मनकारी गुरुङले दिए महिला टिमलाई १० लाख

मनकारी गुरुङले दिए महिला टिमलाई १० लाख
6Shares

काठमाडौं, चैत ३ गते
साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका छन् ।
साउदी अरेबियामा फागुन  १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट प्रभावित भएकोले महिला टोलीलाई १० लाख रुपैयाँ प्रदान गरेका हुन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) की केन्द्रीय सदस्य, एन्फा महिला संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की सदस्य पेमा डोल्मा लामालाई रकम उपलब्ध गराइ सकेका छन् ।
लामाले गुरुङकी श्रीमती उमाको उपस्थितिमा केहि दिनमा खेलाडीलाई रकम हस्तान्तरण गर्ने बताइन् । टोलीमा २३ खेलाडी रहेका छन् ।
जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ ले पराजित भएको थियो ।  निर्धारित समयको २–२ गोलको बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।
विगत १५ वर्षदेखि साउदीमा रहेका गुरुङले ५ वर्षदेखि साउदीको रियादमा लालीगुराँस नेपाली रेष्टुरेन्ट सन्चालन गर्दै आएका छन् ।
‘महिला टोलीले जसरी प्रतियोगिता खेल्यो त्यो स्तरीय थियो, हामी सबैले उहाँहरुको हौसला बढाउनु पर्दछ भन्ने ठान्दछु ।’ गुरुङले भने– ‘म यहाँ पनि अन्य सामाजिक काममा पनि संलग्न छु । महिला टोलीका खेलाडीलाई सहयोग गर्न पाउँदा खुसी छु ।’

प्रकाशित मिति: March 17, 2024

कमेन्ट गर्नुहोस्

advertisment