पलेशा गोवर्धन पेरिस प्यारालिम्पिकमा छनोट

रचिन् नयाँ इतिहास

पलेशा गोवर्धन पेरिस प्यारालिम्पिकमा छनोट
0Shares

काठमाडौं, चैत ४ गते

पारा खेलकुदमा एकपछि अर्को इतिहास रच्दै आएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले फेरी अर्को इतिहास रचेकी छिन्।

चीनको ताइयाङमा आइतबार भएको प्यारालिम्पिकको एसिया छनोटमा स्वर्ण पदक जित्दै उनी पेरिस प्यारालिम्पिकमा छनोट भएकी हुन्।

यो सँगै पलेशा ओलिम्पिकमा प्रतिस्पर्धा गरेर छानिने पहिलो नेपाली पारा खेलाडी बनेकी छिन्।

नेपाली खेलकुदमा सन् २००४ मा तेक्वान्दोकै संगिना वैद्य र सन् २००८ मा दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलिम्पिक खेलेका थिए।

पलेशाले हालै चीनमा सम्पन्न पारा एसियाली खेलकुदमा कांस्य पदक जित्दै पारा एसियालीमा पदक जित्ने पहिलो खेलाडी बनेकी थिइन्।

उनले गत टोकियो प्यारालिम्पिकमा पनि भाग लिएकी थिइन्। तर त्यो बेला उनी आयोजकले प्रदान गर्ने कोटा ‘वाइल्ड कार्ड’ मार्फत ओलिम्पिक पुगेकी थिइन्। 

पारा ओलम्पिकको एसियन छनोटमा पलेशाले के-४४ अन्तर्गत महिला ५७ केजी मुनी तौल समूहमा स्वर्ण जितेकी हुन्।

के – ४४ कुहिना भन्दा तलको भाग नभएका खेलाडीहरूको विधा हो। पलेशाको वाँया हात छैन।

पलेशाले सेमिफाइनलमा उज्बेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ को फराकिलो अन्तरले पराजित गरेकी थिइन्।

त्यसपछि फाइनलमा इरानकी लेल्ला मिर्जाईलाई प्रतिस्पर्धात्मक खेलमा ५-४ स्कोरले पराजित गरिन्।

एसियाबाट स्वर्ण विजेता खेलाडीले मात्र प्यारालिम्पिक छनोट हुने प्रावधान छ।

उनको सफलता बारे ओलिम्पियन तेक्वान्दो खेलाडी दीपक विष्टले भने,” यो नेपाली खेलकुदको अर्को सफलताको दिन हो। पलेशा निकै प्रतिभाशाली खेलाडी हुन्। मलाई विश्वास छ उनी ओलिम्पिकमा पनि पदक जित्न सक्छिन्। ”

 

प्रकाशित मिति: March 17, 2024

कमेन्ट गर्नुहोस्

advertisment