ब्याटिङ धमाका गर्दे नेदरल्यान्ड्स च्याम्पियन

ब्याटिङ धमाका गर्दे नेदरल्यान्ड्स च्याम्पियन
0Shares

काठमाडौं, फागुन २२ गते

नेदरल्यान्ड्सका ब्याटरहरुले धमाकेदार ब्याटिङ गरेपछि नेपाल त्रिकोणात्मक श्रृंखलाको फाइनलमा ४ विकेटले पराजित भएको छ।

टस जितेर ब्याटिङ लिएको नेपालले ८ विकेटको क्षतिमा १८४ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गरेको थियो।

जवाफमा ३ बल अगाडि नेदरल्यान्ड्सले ६ खेलाडी गुमाउँदै लक्ष्य पूरा गर्यो।

खेलको रोमाञ्च त्यतिखेर उत्कर्षमा पुग्यो, जब १६ बलमा जितको लागि नेदरल्यान्ड्सलाई ३२ रन चाहिएको थियो।

बलिङ आएका थिए डेथ ओभर विशेषज्ञ अभिनाश बोहोरा। इङगेलब्रेचले उनैलाई शिकार बनाए। पहिलो दुई बल चौका र त्यसपछिको दुई बलमा २ छक्का ठोकेपछि खेल नेपालको हात बाट टाढिएको जस्तो देखियो।

उफ् १९ औं ओभर

बाँकी २ ओभरमा अब जितको लागि १९ रन चाहिएको थियो। तर खेलको रोमाञ्च भने अझै बाँकि नै थियो। १९ औं ओभरको पहिलो बलमा कुशल मल्लले इङगेलब्रेच लाई आउट गरे। उनी ४८ रन बनाएर जमिरहेका थिए।

तर दोस्रो बलमा छक्का खायो। तेस्रो बलमा १ रन बन्यो। चौथो बलमा विकेट आयो। उनले निदानमानुरुलाई आउट गरे। पाँचौं बलमा १ रन तर छैटौं बलमा चौका खाए। यो ओभरमा कुशलले २ विकेट लिए तर १२ रन दिए।

अन्तिम ओभर

नेदरल्यान्ड्सलाई जितको लागि ६ बलमा ७ रन चाहिएको थियो भने नेपालले त्यो रोक्नु थियो।

बलिङको जिम्मा अनुभवी करण केसीलाई दिइयो। उनले पहिलो बलमा १ रनमात्र दिए। तर दोस्रो बलमा चौका र तेस्रो बलमा छक्का खाए पछि खेल समाप्त भयो।

आक्रामक नेदरल्यान्ड्स

ओपनर माइकल लेभिट र तथा म्याक्स ओडिडले पहिलो विकेटका लागि ८३ रनको आक्रामक पारी खेलेसंगै खेल नेपालको हातबाट बाहिर गएको आभाष भएको थियो।

लेभिटले ५४ रनको आक्रामक पारी तथा ओडिडले २२ रन जोडे।

स्पिनर कुशल मल्लले नवौं ओभरमा यी दुबैलाई आउट गरेपछि मैदानमा एकैछिन रोमाञ्च फैलिएको थियो। तर दर्शकको खुशी त्यतिमै सीमित भयो।

त्यसपछि आएका विक्रमजित सिंह र साइब्रान्ड इङगेलब्रेचले पुन: धमाकेदार ब्याटिङ गर्दै टोलीलाई जित तिर दोहोर्याएका थिए।

ब्याटिङ शैली

कुशल मल्लले कुल ४ विकेट लिए।

नेपाली खेलाडीहरुको ब्याटिङ शैली ठिकठाक देखिएको थियो। शुरुआती खेलाडीहरुले स्कोरबोर्डमा गतिलो रन वढाएका थिए। तर खेलको अन्तिम तिर डेढ ओभरमा खेलाडीहरुले सोचे जस्तो रन बनाउन सकेन। जसले गर्दा अनुमान गरिए जस्तै नेपालको रन २०० पुग्न सकेन।

नेपालबाट सवैभन्दा वढी ओपनर आसिफ शेखले ४७ रन बनाएका  थिए। १४ औं ओभरमा माइकल लेभिटको बलमा एलबिडब्लू हुनु अगाडि उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए।

अर्का ओपनर कुशल भुर्तेलले २० जोडेर आउट भएका थिए। यी दुई विच पहिलो विकेटमा २३ रनको साझेदारी बन्दा चौथो ओभरमा कुशल भान डेर गुगटेनबाट बोल्ड हुन पुगेका थिए।

लगातार दुई पटक स्कुप शट् खेल्दा उनी बोल्ड भएका हुन्।

आशिफले भने तेस्रो ओभरमा २ रनमात्र बनाएर खेलिरहंदा जीवनदान पाएका थिए।

तेस्रो नम्वरमा आएका कप्तान रोहित पौडेलले १९ बलमा २५ रन बनाएर पवेलियन फर्किए। लगत्तै स्कोरबोर्डमा ३ रन थपेर दीपेन्द्रसिंह ऐरी पनि आउट भए।

१ रनमात्र जोड्न सकेका दीपेन्द्र एलबिडब्लूको धरापमा फसेका थिए। १५ ओभरको खेल चलिरहेको यतिबेला नेपाल १२८-४ को स्थितिमा थियो।

विकेट प्रशस्त भएकोले नेपाली खेलाडीहरुले तीब्र गतिमा रन थप्ने अनुमान गरिएको थियो।

यसै बेला बायाँहाते आक्रामक ब्याटर कुशल मल्लले १७ औं ओभरमा लगातार ३ छक्का ठोकेर कीर्तिपुर मैदानमा उपस्थित दर्शकहरुमा खुशी थपिदिएका थिए। तर त्यसपछि भने टोलीले रन वटुल्न सकेन।

११ बलमा २६ रन कुशल १८ औं ओभरको पहिलो बलमा आउट भए। सोही ओभरको अन्तिम बलमा करण केसी (९ रन) पनि आउट भए।

त्यतिमात्र होइन, १९ औं ओभरको पहिलो र दोस्रो बलमा पनि नेपालको विकेट खस्यो। पहिलो बलमा गुल्सन झा ३४ रन बनाएर आउट भए भने दोस्रो बलमा आरिफ शेख शून्यमा आउट भएक थिए। दुबैजना बाउन्ड्रि लाइनमा समातिएका थिए।

नेपालले तीन बलमा तीन विकेट गुमाएको थियो भने दुई ओभरको विचमा महत्वपूर्ण चार खेलाडी गुमाउन पुगेका थिए।

अन्तिम ओभरमा प्रतिश जिसी र सोमपाल कामीले ६-६ रनमात्र बनाउन सके।

डेढ ओभरमा नेदरल्यान्ड्सका खेलाडीहरुले स्तरिय बलिङ गरे। टोलीबाट फ्रेड क्लासेन, भान डेर गुग्टेन, मिचेल लेभिट र साइब्रान्ड इङगेलब्रेचले समान २-२ विकेट लिएका थिए।

 

प्रकाशित मिति: March 5, 2024

कमेन्ट गर्नुहोस्

advertisment