रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि

रविलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
0Shares

काठमाडौं, फागुन २४ गते

डिफेन्डिङ च्याम्पियन एमेच्योर सदभाव आचार्यलाई सात स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै पुर्व नम्बर एक गल्फर रवि खड्काले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन।

उनले सात वर्षपछि करियरको पहिलो उपाधि जितेका हुन। सन २०१७ को अप्रिलमा सूर्य नेपाल एनपीजीए म्याच प्ले जितेपछि यो उनको पहिलो उपाधि हो। उनको यो सूर्य नेपाल टुरको १२औं उपाधि हो। उपाधि सहित उनले नगद एक लाख प्राप्त गरे।

लगातार दुई दिनका लिडर सदभाव आचार्यले अन्तिम दिन आज ६-ओभर ७४ को खराब प्रदर्शन गर्दा उपाधि रक्षा गर्ने मौका गुमाए। समग्रमा १-अन्डर २ सय ७१ को स्कोरमा उनले चित्त बुझाए। उनले एमेच्योरतर्फ उपाधि जिते। एमेच्योर तर्फ समग्रमा ७-ओभर २ सय ७९ को स्कोर मा टासी छिरिङ दोस्रो भए। उनले आज ३-ओभर ७१ मा खेल सकाए।

समग्रमा १-ओभर २ सय ७३ सहित प्रोतर्फ दिनेश प्रजापति, दीपक मगर र धन बहादुर थापाले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। दिनेशले आज ४-अन्डर ६४ को उत्कृष्ट स्कोर बनाउँदा दीपकले १-ओभर ६९ र धनले ३-ओभर ७१ को स्कोर खडा गरे। उनीहरूले समान ५१ हजार ६ सय ६५ रूपैयाँ नगद पुरस्कार प्राप्त गरे।

पहिलो दिनका लिडर रामे मगरले आज इभन-पार ६८ खेलेर समग्रमा ४-ओभर २ सय ७६ सहित पाँचौं स्थानमा खेल सकाउँदै ३६ हजार नगद पुरस्कार हात पारे। समग्रमा ५-ओभर २ सय ७७ को नतिजामा भुवन नगरकोटी, सञ्जय लामा, भुवन कुमार रोक्का र जयराम श्रेष्ठले संयुक्तरुपमा छैटौं स्थान बाँडे। दाबेदार भुवनले आज ८-ओभर ७६ को बिर्सनलायक प्रदर्शन गर्दा तेस्रो स्थानबाट तल झर्दै छैटौं स्थानमा खेल सकाउन बाध्य भए।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल‌ प्रालिका मार्केटिङ उपाध्यक्ष दीप्रा लहरी, पिजीए नेपालका सल्लाहकार घनश्याम थापा, आरएनजीसीका अध्यक्ष मधुकर याकथुम्बा, क्याप्टेन मिथुन राई र कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे।

प्रकाशित मिति: March 7, 2024

कमेन्ट गर्नुहोस्

advertisment