दीपक र सन्तोषीले जिते स्वर्ण पदक

दीपक र सन्तोषीले जिते स्वर्ण पदक
0Shares

काठमाडौं, चैत १० गते
नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा शनिबार स्वर्ण जितेका छन् । दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन् ।
एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे । साग स्वर्णधारी (५ हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोश्रो तथा पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेश्रो भए । आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खडकबहादुर खड्का पाँचौं स्थानमा रहे ।
साग स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्ड समय लगाइन् । १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल प्रहरीकी राममाया बुढा दोश्रो तथा १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेश्रो बने । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो तथा एपीएफकी फुलमती रानाले पाँचौं स्थानमा दौड टुंगाए । पुरुष÷महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाए ।
नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो । पाँचौं स्थानसम्म आउने खोलडीलाई निर्धारण गरिएको नगद पुरस्कार आर्मीका खेलाडीले हात पारे । मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । सञ्जय श्रेष्ठ (३१ मिनेट २४.१४ सेकेन्ड) दोश्रो तथा राजेन्द्र राई (३१ मिनेट ३४.३८ सेकेन्ड) तेश्रो भए । सुवास कार्की चौथो तथा श्रीकाश राई पाँचौं भए । पहिलोदेखि पाँचौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।
महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सृजना पाण्डेय पहिलो भइन् । प्रहरीकी राजपुरा पछाईं (२१ मिनेट ३८ सेकेन्ड) दोश्रो तथा आर्मीकी निर्मला केसी (२२ मिनेट ३० सेकेन्ड) तेश्रो बने । एपीएफकी आशा रावत चौथो तथा प्रहरीकी सुमित्राकुमारी चौधरी पाँचौ भए ।
विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुष ५ किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोश्रो, विकेश घिमिरे तेश्रो, कृष्ण परियार चौथो र आशेषकुमार क्षेत्री पाँचौं भए । विद्यालयतर्फ नै कक्षा १२ सम्मको महिला ३  किलोमिटरमा कल्पना बुढा, अस्मिता भुजेल, अमिशा राई, आयुष्मा आचार्य र सम्झना राई क्रमशः शीर्ष पाँच स्थानमा रहे ।
ह्व्लिचेयरको पुरुष ३ किलोमिटरमा रामकाजी मिजार प्रथम, रमेश खत्री द्वितीय, प्रेमबहादुर विक तृतीय, दीपक आले मगर चौथो र विष्णुपुकार श्रेष्ठ पाँचौं बने । सोही स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमालले स्वर्ण, यामी झाक्री मगरले रजत र रजनी राईले कांस्य जित्दा पेमा छोक्पा गुरुङ चौथो र बविता थापा पाँचौं स्थानमा रहे ।
महिला खुला ५ किलोमिटर, विद्यालयतर्फ पुरुष ५ किलोमिटर र पुरुष÷महिला ह्व्लिचेयरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार जिते । चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार हासिल गरे । विद्यालयतर्फ महिला ३ किलोमिटरमा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार हात पारे ।

प्रकाशित मिति: March 23, 2024

कमेन्ट गर्नुहोस्

advertisment