

नतिशा र संगिता सेमिफाइनलमा
0Shares

काठमाडौं, चैत १५ गते

लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गरे ।

महिला ५४ केजीमा गण्डकी प्रदेशकी सोनिया बडुवालले सुदूरपश्चिम प्रदेशकी निर्मला ऐडी तथा नेपाल आर्मीकी लालुमाया खत्री क्षेत्रीले एपीएफकी नाङजा बुढा मगरलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । महिला ५७ केजीमा लुम्बिनीकी ललिता बस्नेतले गण्डकीकी दिक्षा राईलाई पाखा लगाउदै सेमिफाइनलमा पुगिन् । सोही तौलसमूहमा कोशी प्रदेशकी नारिका राई पनि सेमिफाइनलमा पुग्न सफल भइन् ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ६० केजीमा बागमती प्रदेशकी नतिशा राना मगरले कर्णालीकी तुलसी भण्डारी तथा एपीएफकी संगिता सुनारले नेपाल प्रहरीकी लक्ष्मी घर्ती मगरलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए ।

महिला ६६ केजीमा सुदूरपश्चिमकी सन्जिता चौधरीले बागमतीकी तृष्ना गुरुङ र एपीएफकी विनिता थापा मगरले कोशीकी नुमा सावाडेन तथा ७५ केजीमा लुम्बिनीकी जुनमाया थारुले गण्डकीकी जोशिका श्रेष्ठलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ७५ केजीमै आर्मीकी तृषा जबेगु पनि सेमिफाइनलमा पुगिन् ।

 

प्रकाशित मिति: March 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment