अवे खेलमा नेपालले खायो ३ गोल

अवे खेलमा नेपालले खायो ३ गोल
0Shares

काठमाडौं, चैत १४ गते

पहिलो खेलमा ५ -० ले पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोलीले अवेको रुपमा रहेको दोस्रो खेलमा भने घरेलु टोली बहराइनविरुद्धसंग ३-० ले पराजित भएको छ ।

फिफा विश्वकप एसिया छनोट अन्तर्गत बहराइन राष्ट्रिय रंगशालामा मंगलबार राती भएको खेलमा बहराइनले तीनवटै गोल खेलको पहिलो हाफमा गरेको थियो।

सायद महदी बाकेर, कप्तान अब्दुल्लाह युसुफ हेला र कमिल अल-अस्वादले गोल गरेका हुन्।

यो हारसंगै नेपालको विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने सम्भावना समाप्त भएको छ। यद्यपी नेपालको एसिया कप छनोटको तेस्रो चरणमा भने प्रतिस्पर्धा गर्न पाउनेछ।

दुई खेलको नतिजा पछि नेपालले फिफा विश्वकप एसिया छनोटमा अहिलेसम्म खेलेको चारवटै खेलमा पराजित भइसकेको छ। नेपाल समूह ‘एच’ को पुछारमा छ।

खेलको सातौं मिनेटमा बकेरको गोलमार्फत बहराइनले अग्रता लिएको थियो । नेपाली खेलाडीले कर्नरबाट आएको बललाई क्लियर गर्न नसकेपछि बाकेरको गोल गरे ।

हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फउल गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा कप्तान हेलाले सहजै गोल गरे ।

अल -अस्वादले ३६औं गोल गर्दै बहराइनलाई ३-० को अग्रता दिलाए । काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली रक्षकलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानको अवस्थामा गोल गरे ।

पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरेपनि सफल भएन । ७३औं मिनेटमा सन्जिब विष्टले गोल गरे पनि अफसाइड रहँदा त्यसले मान्यता पाएन ।

बिहीबार भएको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको थियो ।

यसअघि नेपालले युएईविरुद्ध ४-०, यमनविरुद्ध २-० को हार बेहोरेको थियो । युएई १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । यस्तै नौ अंक जोडेको बहराइन दोस्रो र यमन तीन अंकका साथ  तेस्रो छन् ।

यही खेलमार्फत रक्षक विशाल बस्नेतले डेब्यु गरेका छन् ।  उनी ८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।  ।

 

प्रकाशित मिति: March 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment