आयरल्यान्ड ए विरुद्ध पहिलो खेलमा नेपालको प्रभावकारी जित

आयरल्यान्ड ए विरुद्ध पहिलो खेलमा नेपालको प्रभावकारी जित
0Shares

काठमाडौं, चैत १२ गते

टेस्ट राष्ट्र आयरल्यान्डको ‘ए’ टोली र राष्ट्रिय क्रिकेट टोली विच सोमवार सम्पन्न पहिलो टी २० आई मा नेपालले ६ विकेटले विजयी भएको छ।

तीब्रगतीका बलर र स्पिनरहरुले पालैपालो विकेट लिएपछि कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्न आएको आयरल्यान्ड ‘ए’ लाई नेपालले २० ओभरमा १२१ रन मै रोक्यो।

जवाफमा नेपालले १६.१ ओभरमा चार खेलाडी गुमाउँदै लक्ष्य पूरा गर्यो।

सहजै जित्ने अनुमान विपरित आयरल्यान्ड ‘ए’ ले कसिलो बलिङ गरेपछि नेपालले एक समय ब्याटिङमा निकै संघर्ष गर्नु परेको थियो।

शुरुवाती जोडी आशिफ शेख र कुशल भुर्तेलले ३२ रनको पहिलो साझेदारी गरेपछि नेपाल सहज विजय तिर अग्रसर देखियो।

तर ३.२ ओभरमा आशिफ शेख १६ रन आउट भएपछि स्थिति केही अनियन्त्रित हुनपुग्यो। आसिफ आउटको २ बल पछि नै कप्तान रोहित पौडेल खाता खोल्न नपाई आउट भए। त्यसैमा गुलशन झा ४.५ ओभर आउट भए।

यसरी दुई ओभरमा तीन खेलाडी लगातार आउट भएपछि नेपाली टोली दवावमा परेको थियो।

तर ओपनर कुशल भुर्तेल र सन्दिप जोराले स्थितिलाई राम्ररी नियन्त्रण गर्दै चौथो विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गरेपछि नेपाली टोली जिततिर अग्रसर हुन पुगेको हो।

जोरा ३६ रन बनाएर आउट भएपछि दीपेन्द्र सिंह ऐरीले इनिङ सम्हाले।

भुर्तेलले ३७ र ऐरीले २० रन बनाएपछि नेपालले पहिलो दिन जित हात पार्न सफल भयो। नेपालले अर्को खेल भोली खेल्नेछ।

गएराती परेको हल्का वर्षाका कारण केही ओसिलो देखिएको कीर्तिपुर मैदानमा आयरल्यान्ड ए” का कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिनु टोलीको लागि घातक देखियो।

खेलको शुरुआत देखि नै नेपाली बलरहरु हावी देखिए।

खेलको दोस्रो बलमा नै करण केसीले रोस आदिरलाई बोल्ड गरिदिएका थिए। त्यसपछि लगातार जसो विकेट पतन भइरह्यो।

अर्का ओपनर स्टेफन दोहनीले एक्लैले नेपाली बलरहरुको सामना गरिरहे। १३.१ ओभरसम्म क्रिजमा एक्लै संघर्ष गरेका उनले ४६ रन बनाए।

मध्यक्रमका चार खेलाडीले दोहोरो अंक बनाउन नसकेपछि आयरल्यान्ड माथि दवाव वढेको थियो।

तीब्र गतीका गुलशन झाले २ खेलाडीलाई पवेलियन फर्काएपछि स्पिनहरु ललितनारायण राजवंशीले २ तथा कुशल मल्ल र कुशल भुर्तेलले विपक्षीको एक /एक विकेट लिँदै विपक्षीको स्कोर खुम्च्याउन भूमिका खेलेका थिए।

आयरल्यान्ड ‘ए’ बाट पछिल्लो क्रममा ब्याटिङ गर्न आएका लियम म्याकार्थी र थोमस मायसको १६/१६ रन तथा फियोन ह्यान्डको ११ रन स्टेफन पछिको उच्च स्कोर थियो।

 

प्रकाशित मिति: March 25, 2024

कमेन्ट गर्नुहोस्

advertisment