नामिवियासंग लगातार तेस्रो हार

नामिवियासंग लगातार तेस्रो हार
0Shares

काठमाडौं, फागुन १५ गते

लाग्छ, नामिवियालाई कीर्तिपुर मैदानमै नेपाल विरुद्ध जित्ने बानी परिसकेको छ।

मंगलवारबाट शुरु भएको त्रिकोणात्मक टी-२० श्रृंखलामा त नामिवियाले नेपाललाई पराजित मात्र गरेन, जान निकोल लोफ्ट इटनले नेपाली बलरहरुको धुलाई गर्दै कीर्तिमानी शतक समेत प्रहार गरे।

इटनले नेपाली बलर विरुद्ध नेपाली भूमीमा ३३ बलमा शतक ठोकेर टी -२० अन्तर्राष्ट्रियमा छरितो शतक बनाउने खेलाडी बने।

विशेषगरी आज बलिङ क्षेत्रमा नामिविया अगाडि नेपाल निरिह देखियो।

यसअघि विश्वकप लिग २ को दुबै खेलमा पनि नेपाल नामिवियासंग पराजित हुन पुगेको थियो।

टस जितेर ब्याटिङ रोजेको नामिवियाले २० ओभरमा ४ खेलाडी गुमाउँदै २०६ रनको चुनौतीपूर्ण स्कोर बनायो। त्यसपछि बलिङमा प्रभाव देखाउँदै नेपाललाई १८६ रनमा रोक्यो।

र, २० रनको जित हात पार्यो।

नेपालका दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले आक्रामक जवाफ दिंदै एक समय नेपाललाई जिततिर अग्रसर गराइसकेका थिए। तर दीपेन्द्र र लगातार अर्को बलमा अविनाश बोहोरा आउट भएपछि नेपालको सम्भावना समाप्त हुन पुग्यो।

इटनको कीर्तिमानी शतक

बायाँहाते आक्रामक ब्याटर इटनले शतक बनाउने क्रममा कीर्तिपुर मैदानको चारैतिर बाउन्ड्रीको वर्षा गर्दै उनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए।

शतक बनाउने क्रममा उनले नेपाली खेलाडी कुशल मल्लकै कीर्तिमान तोडेका हुन्।

गत सेप्टेम्बर २७ तारिखमा चीनको हान्झाउमा भएको १९ औं एसियाली खेलकुदमा कुशलले मंगोलिया विरुद्ध ३४ बलमा शतक प्रहार गरेका थिए।

त्यसको ५ महिना पछि आज फेब्रुअरी २७ तारिखमकै दिन इटनले नयाँ कीर्तिमान बनाएका हुन्।

कीर्तिमानी शतक बनाएको अर्को २ बल खेलेपछि इटन अविनाश बोहोराको बलमा गुलशन झा बाट समातिन पुगेका थिए। कुल १०१ रन बनाएका उनी १९.२ ओभरमा आउट भएका थिए।

नामिवियाका खेलाडीहरु शुरुआत देखिनै आक्रामक ब्याटिङ रणनीति लिएको देखिएको थियो।

ओपनर मलान क्रुगरले अविजित रुपमा मैदानमा टिकेर ५९ रनको अर्धशतकिय पारी खेले। यी दुई मिलेर ५४ बलमा १३५ रनको साझेदारी गरेका थिए।

प्रशस्त विकेट बचेपछि नामिविया खेलको अन्त्यतिर थप आक्रामक बनेका थियो। जुन क्रममा टोलीले पछिल्लो ९ ओभरमा १४४ रन थपेको थियो।

नेपालबाट कप्तान रोहित पौडेलले २ तथा अविनाश र करण केसीले १/१ विकेट लिएका थिए।

पछ्याएको नेपाल

जवाफी ब्याटिङमा आएको नेपालको शूरुआत कुशल भुर्तेलको ‘गोल्डन डक आउट’ बाट भयो।

यद्यपी नेपाली ब्याटरहरुले रनरेट कायम गर्दै ब्याटिङ गरेको थियो। तर विकेट झर्ने क्रम भने रोकिएन।

६ बल खेलेका आशिफ शेख ६ रनमा आउट भए।

कप्तान रोहित आठौं ओभरमा ४२ रन बनाएर पवेलियन फर्किए। उनले २४ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेका थिए।

कुशल मल्लले ३२ रन बनाए। २१ बल खेलेका उनले आफ्नो आक्रामक छवी देखाउँदै ४ चौका र एक छक्का ठोकेका थिए।

आफ्नो फेवरेट छक्का हान्ने धुनमा उनी बाउन्ड्री लाइनमा समातिन पुगेका थिए।

दीपेन्द्र र सोमपालले जगाएको आशा

त्यसपछि दीपेन्द्र सिंह ऐरी सोमपालको ब्याटिङमा नेपाल एकाएक जित तिर अग्रसर भएको थियो।

यी दुईको ब्याटिङमा नेपाल १८ औं ओभरमा १७० रन पुगेको थियो।

अब जितको लागि १८ बलमा ३७ रन चाहिएको थियो। त्यहि बेला सोमपाल १८ औं ओभरको पहिलो बलमा आउट भए। उनले ११ बलमा ३ छक्काको मदतले २६ रन जोडेका थिए।

धैर्यपूर्ण ब्याटिङ गरेका दीपेन्द्रले त्यसे ओभरमा २ छक्का हानेर खेल वढाए। अब १२ बलमा २४ रन आवश्यक थियो।

तर १९ औं ओभरको चौथो बलमा दीपेन्द्र आउट भए भने त्यसको अर्को बलमा अविनाश बोहोरा पनि आउट भएपछि नेपालको सम्भावना समाप्त भयो।

२ चौका र २ छक्का हानेका दीपेन्द्रले ४८ रन बनाएका थिए। नामिवियाका रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए।

नेपालले अब भोली बुधवार नेदरल्यान्ड्ससंग खेल्नेछ।

मंगलबारबाट शुरु भएको तीन राष्ट्र (नेपाल, नेदरल्यान्ड्स, नामिविया) सम्मिलित त्रिकोणात्मक श्रृंखलामा हरेक टोलीले २/२ खेल खेल्नेछ भने शीर्ष २ टोलीविच फाइनल हुनेछ।

आगामी जुनमा हुने टी-२० विश्वकपमा छानिएका तीनवटै टोलीले त्यसको तयारी स्वरुप यो श्रृंखला खेलेको हो।

 

 

 

 

 

 

 

प्रकाशित मिति: February 27, 2024

कमेन्ट गर्नुहोस्

advertisment