खुल्यो हिमालयन चेस एकेडेमी

खुल्यो हिमालयन चेस एकेडेमी
0Shares

काठमाडौं, चैत्र १ गते
युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको एक समारोहवीच थापाथली, काठमाडौंमा विहीबार उद्घाटन भएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा घिसिङले भने, ‘चेसको विकासको लागि निजी लगानीमा हिमालयन चेस एकेडेमी स्थापना हुनु सह्राहनीय छ । यस एकेडेमीले देशका लागि नाम राख्ने चेस खेलाडी उत्पादन गर्ने विश्वास गरेको छु । सानै उमेरमा बालबालिकालाई चेसको प्रशिक्षणले बौद्धिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने भएकाले यसतर्फ पनि एकेडेमेमीले नेतृत्व गर्नेछ ।’

२०३६, ०३७ र ०३९ का च्याम्पियन लामाले भने, ‘हाम्रो पालोमा चेस खेल्न र खेल सामाग्री जुटाउन पनि गाह्रो थियो । अहिले धेरै सजिलो भएको छ । एकेडेमी स्थापनाले चेसको सिकाईलाई थप सहज बनाउने छ । यस हिमालयन चेस एकेडेमीले उत्कृष्ट खेलाडी उत्पादन गर्ने अपेक्षा गरेको छु ।’ नेपालमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०३६ सालमा सुरु भएको थियो, जहाँ पुरुष खेलाडी मात्रै सहभागि भएका थिए । महिलातर्फ पहिलोपल्ट राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ सालमा आयोजना गरिएको थियो, जसको उपाधि मोनालिशा खम्बूले जितेकी थिइन् । उनले स्थापना गरेकी हुन्, हिमालयन चेस एकेडेमी ।
‘सबैले चेस खेल्न मिल्ने खालको लैंगिकमैत्री र सुरक्षित स्थल छैन, त्यससँगै अहिलेको पुस्तामा बौद्धिक ढंगले सोंच्नसक्ने संस्कृति विकास र अन्तर्राष्ट्रिय प्रतियोगितामा चुनौती दिनसक्ने नेपाली खेलाडी उत्पादनका लागि एकेडेमी स्थापना गरिएको हो,’ अध्यक्ष खम्बूले भनिन्, ‘कलिलै उमेरदेखि चेस सिक्दा बालबालिकामा बौद्धिक विकास, संज्ञात्मक विकास (कग्निटिभ डेभ्लोप्मेन्ट), धैर्य गर्नसक्ने क्षमताको विकास हुन्छ । त्यसैले हाम्रो लक्ष्य खेलाडी मात्रै उत्पादन गर्ने होइन, असल नागरिक बनाउने पनि हो ।’

एकेडेमीले फागुनदेखि शनिबार र आइतबार कक्षा सञ्चालन गरिसकेको छ । त्यसमा ५ देखि १३ वर्षसम्मका ३० जना बालबालिका रहेका छन् । फिडे मास्टर रिजेन्द्र राजभण्डारी मुख्य प्रशिक्षक रहेको एकेडेमीले बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी चार वटा कोर्स बनाएर प्रशिक्षण दिनेछ ।

एकेडेमीमा मोनालिशा खम्बू, रिजेन्द्र राजभण्डारी, याईशाष यासिर खम्बू, राष्ट्रिय च्याम्पियनहरू रुपेश जैयसवाल र सुजना लोहनी तथा मिसन दाहाल, सुदीप तामाङ, दीपेश गिरि, प्रमित अमात्य र आरती छत्कुली गरी १० जना प्रशिक्षक छन् ।

एकेडेमीको उदघाटन समारोहमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य अन्जन धमला, राष्ट्रिय च्याम्पियन भइसकेका विकासमान लामा, बद्रिलाल नेपाली, पुरुषोत्तम चौलागाईं, सिन्दिरा जोशी, सुजना लोहनी, नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, प्राध्यापक (प्रा.) प्रकाशचन्द्र लामा, नेपाल ओपन युनिभर्सिटीका पूर्वकार्यवाहक उपकुलपति प्रा.इन्द्रबहादुर कार्की, प्रा.लक्ष्मणकुमार रेग्मी, वरिष्ठ पत्रकारहरू सुधीर शर्मा, प्रशान्त अर्याल, राम रावल, गंगा बीसी, सुन्दर खनाललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: March 15, 2024

कमेन्ट गर्नुहोस्

advertisment