फाइनल नखेली फ्रान्स फर्किंदै सावित्रा

फाइनल नखेली फ्रान्स फर्किंदै सावित्रा
0Shares

काठमाडौं, फागुन १६ गते

फरवार्ड सावित्रा भण्डारीले साउदी अरबा जारी पश्चिम एशियाली फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को फाइनल नखेल्ने भएकी छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्धको फाइनल नखेल्ने जानकारी दिएको हो।

सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एना भान गेङगाङ्पमा अनुबन्ध छिन्। उनको टोली रेलिगेशन क्षेत्रमा रहेको छ।

१५ खेलमा ३ जित, ३ बराबरी र ९ हारसहित १२ अंक जोडेको टोली तालिकाको १०औँ स्थानमा रहेको छ। टोलीले मार्च २ मा लिलसँग खेल्दै छ।

जोर्डन र नेपालको फाइनल खेल भने बिहीबार हुँदै छ।

एन्फाका अनुसार क्लबले सावित्रालाई फिफा विन्डोका खेलका लागि फुकुवा गरेको थियो। प्रतियोगिताको समूह चरण र सेमिफाइनलका खेलहरू फिफा विन्डोभित्र पर्ने गर्छ। तर, फाइनल भने विन्डोभित्र पर्ने गर्दैन।

त्यसैले सम्झौता अनुसार क्लब फुटबलका लागि सावित्रा फाइनल नखेलेर फ्रान्स फर्किन लागेको एन्फाले विज्ञप्तिमा जनाएको छ।

“सावित्रालाई फिफा विन्डोमा आयोजित प्रतियोगिताहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न क्लब सम्झौताले अनुमति दिन्छ। वाफको समूह चरण र सेमिफाइनल खेलहरू (फेब्रुअरी १९-२८) फिफा विन्डो भित्र पर्छन्। फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डोभित्र पर्दैन,” एन्फाले भनेको छ।

नेपालले सेमिफाइनलमा लेवनानलाई २-१ गोल अन्तरले हराउँदै जोर्डनसँगको फाइनल भेट पक्का गरेको छ। सावित्रा प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत हुन्। उनले जारी प्रतियोगितामा ९ गोल गरेकी छन्।

प्रकाशित मिति: February 28, 2024

कमेन्ट गर्नुहोस्

advertisment