नेपाल लगातार दोस्रो त्रिकोणात्मक श्रृंखलामा पराजित

नेपाल लगातार दोस्रो त्रिकोणात्मक श्रृंखलामा पराजित
0Shares

काठमाडौै, फागुन ३० गते

कीर्तिपुर क्रिकेट मैदानमा नेदरल्यान्ड्ससंग टी-२० आईको फाइनलमा पराजित भएको एक हप्तापछि नेपालले हङकङ मेन्स टी-२० श्रृंखलाको उपाधि पनि गुमाएको छ।

वुधवार हङकङको मोङ कोकमा सम्पन्न फाइनलमा लगातार एकपछि अर्को विकेट गुमाएपछि नेपाललाई ८६ रनले हराउँदै पपुवा न्युगिनी (पीएनजी) ले श्रृंखला कब्जा गरेको हो।

पछिल्लो चारवटा टी- २० श्रृंखलामा नेपालसंग पराजित हुनुपरेको पीडाको पीएनजीले हङकङमा मिठो बदला लियो।

पीएनजीले टस हारेर पहिले ब्याटिङ गर्दै १७१ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो। जसलाई पछ्याउन आएको नेपाल ८५ रनमा अलआउट हुन पुग्यो।

नेपालले एकदिन अगाडि मात्र लिगमा पीएनजीलाई ८५ रनले हराएको थियो।

एकपछि अर्को विकेट   

आगामी जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने २० ओभरको विश्वकपको तयारी स्वरुप अहिले नेपाली टोली निरन्तर क्रिकेट खेलिरहेको छ।

हङकङको यो श्रृंखलाको निम्ति प्रशिक्षक मोन्टी देशाईले युवा खेलाडीहरुलाई धेरै मौका दिएको छ।

तर यो मौकाको फाइनलमा युवा खेलाडीहरुले सदुपयोग गरेको देखिएन।

भन्नैपर्दा नेपाली क्रिकेटको लामो समय पछि यो निकै खराब प्रदर्शन थियो।

नेपालका ७ खेलाडीले दोहोरो अंक छुन सकेन।

अनि कुनै पनि खेलाडीले जिम्मेवारी इनिङ खेलेको देखिएको थिएन।

विकेट झर्ने शुरुआत पहिलो ओभरको तेस्रो बलमा विनोद भण्डारीको बोल्डबाट भयो।

अनि यो क्रम निरन्तर रुपमा चलिरह्यो। त्यसपछि कुशल भुर्तेल (४ रन), कप्तान रोहित पौडेल (१२ रन), गुलशन झा (६ रन), आरिफ शेख (१५ रन), विवेक यादव (१ रन), लोकेश बम (६ रन), करण केसी (३ रन) र प्रतिश जिसी विना रन आउट भए।

राष्ट्रिय टोली ‘ए’ को कप्तानी गर्ने मौका पाएका सन्दीप जोराले सर्वाधिक १७ रन जोडे।

बलिङ

नेपालले शुरुआतमा कसिकसाउ बलिङ गर्यो।

ओपनिङ बलिङको मौका पाएका यु-१९ टोलीका तीब्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।

करण केसीले सेसे बाउलाई ‘गोल्डेन डक आउट’ गरे भने आकाश चन्दले कप्तान असद भाला (२ रन) र लेगा साइका (२ रन) को विकेट लिएर पीएनजीलाई शुरुमै समस्यामा पारेको थियो।

ओपनर टोनी उराले एउटा इन्ड सम्हाल्दै ६१ बनाएको ६१ रन तथा अन्त्य तिर आएका अले नाउले १० बलमा ३ शानदार छक्का प्रहार गर्दै ३० रन जोडेपछि पीएनजीले प्रतिस्पर्धात्मक लक्ष्य तयार गरेको थियो।

आकाशसंगै कुशल भुर्तेलले पनि ३ विकेट लिए भने गुलशन झाले एक विकेट लिएका थिए।

 

 

प्रकाशित मिति: March 13, 2024

कमेन्ट गर्नुहोस्

advertisment