नेपालको सम्भावना कायमै

नेपालको सम्भावना कायमै
0Shares

काठमाडौं, फागुन १८ गते

नामिवियालाई एक रोमाञ्चक खेलमा पराजित गरेसंगै नेपालले त्रिकोणात्मक टी २० श्रृंखलाको फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ।

यसअघिको दुई खेलमा लगातार पराजित भएपछि नेपालको लिगको अन्तिम खेल खेल्नु अगावै प्रतियोगिताबाट बाहिरिने खतरा वढेको थियो।

तर शुक्रवार नेपालले नामिविया विरुद्ध एक संघर्षपूर्ण खेलमा ३ रनले पराजित गरेर श्रृंखलामा फर्केको छ।

टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले निर्धारित ओभरमा ८ खेलाडी गुमाउँदै १८० रन बनाएको थियो।

जवाफमा जितको नजिक नजिक पुगेको नामिविया १७७ रनमा रोकिन पुग्यो।

अत्यन्त रोमाञ्च

खेल १५ औं ओभरमा पुग्दा खेल नामिवियाको पक्षमा गएको देखिएको थियो।

सो ओभरमा करण केसीलाई २३ रन बनाएर नामिविया लक्ष्यतिर अघि वढेको थियो।

तर अर्को ओभरमा दीपेन्द्र सिंह ऐरीले २ विकेट झारेपछि खेल नेपालतिर फर्कियो।

उनले ५० रन बनाएर खेलिरहेका कप्तान जेजे स्मिथ र जोन निकोल इटोनलाई आउट गरेका थिए।

अर्को ओभरमा अविनाश बोहोराले जान फ्राइलिन्कलाई बोल्ड गरेका थिए।

तर १८ औं ओभरमा दीपेन्द्रले १८ रन खायो भने १९ औं ओभरमा अविनाशले ११ रन खाएपछि

अन्तिम ओभरमा नामिवियाले ६ बलमा १२ रन बनाउनुपर्ने स्थिति बन्यो।

यस्तोमा बलिङ गर्न आएका करण केसीले ८ रन मात्र दिएपछि खेल नाटकिय रुपमा नेपालको पक्षमा गयो।

नेपाललाई जित दिलाउन सोमपाल कामीले २ महत्वपूर्ण शुरुआती विकेट लिएका थिए।

यसअघि कुशल मल्लको अर्धशतकको मदतले नेपालले पूरा ओभर खेलेर ८ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

खेल ८ ओभरमा पुग्दा ४ विकेट गुमाउँदै जम्मा ६४ रन बनाएर समस्यामा परेको बेला बायाँ हाते आक्रामक ब्याटर कुशलले आरिफ शेख संग मिलेर नेपाललाई सम्मानजनक स्कोरतर्फ दोर्याएका थिए। यी दुईले पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरे।

अन्तिम समयसम्म क्रिजमा टिकेर अविजित रहेका कुशलले ३६ बलमा १ चौका र ४ ठूला छक्काको मदतले ५४ रन बनाएका थिए।

१७ ओभरसम्म मैदानमा रहेका आरिफले ३१ रन जोडे। २४ बल खेलेका उनले ४ चौका ठोकेका थिए। मध्यक्रममा ब्याटरहरुले सुधारिएको खेल पस्केको देखियो।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालको शूरुआत राम्रो हुन सकेको थिएन।

प्रारम्भिक ब्याटर आसिफ शेख दोस्रो ओभरमै आउट भएका थिए। दोस्रो बलको सामना गर्दा उनी बेन शिकोंगोको बलमा बोल्ड हुनपुगे।

त्यसपछि प्रशिक्षक मोन्टी देशाईले तेस्रो नम्वरमा कप्तान रोहित पौडेललाई पठाए। तर उनी लामो समय टिक्न सकेनन्। ९ बल खेलेर १० रन बनाउँदै उनले चौथो ओभरमा मैदान छोडे। ४.४ ओभरमा रोहित ब्रसेललको बलमा क्याच आउट हुन पुगे।

अर्का ओपनर अनिल शाहले भने एउटा इन्ड सम्हाल्दै आक्रामक स्वभावको ब्याटिङ गरिरहेका थिए।

३ विशाल छक्का प्रहार गरेपछि आठौं ओभरमा उनी कट बिहाइन्ड भए । उनले १७ बलमा २३ रन बनाए। लगत्तै गुलशन झा पनि २६ रन बनाएर आउट भएपछि नेपाल समस्यामा परेको थियो।

१६ बलमा १ चौका र ३ छक्का हानेका गुलशन बर्नार्ड स्कोल्जको बलमा एलबीडब्लुको शिकार हुन पुगेका  थिए।

त्यसपछि कुशल र आरिफले नेपाली इनिङ सम्हालेका हुन्।

आरिफ आउट भएपछि दीपेन्द्र सिंहले कुशललाई साथ दिएका थिए। तर दीपेन्द्र पनि धेरैबेर टिक्न सकेनन्। ८ बल खेलेपछि १६ रन बनाएको बेला उनी शिकोंगोको एलबीडब्लु धरापमा परेका थिए।

उनलाई एलबीडब्लुको निर्णय दिन अम्पायर विनय झालाई गाहो भएन। करण केसी (७ रन) पनि एउटा छक्का हानेर फर्किए।

नामिवियाका बलरहरुले खेलको अन्त्यतिर नेपाली ब्याटरहरुलाई रोक्न सफल भएको थियो।

नेपालले आज टोलीमा ३ खेलाडी परिवर्तन गरेको थियो।

ओपनर कुशल भुर्तेल, स्पिनर ललित नारायण राजवंशी र सन्दीप जोरालाई वेञ्चमा राख्दै अनिल शाह, अविनाश बोहोरा र प्रतिश जिसीलाई टिममा राखिएको थियो।

जसमा प्रतिश जिसीको बलिङ टोलीलाई महंगो सावित हुन पुग्यो।

 

 

 

प्रकाशित मिति: March 1, 2024

कमेन्ट गर्नुहोस्

advertisment