दाङ, फागुन १६ गते
दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्।
घोराही क्रिकेट स्टेडियममा सम्पन्न खेलहरुमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुकरी वारियर्सलाई पराजित गर्यो।
आजको पहिलो खेलमा तुलसीपुर रोयल्सले दोश्रो जित दर्ता गर्ने क्रममा पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो। तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो।
बलिंगतर्फ तुलसीपुर रोयल्सका फास्ट बलर रुपेश सिंहले ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए। भुवन कार्की, दिवान पुन र बिनोद कुमार बिकले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षेतीमा १०८ रन बनायो। तुलसीपुरको लागि प्लेयर अफ द म्याच समेत घोषित दिवान पुनले सर्वाधिक ३७ रन योगदान दिए जुन क्रममा ४४ बलमा ४ चौका प्रहार गरे। बिराट सिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिंगतर्फ पुरनधाराको लागि सुजल ओलीले २ विकेट लिए भने कृष्ण कार्की, हरिश केसी, मोहन खत्री र दिपेन्द्र रावतले १/१ विकेट लिए।
दोश्रो खेलमा घोराही टाइगर्सले देउखुरी वारियर्सलाई ५ विकेटले पराजित गर्यो। देउखुरीले दिएको १०३ रनको लक्ष्य घोराहीले १८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो। लक्ष्य पछ्याउने क्रममा घोराहीको लागि प्लेयर अफ द म्याच घोषित दिपेश कँडेलले सर्वाधिक २६ रन बनाए।
यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका कँडेलले २१ बलमा ३ चौका प्रहार गरे। यस्तै अर्जुन घर्तिले २५, मनोज पुनले १२ तथा दिलिप नाथले १० रन बनाए। देउखुरीको बलिंगमा आशिश ओलीले २ तथा नारायण जोशी, विशाल विक्रम केसी र सुभम खनालले १/१ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको देउखुरी वारियर्सले २० ओभरमा ९ विकेट गुमाएर १०२ रन बनायो। देउखुरीको लागि प्रज्वल बहादुर थापाले सर्वाधिक २३ रन बनाए। यस्तै आशिष ओलीले १७, सुभम खनालले १३, आवाज गौतमले १२ तथा दिपक बोहराले ११ रन बनाए।
बलिंगतर्फ घोराही टाइगर्सका रबिन थापा र मिलन बुढाथोकीले २/२ विकेट लिए। यस्तै दिपेश कंडेल, युनिश विक्रम सिंह र अर्जुन घर्तिले १/१ विकेट लिए। आजको जित पछि तुलसीपुर रोयल्स दुवै खेलमा जितको साथ ४ अंक सहित लिग अंक तालिकाको शिर्ष स्थानमा छ।
प्रकाशित मिति: February 28, 2024